धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा वडा प्रहरी कार्यालय भद्रपुर, झापामा प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङलाई २०८२ साल चैत महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको छ ।
प्रहरी निरीक्षक योञ्जन तामाङको नेतृत्वमा भद्रपुर क्षेत्रमा ‘अपरेसन ब्राउन’ लागूऔषध नियन्त्रण अभियान सञ्चालन गरी चैत्र महिनामा लागूऔषधका १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्तलाई पक्राउ गरियो ।
उनीहरूको साथबाट कुल ३४६ ग्राम ५७ मिलिग्राम लागू औषध ब्राउनसुगर, नगद ३ लाख रुपैयाँ सहित बरामद गरिएको छ ।
भन्सार छलीका १० लाख ४७ हजार बरावरको अवैध सामानहरू बरामद, विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीलाई पक्राउ, जेनजी आन्दोलनमा पूर्ण रूपमा क्षतिग्रस्त वडा प्रहरी भद्रपुरको कार्यालय तथा ब्यारेक मर्मत, आवश्यक फर्निचर, विद्युतीय सामाग्री व्यवस्थापन गरेर उदाहरणीय योगदान गरेका छन् ।
साथै मेची बिटको पुनः स्थापना गर्न स्थानीय निकाय, सङ्घ-संस्था तथा स्थानीयवासीसँग समन्वयात्मक भूमिका निर्वाह गरेका छन् । प्रहरी निरीक्षक योञ्जनले प्रहरी चौकी मेचीपारीको नयाँ जग्गा प्राप्तिको लागी नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरको नयाँ भवन निर्माण तथा जग्गा प्राप्तिको लागी निरन्तर पहल गरिरहेका छन् । सामुदायिक प्रहरी साझेदारीका सचेतनामूलक कार्यक्रमहरूबाट आम नागरिकमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले दायित्व जिम्मेवारी उत्कृष्टता पूर्वक निर्वाह गरेको सहित कार्यहरूको उच्च मूल्याङ्कन गर्दै २०८२ साल चैत महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।







































































