इटहरी : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले काँग्रेस पार्टी अहिले कठिन समयबाट गुज्रिरहेकोले कार्यकर्ताहरू सजग रहनुपर्ने अवस्था भएको बताएकी छन् ।
काँग्रेसमा सामान्य कुरालाई पनि तिललाई पहाड बनाउने प्रवृत्ति हाबी भएको सङ्केत गर्दै उनले भनिन ‘यस्तो अवस्था काँग्रेसलाई कमजोर बनाउनका लागि हो या बालियो बनाउनका लागि हो कार्यकर्ता सचेत रहनु पर्ने अवस्था छ ।’
नेपाल प्रेस युनियन सुनसरी जिल्ला समितिद्वारा आज मङ्गलवार आयोजित तिज विशेष कार्यक्रममा प्रमुख अतिथि रहेकी उनले काँग्रेस कार्यकर्ता नेताहरूका पछि होइन पार्टीको सिद्धान्त र आदर्शलाई आत्मसात् गरे सक्रिय हुनुपर्नेमा जोड दिइन् ।
तिज पर्व भड्किलो बन्दै गएको टिप्पणीहरूको बारेमा उनले भनिन् ‘तिज भड्किलो बन्दै गएकोमा आलोचना हुने गरेको छ तर यसलाई समावेशी पर्वको रूपमा विकास गर्ने प्रयास भएको पाइन्न ।’
उनले महिलाहरू वर्ष दिनभरी गृहिणी महिला देखी कामकाजी महिलाहरूले दोहोरो जिम्मेवारी निर्वाह गर्दै आएका हुन्छन्, उनीहरूले वर्ष दिनमा गर्ने अवसरलाई भड्किलो भएको भनी आलोचना गर्नु पूर्वाग्रही दृष्टिकोण भएको बताइन् ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य ममता तामाङ योञ्जनले तिज समावेशी पर्व बनेर गएको बताइन् । प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले तिजलाई समावेशी पर्व बनाऊ पुरुषहरूले पनि तिजको व्रत बसेर समानताको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रेस युनियन सुनसरीका सभापति ध्रुव ढकालको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष पवन अधिकारी लगायत तिजको महत्वको बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।