धरान : धरान नगर स्तरीय अन्तरवडा महिला नकआउट फुटबलको दोस्रो संस्करण मङ्सिर १८ गते देखी हुने भएको छ ।
धरान रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा धरानका २० वटा वडाको फुटबल टिमहरू सहभागी हुने आयोजक जनपथ जागरण समाज, धरान-१६ ले सोमवार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले अन्तरवडा नकआउट फुटबल प्रतियोगिता यसपालि धरान-१६ वडा कार्यालयको संयोजनमा हुने बताए।
उनका अनुसार प्रतियोगितामा विद्यालय तहका छात्रा खेलाडीहरू वडाको टिममा सामेल हुनेछन् । उनले भने ‘वडाहरूमा महिला फुटबल खेलाडी उत्पादन गर्न विद्यार्थी खेलाडीहरू बिच प्रतियोगिता सञ्चालन गरिएको हो ।’
जनपथ जागरण समाजका अध्यक्ष सुजन केसीले प्रतियोगीताका विजेताले ९० हजार रुपैयाँ र उपविजेता लाई नगद पुरस्कार ४५ हजार रुपैयाँ प्रदान गरिने बताए । म्यान अफ द म्याच २ हजार, उत्कृष्ट मीड फिल्डर र किपरलाई ३ हजार ५ सय र उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
गत वर्षको आय-व्यय विवरण प्रस्तुत गर्दै अध्यक्ष केसीले १२ लाख १ हजार ४ सय ४० रुपैयाँ आय र ९ लाख ६८ हजार ५ सय ५९ रुपैयाँ व्यय भएको जानकारी दिए । संस्थाले २ लाख ३२ हजार ८ सय ८१ रुपैयाँ बचत गरेको थियो । यस वर्षको अनुमानित खर्च ११ लाख ५५ हजार रुपैयाँ रहने अनुमान गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि प्रवेश शुल्क २० रुपैयाँ र फाइनल खेलमा २५ रुपैयाँ राखिएको छ । खेलकुदको सहर धरानमा महिला फुटबल खेलाडी उत्पादन गर्न प्रतियोगिता निरन्तरता दिइएको वडाध्यक्ष भट्टराईले बताए ।


































































