इटहरी : इटहरी उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख सञ्जीव खड्का माथि एमाले जनप्रतिनिधिले पोखेको आक्रोश सामाजिक सञ्जालमा व्यापक भएको छ । उपमेयर सङ्गीता चौधरी सहित एमाले वडाध्यक्षहरू खड्काको कार्यकक्षमा पुगेर जाई लागे । खड्काले सर्भर डाउन गरेको आरोप लगाउँदै वडाध्यक्षहरूले कर्मचारी माथि राजनीति गरेको बताए ।

बसिरहेको स्थानबाट उठेर उपमेयर चौधरी खड्कामाथि जाइ लागिन् । यसअघि उपमेयर चौधरीले बोलाएको कार्यपालिका बैठकमा उपस्थित नभएको विषय खुलाइन् । मेयर हेमकर्ण पौडेलको मात्र कुरा मानेको र एमालेका प्रतिनिधिलाई नटेरेको आशयको अभिव्यक्ति भिडियोमा सुनिन्छ ।

इटहरी उपमहानगरपालिकामा लामो समय देखि एमाले निकट कर्मचारीको बाहुल्य छ । इटहरी उपमहानगरपालिकामा पहिलो पटक नेपाली काँग्रेसले नेतृत्व पाएको हो । खड्का पनि एमालेकै सङ्गठक मध्येका एक हुन् । उनै खड्काले मेयर पौडेल निकट भएर काम गरेको एमालेलाई मन परेको छैन । प्रमुख प्रशासकीय अधिकृत र मेयर सँग सोझै वार्ता गर्न सक्ने उपमेयर सहित एमाले जनप्रतिनिधिले खड्का माथिको आक्रोशमा इगो मिसिएको देखिन्छ ।

पछिल्लो समय इटहरी उपमहानगरपालिकाले कर्मचारी भर्ना सङ्ख्या बढाउँदै लगेको छ । करार र मासिक ज्यालादारी कर्मचारीको सङ्ख्या बढिरहेको बेला एमालेका भन्दा बढी काँग्रेस निकट कर्मचारी बढिरहेका छन् । त्यही कारण लामो समय देखिको कर्मचारी संयन्त्र कमजोर बन्ने एमालेले बुझेको छ ।

त्यही बिचमा गत पुस ५ गते काँग्रेस निकट कर्मचारी युनियन गठन भयो । रोहित तिम्सिनाको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । युनियन गठनको कार्यक्रमको अतिथि बन्न पुगेका थिए खड्का । पुरानो एमाले खड्का काँग्रेस निकट कर्मचारीको भेलामा पुगेपछि एमाले भित्र खैलाबैला मच्चिएको हो । त्यही भित्रै खैलाबैला शुक्रवार बाहिर निस्किएको हो ।

उपमेयर चौधरीले खड्कालाई ‘यहाँबाट निस्किहाल्नुस्, तपाईँको काम छैन, कर्मचारी भएर काँग्रेसको राजनीति गर्नुहुन्छ ?’ भन्ने सम्मको अभिव्यक्तिले त्यही कार्यक्रमको प्रतिक्रिया भएको स्पष्ट हुन्छ । एमाले निर्वाचित वडाहरूलाई मात्र चलाएको र प्राइभेट कम्पनीको हिसाबमा कर्मचारी सरुवा भएको उनको भनाइ छ ।

पार्टी भित्र एमाले जनप्रतिनिधि माथि मेयर पौडेल सँग मिलेमतो गरेको र आफू निकट कर्मचारीको संरक्षण नगरेको आलोचना भयो । पार्टी नेतृत्वले समेत एमालेका जनप्रतिनिधिलाई कर्मचारीको विषयमा प्रश्न गरिरहेका छन् । सोही प्रश्नको जवाफ उपमेयर चौधरी सहित जनप्रतिनिधिले शुक्रवार दिएका हुन् ।

खड्का माथि आक्रामक बनेका एमाले जनप्रतिनिधिले उनको कार्यकक्षमा तालाबन्दी नै गरे । कुनै जानकारी नदिई वडा कार्यालयको सर्भर बन्द गरेर जनतालाई दुख दिएको भन्दै चौधरी रिसाइन् । आन्तरिक सरुवाका कर्मचारीमाथि मेयरको निर्देशनमा खड्काले दबाब दिएको उपमेयरको भनाइ छ । कर्मचारीको सरुवा बद्नियतपूर्ण भएको र पत्रअनुसार वडामा हाजिर नभएका कर्मचारीहरूले चलाउने आइडी पासवर्ड एक्टीभ नगरेको आरोप लगाइन् ।

प्रशासन प्रमुख खड्काले भने आफूले प्रमुख प्रशासकीय अधिकृतको आदेश अनुसार काम गरेको जवाफ दिए । प्रमुख  प्रशासकीय अधिकृत रामचरित्र मेहताबाट जवाफ लिन बताएपछि चौधरी सहितको टोलीले प्रमुख प्रशासकीय अधिकृतलाई समेत सम्पर्क गरेको थियो । जवाफमा मेहताले सर्भर बन्द गर्ने कुनै निर्देशन नदिएको प्रतिक्रिया दिए ।

कर्मचारी थप्ने मेयरको प्रस्तावमा एमाले जनप्रतिनिधिले अस्वीकार गर्दै आएका छन् । माघ ४ गते शुक्रवार उपमेयर चौधरीले बोलाएको कार्यपालिका बैठक बाट नै एमाले आक्रोशित बनेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता अनुपस्थित भएको र खड्काले माइन्युट नदिएको भन्दै कार्यपालिका बैठकले कारबाहीको लागि सिफारिस गरेको थियो । त्यसभन्दा अघिल्लो पटक मेयर पौडेलले बोलाएको कार्यपालिका बैठकको माइन्युट नदिएकोमा पनि कार्यपालिका सदस्यहरू आक्रोशित थिए । 

मेयर सँगको पुरानै इगो

एमाले मेयर बिचको इगोको शृङ्खला कर्मचारीमा मात्र हैन बजेटबाट नै सुरु हुन्छ । आर्थिक वर्ष २०८०/८१ को बजेट नीति तथा कार्यक्रममा पनि एमालेले आलोचनात्मक समर्थन गरेको थियो । करको दर अत्यधिक वृद्धि भएको भन्दै एमाले वृत्तमा आलोचना भयो । एमाले बाहेक अन्य दलहरूले आन्दोलन नै गरे ।

वडा नम्बर ३ का वडाध्यक्षको संयोजकत्वमा कर पुनरावलोकन समिति बन्यो । तर समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने गरी आह्वान भएको १४ औँ नगर सभा बैठक स्थगित भयो । बैठक स्थगित भएपछि एमालेले मेयर पौडेलले मनोमानी गरेको आरोप लगायो ।

२०८० पुस ११ गतेको नगर सभा बैठक बन्न नसकेपछि एमाले नेतृत्वले आलोचना गरेपछि मेयर पौडेले आक्रोशित बने । एमालेको प्रतिक्रिया पछि मेयर पौडेलले प्रतिक्रियात्मक टिप्पणी गरे ‘अब भएन । जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र तिनका पछाडिका पात्रको भूमिकाका बारेमा पर्दा च्यात्ने बेला भएछ । बाकी केही घण्टा केही दिन छ ।’

भोलीपल्ट मेयर पौडेलले पत्रकार सम्मेलन गरेर एमालेको कारण नगर सभा नभएको बताए । त्यस लगत्तै एमालेले मेयरले ढाँटेको आरोप लगायो । मेयरले एमालेको कारण नगर सभा नभएको आरोप लगाएपछि एमालेले पत्रकार सम्मेलन ग¥यो । केही दिनमा नगर सभा सम्पन्न भयो तर असमझदारी टुङ्गो लागेन ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेट नीति तथा कार्यक्रम ल्याउने क्रममा पनि एमाले र मेयर बिच टकराब देखियो । उपमेयर चौधरीले नगर सभा बहिस्कार गरेपछि वडाध्यक्ष दिवस पोखरेलले बजेट ल्याए । बजेटको आकारमा असन्तुष्ट रहेको एमाले नेतृत्वले नगर सभामा नजान उर्दी जारी गर्‍यो ।

तर एमालेकै जनप्रतिनिधिको बहुमत उपस्थितिमा बजेट पास भयो । एमाले भित्र चरम असन्तुष्टि सुरु भयो । एमाले दुई भागमा विभाजित भयो । विवाद केन्द्रीय महासचिव सम्म पुग्यो । अहिले पनि एमाले बिचको विवाद समाधान भएको छैन । उपमेयर सहित केही वडाध्यक्षहरूले मेयर सँग मिल्न नहुने लाइनमा छन् भने बाकी वडाध्यक्षहरू मेयरकै पक्षमा छन् ।

बजेट पारित भएपछि गत भदौमा मेयर पौडेलले एमालेलाई कर्मचारी भर्नामा बार्गेनिङ गरेको आरोप लगाएका थिए । एमाले नगर अध्यक्ष रुपेश बस्नेतले कर्मचारी भर्नामा बार्गेनिङ गरेको भिडियो भएको भन्दै उनले एमालेले संसदीय मर्यादा ख्याल नगरेको बताएका थिए ।

गत असार १७ मा पनि कार्यपालिका बैठक एमालेले बहिस्कार गरेको थियो । एमालेको बहिस्कार पछि मेयर पौडेलले एमालेको कारण उपभोक्ता समितिको भुक्तानी नभएको प्रतिक्रिया दिएका थिए । एमाले र मेयर बिचको इगोका यावत घटनाको घानमा कर्मचारी परेका छन् ।

सरुवा बढुवा र हाजिरीमा राजनीति भएको भन्दै एमालेले आफू निकट कर्मचारीको प्रतिरक्षा गर्ने प्रयास गरेको छ । शुक्रवारको घटना पछि केही इटहरी उपमहानगरपालिका भित्रको राजनीति झनै धमिलो बनेको छ । इटहरी उपमहानगरपालिकामा २० मध्ये १५ वडामा एमालेको नेतृत्व छ । कार्यपालिकामा पनि एमालेकै बहुमत छ ।

Ithari-sun