धरान : लामो समय पहिचानवादी अभियन्ताका रूपमा चिनिएका धरानका शुभचन्द्र राईले बेलायतवासी भएपछि कथा सङ्ग्रह प्रकाशित गरेका छन् ‘समयले जन्माएका कथाहरू’ ।

विदेशमा लेखिएका नेपाली साहित्यलाई डायस्पोरिक भन्ने चलन छ । तर उनको कथाहरू डायस्पोरिक भने होइनन् । नेपालमै रहँदा २०५० देखी ७० को दशकमा लेखिएका ७६ वटा कथाहरूको सङ्ग्रह हो ।

हालको कार्यक्षेत्र लण्डन फर्कने तयारीमा रहेका राईको कथा सङ्ग्रह ‘समयले जन्माएका कथाहरू’ हिजाे बुधवार किरात राई यायोख्खाद्वारा आयोजित एक समारोह बिच विमोचन गरिएकाे थियाे ।

प्रमुख अतिथि धरानका निवर्तमान मेयर तिलक राईले कार्यक्रममा पुस्तकमाथि भएको चर्चाको उल्लेख गर्दै भने ‘शुभचन्द्र राईको बोलीको भाषा र कथाहरूको भाषा निकै खरो छ तर सबैले बुझ्ने स्पष्ट ।’

समाजको वास्तविकता चित्रण गर्दा समाजमा बोलिने र आफूले बोल्ने भाषा नै प्रयोग गरिनु मौलिकताको महत्त्वपूर्ण पक्ष भएको उनको भनाई थियो । उनले भने ‘पुस्तक प्रकाशित गरेर शुभचन्द्र राई नेपाली कथाकारका रूपमा स्थापित भएका छन् ।’

यस अघि शुभचन्द्रका कथाहरूको भाषाको चर्चा गर्दै भाषाविद् प्राडा. टङ्कप्रसाद न्यौपानेले कथामा प्रयोग गरिएको भाषा आम मानिसले बोलिने ठेट पूर्वेली भाषा भएको बताएका थिए । उनले भने ‘शुभचन्द्रका कथामा प्रयोग गरिएको भाषा समाजमा जस्तो बोलिन्छ त्यस्तै उठाएर प्रयोग गरिएको छ ।’

समाजमा प्रयोग भएको भाषाले कथाहरूमा सामाजिक प्रतिविम्ब राम्ररी अभिव्यक्त भएको बताउँदै प्राडा न्यौपानेले भने ‘शुभचन्द्रको कथाहरूको यो राम्रो पक्ष हो ।’

नेपाली कथा साहित्यको उदाहरण दिँदै उनले सुनियोजित सुरुआत नभई बिचैबाट उठाइएका र अन्त्य बिनाका समाप्त गरिएका कथा वास्तविक कथा लेखन हुने बताए ।

नाटक लेखक/निर्देशक गोपाल देवानले शुभचन्द्रका कथाहरू नेपाली कथा साहित्यमा विनिर्माणको सुरुआत भएको बताउँदै उनले परम्पराबाट हटेर फरक ढङ्गमा लेखिएका शुभचन्द्रका कथाहरू नेपाली साहित्यमा पहिचानवादको नमुना भएको दाबी गरे ।

पुस्तकका भाषा सम्पादक गणेश राईले शुभचन्द्र राई मातृभाषा प्रेमी, पहिचानवादी अभियन्ता मुलुकप्रति अगाध माया राख्ने सर्जक भएको बताउँदै उनले विदेशीँदा लेखेका मनका पिडाहरू समारोहमा पढेर दोहर्‍याएका थिए ।

विमोचन कार्यक्रम यायोख्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईको सभापतित्वमा भएको थियो । ३०९ पृष्टको कथा सङ्ग्रह भुँडी पुराण प्रकाशन, काठमाडौँले प्रकाशित गरेको हो । पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।