धरान : नेपालबाट बिजुली खरिद गर्ने सम्झौता भएको मित्र राष्ट्र बङ्गलादेशमा सरकारी जागिरमा गरिएको आरक्षणको विरुद्ध सुरु भएको आन्दोलनमा २५ जना भन्दा धेरैको मृत्यु भएको छ । घाइते हुनेको सङ्ख्या सैयौं छन् ।

साता अघि देखी विद्यार्थीहरूले सुरु गरेको प्रदर्शनले आन्दोलनको रूप लिएको हो । बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्र हुन भएको आन्दोलनमा सहभागी 'मुक्ति योद्धा'का सन्तानका लागि सन् २०७१ देखी सरकारी जागिरको एक तिहाइ आरक्षण गरिएको छ ।

विद्यार्थीहरूले आरक्षणको व्यवस्था भेदभावपूर्ण भएको तथा योग्यताको आधारमा आरक्षणको नीति लागु गरिनु पर्ने माग गर्दै विरोध सुरु गरेका थिए । उक्त विरोधले वृहत् आन्दोलनको रूप लिएर बङ्गलादेश अहिले अशान्त छ । आगजनी भइरहेका छन्, प्रहरी हस्तक्षेत्रमा प्रदर्शनकारीको मृत्यु भएको हो ।

पछिल्लो पटक बुधवार आन्दोलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिना वाजेदले राष्ट्रको नाममा सम्बोधन गरेपछि झन् आन्दोलन चर्किएर हिंसात्मक रूप लिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री वाजेदले सम्बोधनमा विद्यार्थीहरूको मागको बारेमा बङ्गलादेशका सर्वोच्च न्यायालयको फैसलाले न्याय दिने विश्वास भएकोले न्यायालयको फैसला आइन्जेल सम्म धैर्य राख्न आव्हान गरेकी थिइन् ।

आरक्षण विरोधीहरूले भने प्रधानमन्त्रीको सम्बोधनबाट जुन आशा राखिएको थियो त्यो पाइएन त्यसैले आन्दोलन नरोकिने बताएका छन्।

कस्तो छ आरक्षणको व्यवस्था :

बङ्गलादेशमा सन् २०७२ देखी स्वतन्त्रता सङ्ग्रामका ‘मुक्ति योद्धा’, जिल्ला र महिलाहरूका लागि गरिएको आरक्षणको व्यवस्थाले निरन्तरता पाउँदै आएको छ । यो आरक्षण सरकारी सेवा, अर्धसरकारी संस्थान, स्थानिय निकाय तथा विभागहरूमा लागु छ ।

आरक्षणको आधारमा संस्थानहरूको प्रथम श्रेणिको जागिरमा २० प्रतिशत मेरिटको आधारमा बाँकी ८० प्रतिशत जिल्लाहरूका लागि छुट्याइएको छ । त्यसमा नै ‘मुक्ति योद्धा’का सन्तानका लागि ३० प्रतिशत, महिलाका लागि १० प्रतिशत छुटाइएको छ । 

बङ्गलादेश सरकारका एक पूर्व सचिव आबु आलम मोहम्मद शहीद खानका अनुसार असली ‘मुक्ति योद्धा’हरू धेरै किसान, मजदुर र बुनकरहरु थिए । उनीहरू समाजको पिछडिएको वर्गका भएकाले मुलुकको स्वतन्त्रतामा लडेका योद्धाहरूको सहयोग र आर्थिक विकाशको लागि आरक्षणको व्यवस्था गरिएको हो ।