धरान : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टद्वारा कोशी प्रदेशको लागि धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालन गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ ।
अनुसन्धान केन्द्रका लागि नीति तथा कार्यक्रम निर्धारणका लागि प्रारम्भिक चरणको ‘कृषि तथा खाद्य प्रविधि योजना उन्मुख कार्यशाला’ आज आइतबार केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारमा आयोजना गरिएको हो ।
उपकुलपति प्राडा. दिलीप सुब्बाका अनुसार मुलुक सङ्घीय संरचनामा गएपछि नष्टले ७ वटै प्रदेशमा ‘विशिष्टिकृत अनुसन्धान केन्द्र’ स्थापना गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार गत: वर्ष ५ वटा प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरिएको उनले बताए ।
कर्णाली प्रदेश बाहेक छैटौँ केन्द्र स्थापनाका लागि कोशी प्रदेशमा गत वर्ष देखी पहल भएको हो । कार्यशाला उद्घाटन समारोहमा उपकुलपति सुब्बाले भने, ‘कोशी प्रदेशका लागि धरानमा केन्द्र स्थापना गर्न चासो देखाएर धरान उपमहानगरपालिकाले पूर्वाधार समेत उपलब्ध गराएको हो ।’
मुलुकको विकाशलाई विज्ञान र प्रविधिमा जोडेर अघि बढाउन स्थापना गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट सङ्घीय राजधानी काठमाडौँमा केन्द्रित थियो । पहिलो पटक यसलाई सङ्घीय संरचनामा विकेन्द्रित गर्न २०७८ सालमा प्रज्ञा सभाले स्वीकृति दिएको हो ।
७ प्रदेशका अनुसन्धान केन्द्रको अध्ययन अनुसन्धानको विषय भने फरकफरक तोकिएको छ । सम्भावना र वस्तुस्थितिका आधारमा तोकिएको विषयहरू मध्ये कोशी प्रदेशमा कृषि र खाद्य प्रविधि रहेको छ ।
उपकुलपति सुब्बाले भने, ‘कोशी केन्द्रमा विशेष गरी कृषि र खाद्य प्रविधिसँग जोडिएको उत्पादन पछिको वस्तु नष्ट हुने जोखिमबाट जोगाउन सुरक्षाका उपाय बारे अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्ने अवधारणा केन्द्रित हुनेछ ।’
कोशी अनुसन्धान केन्द्रको ल्याब मोरङ हात्तीमुढा स्थित मनमोहान पोलिटेक्नीकल इन्स्टिच्युट तोकिएको छ । खाद्य प्रविधिका लागि धरान स्थित केन्द्रीय प्रविधि क्याम्पस तोकिएको छ ।
प्रशासनिक कार्यालयको लागि धरान उपमहानगरपालिकाले छुट्टै भवन उपलब्ध गराएको उपकुलपति सुब्बाले बताए । उनका अनुसार अनुसन्धान केन्द्रले प्रदेश सरकार, प्रदेश स्थित स्थानिय सरकार तथा सम्बन्धित शैक्षिक एवं अनुसन्धानमुखी निकायसँग सहकार्य गरेर अध्ययन अनुसन्धानका कार्य अघि बढाउने छ ।
धरानमा आइतबार भएको कार्यशालामा दुई कार्यपत्र प्रस्तुत भए । नास्टका प्राज्ञ प्राडा. गोपालबहादुर केसीले नेपालको कृषि विकास सम्बन्धी रणनीति विषयक पहिलो कार्यपत्र प्रस्तुत गरे ।
दोस्रो कार्यपत्र केन्द्रीय प्रविधि क्याम्पस धरानका प्रा.वसन्तकुमार राईले नेपालको खाद्य प्रविधि शिक्षा विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा माथि सहभागीहरूले जिज्ञासा, सुझाव र प्रश्न गरेपछि प्रस्तोव्दले संक्षेपीकरण गरेका थिए ।
उपकुलपति सुब्बाले भने, ‘कार्यशालाका निष्कर्षमा पुग्ने पहिलो चरण मात्र हो ।’ उनका अनुसार कार्यपत्र र त्यसमा आएका सुझाव, प्रश्नहरूलाई अभिलेखीकरण गरिने छ । अभिलेखकृत दस्ताबेजलाई थप प्रशोधन गरेपछि मात्र विषय वस्तुमा केन्द्रित हुने उनले बताए ।


































































