धरान : व्यास नगरपालिका २ का वडा अध्यक्ष मगल सिंह धामीले हाल सामाजिक सञ्जालको कन्टेन्टमा चर्चामा रहेको सांसद हर्क साम्पाङले बनाउने भनिएको झोलुङ्गे पुल नेपाल-भारत जोड्ने नभई नेपाल भित्रकै झोलुङ्गै पुल भएको स्पष्ट बताएका छन् ।
उनले कपुरी न्युजसँग कुराकानी गर्दै भने ‘अहिले माननीय हर्क साम्पाङले झोलुङ्गे पुल बनाउन लागेको स्थानमा यसअघि काठे पुल रहेको थियो, पटक–पटक बाढीले काठे पुल बगाएपछि उक्त स्थान अहिले पुलविहीन बनेको भएको मात्र हो ।’
वडा अध्यक्ष धामीले सोही स्थानबाट करिब २ देखि ३ किलोमिटर अगाडि अर्को झोलुङ्गे पुल सञ्चालनमा जानकारी दिए । उनले भने‘टिकटकमा देखेको भिडियोलाई आधार मानेर साम्पाङले झोलुङ्गे पुल बनाउने निर्णय गरेका मात्र हुन ।’
उक्त पुल बन्ने स्थानमा खोला ठुलो भएकाले दुम्ली खोला वारि पारी २० देखि २५ घरधुरीलाई गाह्रो मात्र भएको हो । धामीले भने ‘ठुलो जनसंख्या प्रभावित छैन ।’
उनका अनुसार पुल बनाउन पटक–पटक पहल गरिएको हो । पुल निर्माणका लागि अनुमति पाए पनि स्थानीय सरकारसँग पर्याप्त बजेट नभएका कारण पुल बनाउन सकिएको थिएन ।
यसैबिच, उक्त पुल नेपाल-भारत जोड्ने पुल हो भन्ने चर्चा फैलिएको विषयमा पनि उनले स्पष्टीकरण दिँदै भारत भ्रमणका क्रममा भएका भेटघाटलाई जोडेर विभिन्न हल्ला फैलिएको बताए । उनले भने ‘यो पुल नेपाल भित्रकै आवश्यकताका लागि निर्माण गरिने हो ।’
साम्पाङले झोलुङ्गे पुल बनाउन प्राविधिक पठाए पछि विशेष गरी २०–२५ घरका बालबालिकालाई विद्यालय आउजाउ गर्न निकै कठिन हुने अवस्था रहेको स्थानीयले बताएका थिए ।
उनीहरूले पुल निर्माण गरिदिए सहज हुने आग्रह गरेका थिए । वडाध्यक्ष धामीले भने ‘स्थानीयको माग र आवश्यकताका आधारमा पुल निर्माणको पहल भएको हो ।’
सांसद हर्क साम्पाङले भने सामाजिक सञ्जाल फेसबुकमा तुईन भएको ठाउँ झोलुङ्गे पुल बनाउन लागिएको प्रचार प्रसार गरेका छन् । उक्त झोलुङ्गे पुल साम्पाङले शिलान्यास गरी सकेका छन् ।