धरान : धरान–१६ स्थित हारति अजिमा मन्दिरले रजत जयन्ती वार्षिकोत्सवमा आज सोमवार अक्षय तृतीयाको अवसरमा मन्दिरका संस्थापक सहित चार जनालाई सम्मानित गरेको छ ।
रजत जयन्तीको अवसरमा आयोजित न्यास जिर्णेदार पूजा कार्यक्रम सहित सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा मन्दिरका संस्थापक अध्यक्ष मणिक रत्न शाक्य, माया देवी ताम्राकार मरणोपरान्त, पूर्व अध्यक्ष नरेश कुमार शाक्य, संस्थापक उपाध्यक्ष सुमित्रा प्रधान हुन ।
मन्दिरको जीर्णोद्धारका लागि धरान उपमहानगरपालिका ले ६ लाख रुपैयाँ सहयोग गरेको उपाध्यक्ष विनीता बज्राचार्यले जानकारी दिइन् ।
प्रमुख अतिथि कोशी प्रदेश सांसद रमेश बस्नेतले मन्दिर तथा संस्कार–संस्कृति संरक्षणमा प्रदेश सरकारको भूमिका स्वरूप मन्दिर व्यवस्थापन तथा संरक्षणका कार्यमा प्रदेश सरकारले लगानी गर्ने वचन दिए ।
व्यवस्थापन समितिका अध्यक्ष मनोहर शाक्यले नेवार समुदायको आस्थाको केन्द्र हारती अजिमालाई बालबालिकाको रक्षक देवीका रूपमा पूजा गर्ने परम्परा रहेको बताए । धरानमा हारती अजिमा मन्दिर २०५८ साल अक्षय तृतीयामा स्थापना भएको थियो ।



































































