धरान : नेवारी संस्कृतिमा अहिले पनि प्रचलनमा रहेको नेपाली मौलिक संस्कृति संस्थागत रूपमा सार्वजनिक आयोजना गर्न आर्थिक समस्याका कारण कठिन हुँदै गएको धरानमा यसका आयोजकहरूले बताएका छन् ।
नेपाली मौलिक संस्कृतिको पहिचान बचाउँदै नेपाललाई चिनाउने नेवार समुदायको लाखे जात्रा देखी सुरु हुने गाई जात्रा, हिले जात्रा, रोपाई जात्रा महत्त्वपूर्ण पर्वहरू हुन ।
त्यस मध्ये व्यङ्ग्यात्मक सार्वजनिक प्रदर्शनको रूपमा मनाइने हिले जात्रा, रोपाई जात्रा धेरै कलाकारहरूको सहभागितामा हुने भएकोले खर्चिलो भएको धरानमा यी दुवै जात्रा बर्सेनि आयोजना गर्दै आएको खड्गी समाजका अध्यक्ष मनिष खड्गीले बताए ।धरानलाई सांस्कृतिक पर्यटनको सहरको रूपमा चिनाउने परम्परालाई निरन्तरता दिन स्थानिय सरकार धरान उपमहानगरपालिकाले एक रुपैयाँ बजेट नछुट्याउनु चित्त नबुझ्ने कुरा भएको उनको भनाई छ ।
उनका अनुसार धरानमा एउटा जात्रा देखाउन मात्र ३ लाख रुपैयाँ सम्म लाग्ने गरेको छ । धरान उपमहानगरपालिकामा बजेट मागको प्रस्तावपत्र लिएर जाँदा नगर प्रमुख हर्क साम्पाङले हल्का रूपमा लिएको बताउँदै भने ‘उहाँले केवल पछि सोचौला मात्र भन्नु भो, अरू कुरै गर्न चाहनु भएन ।’
उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेटमा नगर प्रमुखको भिजनमा ५ करोड र कोषमा १ करोड ७० लाख रुपैयाँ राखेको औँल्याउँदै अध्यक्ष खड्गीले भने ‘सांस्कृतिक जात्राको लागि त्यसैबाट बजेट निकासा गराउनु भएको भए पनि त हुन्थ्यो ?’
सांस्कृतिक जात्रा पर्व धरानको सम्पत्तिको रुपमा रहेको र स्थानीय सरकारले प्रवर्द्धन गर्नु पर्नेमा ‘पछि सोचौँला’ भनी हल्का रूपमा लिएको बताउँदै भने ‘संस्कृतिको संरक्षण र संवर्द्धन नगर्ने बजेट धरान र धरानवासीको विकासको लागि कसरी हुन्छ ?’
धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा जात्राहरूको कुनै शीर्षकमा १ पैसा बजेट समेत नछुट्याएको अध्यक्ष खड्गीले बताए । उनले भने ‘अघिल्लो वर्ष पनि भिक्षा मागेर लिए जस्तै गरी २५ हजार मात्र दिएको थियो ।’
त्यसै बेला आउँदो वर्ष बजेट छुट्याउ आग्रह गरिए पनि बजेट नछुट्याएकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने ‘युवा पुस्ताको रोजीरोटी खोसेर जात्रा देखाउनु पर्ने अवस्था छ तर स्थानीय सरकारलाई मतलब छैन ।’
आर्थिक सङ्कटका कारण जात्रा आयोजना नगर्दा संस्कृति लोप हुने डर छ । व्यक्तिगत दाताहरूबाट सहयोग उठाएर संस्कृति संस्थागत नबन्ने स्थानिय सरकारले यसलाई संस्थागत बनाउन बर्सेनि बजेट र नीतिमा समेट्नु जरुरी भएको उनको भनाई छ ।
अध्यक्ष खड्गीले भने ‘काठमाण्डौं महानगरपालिकाले ‘जात्रा’ संरक्षण लागि हरेक वर्ष बजेट छुट्याएको हुन्छ तर धरानमा जहिले माग्ने जस्तै माग्दै हिँड्नु पर्ने अवस्था छ ।’
धरानमा आर्थिक समस्याका कारण केही वर्ष जात्राहरू देखाउन बन्द भए पनि धरान वडा नं. ३ वडा कार्यालयको आर्थिक, भौतिक, नैतिक सहयोगले गर्दा अघिल्लो वर्ष देखि जात्राहरू आयोजना गर्न थालिएको उनले बताए ।
उनले भने ‘वडा कार्यालयले ठुलो भरोसा दिएपछि अघिल्लो वर्ष देखि गाईजात्रा, हिले जात्रा, रोपाई जात्रा, बाघ जात्रा, घोडे जात्रा, मारुनी नृत्य आयोजना गर्न सकिएको हो ।’
उनले पछिल्लो समय आर्थिक समस्याका कारण धेरै जात्रा प्रदर्शन बन्द गर्न बाध्य भएको बताउँदै बन्द भएको मयुजात्रा आर्थिक अभावकै कारण हाल सम्म आयोजना गर्न नसकेको बताए ।
धरान ३ वडामा १०० वटा घर परिवार खड्गी समुदायको छ । अहिले सम्म उनै खड्गी समुदायसँगै आर्थिक सङ्कलन गरेर जात्रा देखाइँदै आएको उनले बताए । बन्द भएको जात्रालाई हाल धरान ३ वडा कार्यालयले संरक्षकत्व प्रदान गरेको छ । काठमाडौँ बाहिर धरान र धनकुटामा मात्र जात्रा देखाउने प्रचलन रहेको उनले बताए ।
धरान-३ का वडाध्यक्ष विद्या शाक्यका अनुसार धरानमा नेवार समुदायले मनाउने ‘जात्राहरू’ आर्थिक अभाव भएपश्चात् बन्द भएको थियो । हाल वडाको संरक्षण गरी जात्रा सुचारु भएको छ । उनले भने ‘अव कुनै पनि कालखण्डमा जात्रा रोकिँदैन, वडाले निरन्तरता दिएको जात्रा अव वडाकै अग्रसरतामा निस्कन्छ ।’
उपमहानगरपालिकाले वडा ३ लाई बेवास्ता गर्दै ६८ लाख मात्र बजेट छुटाएको उनले बताए । नेवार समुदायको जनघनत्व रहेको वडामा उपमहानगरपालिकाले ओझेलमा पार्न खोजेको उनको आरोप छ । उनले भने ‘नेवार समुदाय राजनैतिक हिसाबले पछाडि रहेकाले होला उपमहानगरपालिकाले ३ वडालाई हेर्ने दृष्टिकोण कमजोर भएर संस्कार संस्कृतिको संरक्षणमा समेत पछाडि पारिरहेको छ ।’