मेरो उम्मेद्वारी सैद्धान्तिकरुपमा मुख्यतः
भूगोल र मनलाई जोड्ने हो । यसकोलागि नीतिगत तहमा उपस्थितिको आवश्यकता पर्न जान्छ ।
सुनसरी १ बाट निर्वाचित भएर गएपछि उक्त नीतिगत निर्णय गर्ने तहमा हुने मेरो उपस्थिति भूगोल र मन जोड्ने दिशामा केन्द्रित रहने छ ।
यो कसरी सम्भव छ ?
अरूले असम्भव भन्दै आएको कुरालाई हाम्रो नेतृत्वले सम्भव बनाएको कुरा भनिरहनु पर्ने विषय होइन । मुख्यतः रणनीति र कार्यनीतिको सवाल हो । हामीले तयार पारेको रणनीति अनुसार सुनसरी–१ को भूगोल र मनलाई जोड्न दुई आधार छन् ।
पहिलो ‘फिजिकल्ली’ र दोस्रो ‘स्पिरिचुवल्ली’ । अर्थात्, सुनसरी १ को भूगोललाई एकापसमा जोड्ने मुख्य नाकाहरूको पूर्वाधार विकास गर्ने र सुनसरीमा रहेका आस्थाका केन्द्रहरूलाई एउटा योजनामा हालेर प्रवर्द्धन गर्ने । यी दुई कुरामा ध्यान दिन सकियो भने भूगोल र मन दुवै जोडिन्छ ।
तपाईँले भनेको कुरा विकासको गतिविधि भएन र ? यो निर्वाचन त विकास गर्नकोलागि त होइन :
तपाईँले भनेको कुरा ठिक हो । यो विकासको गतिविधि नै हो यद्यपि, यो निर्वाचन विकास निर्माण गर्ने निर्वाचन होइन । नीतिगत निर्णय गर्ने थलोमा जाने निर्वाचन हो ।तर, यसो भनिरहँदा हामीले विकासको कुरालाई अस्वीकार गरेको भने होइन, हामीले उठाएको सवाल भनेको नीतिगत संरचनामा आधारित विकास कुरा हो ।
बजेट छरेर मात्र विकासको कल्पना गर्न सकिन्न, नीति बनाएर संरचनागत हिसाबले अगाडि बढ्नु पर्छ । त्यसैले विकास गर्नकोलागि विकासको मोडेल तथा स्थानीय जीवनलाई पार्ने प्रभावहरूलाई नीतिमा ढाल्नु पर्छ र विकास निर्माणलाई अगाडि बढाउनु पर्छ ।
मतदाताले तपाईँलाई किन विश्वास गर्ने ?
पहिलो कुरा त म यहाँको रैथाने हुँ । कुनै अन्य स्थानमा बसोबास भएर निर्वाचनको लागि मात्र आएको होइन । रैथाने भएपछि स्वभाविकरुपले राजनीति केन्द्रित मात्र मेरो दैनिकी छैन । यहाँको अर्मपर्म, बिहे बटुलो, मरोउपरोउ वा यस्तै सामाजिक जीवन सङ्ग दैनिकरुपले बाँचिरहेको छु । अर्को कुरा म रैथाने भएकोले मैले गरेको प्रतिबद्धता पुरा नगरे तपाईँले मलाई बाटोमा वा चिया पसलमा भेटेर पनि प्रतिबद्धता के भयो भनेर सोध्न सक्नुहुन्छ । अथवा, घरैमा आएर सोध्न सक्नुहुन्छ । रैथाने हुनु भनेको समाजको दैनिकीसँग जोडिनु हो, रैथानेलाई प्रश्नबाट भाग्न सजिलो छैन ।
तपाईँको निर्वाचन क्षेत्र सुनसरी १ को विशेषता के के हुन ?
सुनसरी १ को विशेषता भूगोलको हिसाबले पहाडी र मधेसी मूलको बस्ती छ, जातीय वा साँस्कृतिक हिसाबले हेर्दा आदिवासी र खस आर्य समुदायको बसोबास रहेको छ । जस्तो कि धरान हेर्ने हो भने पहाडी आदिवासी समुदाय हुनु यसको विशेषता हो भने बराह नगरपालिकाका क्षेत्रहरू पहाडी खस आर्य समुदायको वर्चश्व छ, यसै गरी रामधुनीका क्षेत्रहरू तराई मूलका आदिवासीहरू छन् ।
अर्थात्, आदिवासी र खस आर्य समाजको मिश्रण छ । तीन स्थानको साझा चरित्र भनेको तीनै स्थानमा नाम चलेका धार्मिक आस्थाका केन्द्रहरू हुनु हो । यो फरक विशेषताबीच भएका साझा चरित्रलाई सम्पत्तिकोरुपमा विकास गरेर लान सकिन्छ । फरक भूगोलमा भएका फरक जातीय समुदायबीच सांस्कृतिक सद्भावमा जोड दिन आवश्यक छ ।
तपाईँले आफ्नो निर्वाचन क्षेत्रमा गर्नै पर्ने कामहरू के देख्नु भएको छ ?
यो पनि भूगोलअनुसार काम गर्नै पर्ने कुराहरू फरक छन् । जस्तो धरानमा मुख्यतः खानेपानी र सुकुम्वासी व्यवस्थापनको समस्या हो । यसमा भन्नै पर्ने अर्को कुराचाहिँ धरान २० पहाडी भूगोल भएकोले यसको विशेषता अलि फरक छ, यहाँ सडक सञ्जालको स्तर उन्नति र विस्तार गर्न आवश्यक छ ।
वराहक्षेत्रकोलागि धरान हुँदै चतरा जाने सडक र नडहा जाने सडक निर्माण गरिहाल्नु पर्ने अवस्था छ । यसै गरी चतराबाट सुर्यकुण्ड, चियाबारी, विष्णु पादुका हुँदै धरान जोड्ने सडक सञ्जाल बनाउन आवश्यक छ ।वराहक्षेत्रको कतिपय स्थानमा पनि पानीको समस्या छ भने रामधुनीतिर डुबानको समस्या छ । रामधुनीमा मुख्य गरी भेडिगाउँ, मैनी,बक्लौरी, पाञ्चायन,हरियाली हुँदै धरान जोड्ने बाटो प्रमुख देखिन्छ भने सेउती करिडोर र सेउती तटबन्धनको कार्य प्रमुख हो ।
यसै गरी वराहक्षेत्र र रामधुनी भएका जलस्थलहरुलाई व्यवस्थित गर्ने र पर्यटकीय क्षेत्रको रूपमा विकास गरेर लान पर्ने अवस्था छ । पछिल्लो समयमा हात्तीको आतङ्क छ, यो समस्यालाई पनि गम्भीर ढङ्गले लिएको छु ।
तपाई धरान १७ को वडाध्यक्ष हुँदा गरेका उल्लेख्य कामहरू के के छन् ?
तपाईँले सोधिहाल्नु भो, मैले गरेको काम मैले भन्नुभन्दा पनि धरान १७ वडावासीले अनुभूत गर्ने कुरा मुख्यगरि मैले वडा १७ वासीको आन्तरिक जीवनलाई भावनात्मकरुपले एकताबद्ध गराएको छु । यही कारणले मैले दुई पटक निर्वाचन जितेको हुँ ।
अनि पूर्वाधार विकासको कुरा गर्ने हो भने धरानमा पहिलो चार लेनको सडक बगैँचासहितको मेरो कार्यकालमा बनेको हो । धरानमा रहेको एक मात्र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र मेरो कार्यकालमा धरान(१७ मा स्थापना भएको हो । हराईजन क्लबले आयोजना गर्ने राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिता गर्ने मेरो वडा हो, धरानको गहना बनिरहेको गोधुली फुटबल प्रतियोगिताको आयोजक मेरो वडा हो, वडामा दुई ठाउँ सार्वजनिक शौचालय बनाउने वडा मेरो वडा हो ।
मैले व्यक्तिगत पहलमा धरान १७ को एकल तथा दलित महिला जानुका विकको घर बनाइदिएको छु । किरात राई समुदायको सस्कृतिसङ्ग जोडिएको साकेला पार्क मेरो वडामा पर्छ, जहाँको भौतिक पूर्वाधारमा वडाको लगानी रहेको छ । करिब ६ करोडको योजना रहेको सरस्वती ढल तथा करिडोर निमार्ण, कोभिडको समयमा सचेत नागरिक समाज धरान–१७ को नेतृत्वसँग वडाले सहकार्य गरेर खाद्यान्न वितरण गर्ने, धरान –१७ मा क्वारेन्टाइन राख्ने र अप्ठ्यारोमा परेकाहरूलाई दैनिक ३ सय ५० जनालाई ४६ दिन खाना खुवाएकोजस्ता थुप्रै कार्यहरू छन् । सानातिना कामहरूको त लामो सूचि नै बन्छ, म त्यतातिर जान चाहिनँ ।
अन्त्यमा केही भन्नु छ ?
यो निर्वाचन खासमा भूगोल र मन जोड्ने उपयुक्त अवसर हो । म भूगोल र मन जोड्न सक्ने खाका सहित उम्मेद्वारको रूपमा उपस्थित भएको छु । तपाई सम्पूर्ण मतदाताको भावनालाई सम्मान गर्न सक्ने उम्मेद्वारको रूपमा छु । तसर्थ,तपाईँको अमूल्य मत तारा चिन्हमा लगाएर मलाई अनुमोदन गरिदिनु हुन आग्रह गर्छु ।