धरान : नेपाली काँग्रेसले महिलाहरूको महान् पर्व हरितालिका तिजलाई समुदाय सम्म पुगेर कार्यकर्ता बिच रमाइलो गरी सङ्गठनात्मक सुदृढीकरण गर्ने अवसरको रूपमा सदुपयोग गरेको छ ।

काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिद्वारा गाउँ गाउँमा आयोजित कार्यक्रममा तीज विशेष सङ्गिनी गाउने, खेल्ने, दाइजो प्रथा विरुद्ध सचेतना सम्बन्धी नाटक, तीज नृत्य प्रतियोगिता गरिएको हो ।

बराह क्षेत्रको कालावञ्जारमा नगरपालिकाको वडा ३, ४ र ५ को संयुक्त साबिक भरौल बजार सोमवार तीजमय बनेको थियो ।

प्रतियोगितामा वडा ३ की सिजी राजधामी प्रथम, वडा ५ की सपना श्रेष्ठ दोस्रो र वडा ४ की कुमारी बस्नेत तेस्रो बनेकी थिइन् । उनीहरूलाई तीजको साडी पुरस्कारको रूपमा प्रदान गरियो ।

तिजको रौनकका बिच मोरङका काँग्रेस सङ्घीय प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा समेत नाच्न आइपुगेका थिए । उनले नाच्न मात्र कार्यक्रममा आएको बताए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको तिज कार्यक्रममा प्रमुख अतिथि काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाले काँग्रेस महासमितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेकोमा खुसी प्रकट गरे ।

सभापति तामाङले हरितालिका तीज पछिल्लो समय समावेशी पर्वको रूपमा मनाउन थालिएको बताए । महँगो पाटी प्यालेस र होटेलमा चर्को प्रवेश शुल्क लिएर मनाइने तिजले यो पर्वलाई भड्किलो बनाएको बताउँदै उनले भने ‘यो प्रथाले तीज निम्न वर्गका महिलाहरूको पहुँच भन्दा टाढा गएको छ ।’

काँग्रेस जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य जगत् कार्की, प्रदेशसभा (क) सभापति मुरारी भट्टराई, महिला सङ्घ जिल्ला सभापति विजया कटवाल, महाधिवेशन प्रतिनिधि पूजा धामी, वराहक्षेत्र नगर उपसभापति जितबहादुर कार्की, वराहक्षेत्र ५ वडा सभापति दिलबहादुर पौडेल, आर्थिक संयोजक धनराज राउत लगायतले तिजलाई नेपाली पर्वको रूपमा मनाउनु पर्ने बताए ।

काँग्रेसले यसैगरी धरानको पटनाली र महादेव चौक, चतरा तथा रामधुनीको बक्लौरीमा पनि समुदायसँग तिज मनाउने क्रम जारी छ।

Congress-teej-2