इटहरी : इटहरी उपमहानगरपालिकाको ९ नम्बर वडा कार्यालय सँगै टाँसिएर भव्य भवन निर्माण भइरहेको छ ।
कृषि उपज उत्पादनको भण्डारणका लागि निर्माण सुरु गरिएको कोल्ड स्टोर बजेट अभावको कारण अलपत्र परेको हो । 
२३ करोड ४१ लाखमा सम्झौता भएको आयोजना सङ्घीय सरकार र प्रदेश सरकारले १२ करोड ५० लाख उपलब्ध गराउने गरी सुरु गरिएको थियो । कोशी प्रदेश सरकारले सोही आयोजनाको नाममा एक करोड भुक्तानी गरिसकेको छ ।
बाँकी सङ्घीय सरकारले रकम नपठाएपछि आयोजनाको गति धिमा हुँदै गएको हो । इटहरी उपमहानगरपालिका सँग समेत पर्याप्त बजेट नभएपछि निर्माण कम्पनीको भुक्तानी रोकिएको छ । 
उपमहानगरपालिकामा बुझाएको अडाई करोडको रनिङ बिलमै भुक्तानी समस्या परेको छ । निर्माण कम्पनी तुलसी भक्त कन्स्ट्रक्सनले हटियाको साइड खाली नभएको र भुक्तानी नभएको कारण कामका ढिलाइ भएको जनाएको छ । 
कम्पनीका सञ्चालक नवराज श्रेष्ठका अनुसार कोल्ड स्टोरमा मेसिन राख्न बाँकी रहेको र ६ महिना भित्र काम सकिने गरी तयारी भइरहेको छ । उपमहानगरपालिकाले दुईबर्ष देखि भुक्तानी र साइड क्लियरेन्सको समस्या समाधान नगर्दा निर्माण कार्य रोकिएको उनको भनाइ छ । हटिया बजार व्यवस्थापन नभएको कारण डिजाइन चेन्ज गरेर कोल्ड स्टोर निर्माण गरिएको हो ।