धरान : लागुऔषध दुर्व्यसन देखी बेचबिखन सम्म सामाजिक अपराध भएको जनचेतना जगाउन धरानमा वर्षभरी धेरै कार्यक्रम भए । स्थानिय सरकार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले लागुऔषध विरुद्ध अभियान नै चलाएका छन् ।

धरानमा ती औपचारिक कार्यक्रमहरूले के उपलब्धि दिए ? भन्ने प्रश्नमा घोत्लिँदा २०७८ यता धरानमा भएको लागुऔषध सम्बन्धी अपराधको ग्राफले स्थानिय सरकारको अभियान केवल ‘स्टन्ट’ जस्तो मात्र देखिएको छ ।

धरानमा प्रहरीले आर्थिक वर्ष २०७८/०७९ देखि हाल सम्म १५० जनाभन्दा बढीलाई लागुऔषध मुद्दामा पक्राउ गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ५५ वटा मुद्दा दर्ता भएकोमा ८३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले बताएका छन् ।

उनका अनुसार उक्त अवधिमा ६६ ग्राम १०० मिलिग्राम ब्राउन सुगर, ११ किलो १५० ग्राम गाँजा, ४२४ चक्की नाइट्रोजन, १०५४ क्याप्सुल स्पास्मो प्रोक्सिभन, ८० एम्पिल एभिल, ९५ एम्पिल लुपिजैसिक, ९४ एम्पिल डाइजेल्याब, १८ बोतल डाइलेक्स डी.सी., ३७ एम्पिल फेनारगनसँगै विभिन्न प्रतिबन्धित औषधी सहित ४१ हजार ,२४७ परिमाणको लागुऔषध बरामद भएको थियो।

आर्थिक वर्ष २०७९/०८० मा ५९ वटा मुद्दा दर्ता भएकोमा ७८ जना पक्राउ परेका थिए । जसमा २४ ग्राम १५५ मिलिग्राम ब्राउन सुगर, ४९१ किलो ६०० ग्राम गाँजा, ४२९ चक्की नाइट्रोजन, १०५४ क्याप्सुल स्पास्मो प्रोक्सिभन, १६९ एम्पिल एभिल, १०५ एम्पिल लुपिजैसिक, १५१ एम्पिल डाइजेल्याब, ६५ बोतल डाइलेक्स डिसी, ८३ एम्पिल फेनारगनसँगै विभिन्न प्रतिबन्धित औषधी सहित ५६ हजार २६२ परिमाणको लागुऔषध बरामद भएको डिएसपी मल्लले बताए ।

‘लागुऔषधका अपराधमा संलग्नहरू हेर्दा बढी युवाहरू देखिन्छन् ।’ पाँच र सात वर्षअघि युवकहरू मात्रै फसेको देखिन्थ्यो, अहिले त युवती र बालबालिकाका पनि लागुऔषधमा संलग्न भएको देखिएको डिएसपी मल्लले बताए ।

लागुऔषधको 'अखडा' धरान

धरानमा विशेष गरी विराटनगर र काँकडभिट्टाबाट लागुऔषध ओसारपसार हुने गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोको तथ्याङ्क अनुसार भारतीय सीमा जोडिएकाले ठुलो मात्रामा लागुऔषध कोशी प्रदेशका विभिन्न जिल्लामा कारोबार हुने गरेको पाइएको हो ।

ब्युरोका प्रवक्ता तथा एसपी चक्रराज जोशीले भने ‘लागुऔषध ओसारपसार हुने भनेकै सीमा नाकाहरूबाट हो, त्यसका लागि सुरक्षाकर्मी मार्फत सीमा नाकाहरूमा कडाइ गरिएको छ । विशेष सूचना संयन्त्र बनाएर अघि बढेका छौँ ।’

उनका अनुसार कोशी प्रदेशमा धरान लागुऔषध कारोबारको ‘ट्रान्जिट पोइन्ट’ बनेको छ । गत २८ जेठमा लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) काठमाण्डौंको टोलीले धरान सब्जी मण्डीमा तरकारी पसल चलाउँदै आएका भारतीय नागरिक विकास भगतलाई गोली प्रहार गरेर काठमाडौँमा १०० ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।

भगतसँग सम्बन्ध देखिएपछि असार ६ गते धरानको सब्जी मण्डीबाट फलफूलको पसल चलाउँदै आएका अर्का भारतीय नागरिक राम भजनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । एसपी जोशीले भने, ‘पछिल्ला घटना विवरण अनुसार सीमा नाकाहरूबाट विभिन्न राजमार्ग हुँदै लागुऔषध तस्करी भई लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ धरान बनाएको देखिन्छ ।’

पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी धरान र आसपासका जिल्ला तथा काठमाण्डौंमा बिक्री गर्दै आएको बताएकाले धरान ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग भएको हो ।

दुर्व्यसनीको न्यूनीकरणमा सामूहिक प्रयासको खाँचो

इलाका प्रहरी कार्यालय धरानका डिएसपी मल्लले भने,'लागुऔषध दुर्व्यसनीको न्यूनीकरणमा सामूहिक प्रयासको खाँचो छ । कसैको एक्लो प्रयासले न्यूनीकरण सम्भव छैन ।

उनका अनुसार 'दुर्व्यसनीमा फसेकाहरू आँफै पीडित हुन । लागुऔषधको लतबाट मुक्त हुन पीडित आँफैले प्रयास गर्नु पर्छ ।'

मल्लले भने, 'प्रहरीले मात्रै नियन्त्रण गरेर लागुऔषध न्यूनीकरण गर्न कठिन हुनसक्छ । लागुऔषधको लतबाट बचाउन स्वयं अभिभावक जिम्मेवार भएर लाग्नुपर्छ । लागुऔषध नियन्त्रणका लागि परिवार, समाज र स्थानीय सरकार सबैभन्दा बढी जिम्मेवार हुन्छन् ।' त्यसपछि ऐन कानुन प्रशासन जिम्मेवार हुन्छ ।

सचेतना प्रभावकारी भएन

शिक्षा, चेतना र बेरोजगारी लागुऔषध दुर्व्यसनी बढ्नुको कारण मध्य एक हुन् । स्थानिय सरकारले सञ्चालन गरेको सचेतनाका कार्यक्रम प्रभावकारी नभएको कारण धरानमा लागुऔषध दुर्व्यसनी बढेको विद्यार्थी नेता सागर सरगम चेम्जोङले बताए ।

उनले भने ‘स्थानीय सरकारले ‘से नो टु ड्रग्स’को ब्यानर बोकेर एक घण्टा कार्यक्रम गर्नुभन्दा लागुऔषध नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ ।’ स्थानीय पाठ्यक्रममा लागुऔषध सम्बन्धी शैक्षिक सामग्री समावेश गर्ने, युवालाई रोजगारीमा जोड्ने, लागुऔषध नियन्त्रणका लागि जनतासँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने र लागुऔषध जोखिमयुक्त क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरे लागुऔषध नियन्त्रण प्रभावकारी हुन सक्ने चेम्जोङको भनाई छ ।

नेपाली काँग्रेस युवा नेतृ मनिता घिमिरेले भनिन् ‘सबैभन्दा पहिले त जनचेतना नै हो, त्यसका लागि लागुऔषधमा फस्ने उमेर समूहका युवायुवतीलाई सचेत गराउनु पर्छ, साथै फसिसकेकाहरूलाई प्रहरीले अप्रेसन नै चलाएर कानुनी कारबाही गर्‍यो भने केही हदसम्म कमी हुन सक्छ ।’

धरानमा जनचेतनाका कुरा बढेको हल्ला बढी गरिन्छ तर, प्रभाव र परिणाम देखिएको छैन । घिमिरेले भनिन ‘बढिरहेको लागुऔषध दुर्व्यसनीको न्यूनीकरणमा अहिलेदेखि नै नलागे भयावह स्थिति आउन सक्छ ।’

स्थानिय सरकार 'स्टन्ट' गरिरहेको छ

सविन राई, दीप श्रेष्ठ जस्ता कलाकार जन्माउने धरान सहर अहिले लागुऔषध कारोबारको ‘ट्रान्जिट पोइन्ट’ भएको सुन्दा दुःख लागेको गगन नेपाली बताउँछन् । १७ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा धरान बाहिर रहेका नेपाली लागि अहिले कतारमा छन् । उनी धरान-१२ चतरा लाइनका बासिन्दा हुन।

फेसनको राजधानी र लाहुरेहरूको सहर बनेर चर्चामा रहेको धरान अहिले स्थानिय सरकारको कमजोरीले गर्दा बदमान हुँदै गएको उनको भनाइ छ । उनले भने ‘स्थानीय सरकारले युवाका लागि अवसर सिर्जना गर्नुपर्छ । निःशुल्क स्वास्थ्य शिविर र सुधार केन्द्र स्थापना गर्न पहल गरिनुपर्छ ।’

कलाकार जन्माउने सहरमा नाटक घर निर्माण अधुरो छ, लागुऔषध कारोबारको केन्द्र बनेको सहरमा स्थानीय सरकारले ब्यानर र माइक बोकेर स्टन्ट गरिरहेको छ । प्रहरीसँग समन्वय गर्नुको सट्टा मेयरले सामाजिक सञ्जालमा डिएसपीको अपमान गरेको देख्दा निकै दुःख लागेको उनले बताए ।

लागुऔषध प्रयोगकर्ताले सबै भन्दा बढी साथीबाट लागुऔषध प्राप्त गर्ने गरेका छन् । यसमा अभिभावक सचेत हुन जरुरी छ । धरान मानव कल्याण समाजका अध्यक्ष अर्मान अली स्थानीय सरकारको जनचेतनामूलक कार्यक्रमले युवा पुस्तालाई सही र गलत छुट्टाउने बाटो देखाएको बताए ।

च्याम्पियन इङ्लिस बोर्डिङ स्कुलकी प्रिन्सीपल नाजु सुवेदीले लागुऔषध दुर्व्यसनी र नियन्त्रणसम्बन्धी विद्यालय तहदेखि नै सचेतना फैलाउन आवश्यक रहेको बताइन । उनले भनिन ‘अब सबै पक्षले हातेमालो नगरे धरानमा लागुऔषध दुर्व्यसनीदर भयावह हुन सक्छ, त्यसैले विद्यालय तहदेखि सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’

१५ वर्ष जेल देखी २५ लाखसम्म जरिवाना 

लागुऔषध नियन्त्रण ऐन, २०३३ मा उल्लेखित सजाय सम्बन्धी कानुन प्रावधान अनुसार गाँजा सेवन गर्नेलाई एक महिनासम्म कैद सजाय र २ हजार जरिवाना रहेको छ ।

यस्तै,२५ बोटसम्म गाँजाको खेती गर्नेलाई ३ महिना सम्म कैद सजाय र ३ हजार जरिवाना, २५ देखि माथि खेती गर्नेलाई ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँ सम्म जरिवाना लाग्ने कानुनी प्रावधान छ ।

निकै महँगो मानिने ब्राउन सुगर २५ ग्रामभन्दा कम भेटिएको अवस्थामा ५ देखि १० वर्षसम्म जेल सजाय हुन सक्छ । ब्राउन सुगरको हकमा सेवनकर्ता र कारोबारी छुट्टाउन कठिन हुने लागूऔषध नियन्त्रण ब्युरोका एसपी जोशी बताउँछन् ।

बरामद परिमाण, पक्राउ पर्दाको अवस्था, अभियुक्तको आर्थिक हैसियत लगायतलाई आधार बनाएर मुद्दा लैजाने गरिएको उनको भनाइ छ । एक सय ग्रामभन्दा बढी भेटिएको खण्डमा १५ वर्षदेखि जन्मकैद सम्मको सजायका साथै ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।