इटहरी : १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा गछिया युवा समाज विजयी भएको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १-० गोल अन्तरले हराउँदै गछिया विजयी बनेको हो ।
इटहरी गोल्डकपमा पहिलो प्रयास गरेको गछियाले जित निकाल्दा बुढासुब्बा गोल्डकपको विजेता प्लानिङ ब्वाइज स्तब्ध बन्यो । गछियालाई उपाधि जिताउन दोर्जे तामाङले ८७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी फाइनल खेलको ‘म्यान अफ द म्याच’ पनि घोषित भए ।
प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख रुपैयाँ र उपविजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरीले नगद १ लाख रुपैयाँ पुरस्कार पाए ।
राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालन भएको हो ।