धरान : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

महिलाहरू व्रत बसी बिहानैदेखि नजिकको शिवालयहरूमा पुग्ने गरेका छन्‌ ।

​हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेका थिए । हिमालयको योजना थाहा पाएपछि सखीहरूले पार्वतीलाई हरेर लुकाएर राखेको थिए । पार्वतीले त्यही लुकाएर राखिएको ठाउँमा श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको हो ।

भाद्र शुक्ल द्वितीयाका दिन राति दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा-मीठा परिकार खाने चलन छ।

तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरी चेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ । हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएकाले तीजको व्रतको महत्त्व बढेको धार्मिक शास्त्रहरूमा उल्लेख छ । त्यसैले राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीजको व्रत बस्ने गरेको देखिन्छ।

स्कन्ध र लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्त्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात् गर्दै सांस्कृतिक सञ्जीवनीले पनि यो पर्व ओतप्रोत छ।

नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा महिलाहरू सजिने गर्छन्‌। तीजका अवसरमा धरानको पिण्डेश्वर बाबाधाम, झापाको अर्जुनधारा धाम, काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरहरूमा ठुलो घुइँचो र पूजाआजा लाग्ने गर्दछ।