इटहरी : धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका हर्कराज राई (हर्क साम्पाङ) श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । फाल्गुन २१ गते सम्पन्न निर्वाचनमा सुनसरी १ बाट निर्वाचित सांसद साम्पाङ श्रमदान अभियानको कारण चर्चित भएका हुन् । सोही अभियान मार्फत लोकप्रियता कमाएका साम्पाङले श्रम संस्कृति पार्टी खोलेर राष्ट्रिय दलको रूपमा स्थापित भएको छ । 
साम्पाङले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै ‘दार्चुलाको तुइनको साटो झोलुङ्गे पुल बनाउने घोषणा अनुरूप १० रुपैयाँ देखि माथि जति सहयोग गर्न चाहनुहुन्छ, सहयोग गर्नुहोला ।’ भन्ने पोष्ट गरे । दार्चुलामा पुल बनाउन नसकिएको विषयमा बारम्बार समाचार आएपछि साम्पाङको अभियानमा साथ दिन सयौँ नेपाली तयार भए । 
उनको पोष्टमा कमेन्ट गर्नेदेखि खातामा पैसा पठाउनेहरू बढ्दै गएका छन् । त्यसमध्ये पनि विदेशमा रहेका साम्पाङका समर्थकले झनै भावुक भएर पैसा पठाउन थालिसकेका छन् । नेपाल प्रेसमा तुइनको वास्तविक अवस्था बारे नवीन राईले फिचर गरेका छन् । 
‘अहिले दार्चुला जिल्लामा एक ठाउँमा तुइन छ, व्यास गाउँपालिका-२ दुम्लीमा । यो तुइनको एकातिरको छेउ दुम्ली, राप्लामा पर्छ भने अर्कातिरको छेउ भारतको उत्तराखण्ड प्रदेश, पिथौरागड जिल्ला, तहसीलमा पर्छ । ७० मिटर लामो यस तुइनको बिचमा महाकाली नदी छ, जो नेपाल र भारतको सीमा नदी हो,’ उनले लेखेका छन् । 
दार्चुला र भारतलाई जोड्ने गरी तुइन हटाएर महाकाली नदीमा ९ ठाउँमा झोलुङ्गे पुल निर्माण भइसकेका छन् नेपाल तर्फ दार्चुलाको दुम्ली र भारतको पिथौरागडमा पुल निर्माण गर्नुपर्ने देखिएको छ । जसको लागि साम्पाङले पैसा सङ्कलन गरिरहेका छन् । नेपाल सरकारले बजेट स्वीकृत गरिसकेको सो पुल निर्माणको लागि भारत सरकारले अनुमति नदिएको कारण रोकिएको हो । 
साम्पाङले अभियान चलाएर पैसा उठाएपनि भारत सरकारले अनुमति नदिएसम्म पुल निर्माण नहुने प्रष्ट छ । भारत सरकारले अनुमति दिए नेपाल सरकारबाट स्वीकृत बजेटबाट नै पुल निर्माण हुने देखिन्छ । तर साम्पाङले सङ्कलन गरेको पैसा के हुन्छ ? त्यो प्रष्ट छैन । 
माओवादी भएर चन्दा सङ्कलन  
साम्पाङ स्वतन्त्र उम्मेदवार भएर मेयरमा विजयी भएको भएपनि उनको इतिहास माओवादी सँग जोडिएको छ । खोज पत्रकारिता केन्द्रको लागि गोपाल दाहालले तयार पारेको रिपोर्ट अनुसार २०६२ सालतिर धरानमा माओवादीका नाममा चन्दा उठाउने गिरोह परिचालित थियो । शान्ति प्रक्रियापछि नक्कली माओवादीका नाममा चन्दा माग्ने, लुट्ने र लागूऔषध सेवन गर्नेलाई कारबाही गर्न दस्ता नै तयार भएको थियो । 
‘माओवादीका तत्कालीन इन्चार्ज प्रवेश राईलाई नक्कली माओवादीले चन्दा मागेको खबर आयो । प्रवेशकै योजना अनुसार चन्दा माग्नेलाई पैसा लिन धरानको वाणिज्य बैङ्क अगाडि बोलाइयो । पहेँलो र सेतो रङ्गको करिज्मा मोटरसाइकल चढेर पैसा उठाउन आउने उनै हर्क साम्पाङ थिए,’ दाहालले रिपोर्टमा लेखेका छन् । ।
त्यसबेला साम्पाङलाई भानुचोक घुमाउँदै माओवादीको शिविरमा पुर्याइएको थियो । त्यसपछि द पर्फेक्ट इङ्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटरका प्रबन्ध भएका साम्पाङ अफगानिस्तान गएका थिए । विदेशबाट फर्किएपछि खानेपानीको मुद्दा उठाएर उनी मेयर र सांसद बन्न सफल भएका छन् । 
श्रमदान अभियानमा संकलीत रकमको हिसाब खोइ ? 
विगतमा धरानको खानेपानी समस्या समाधानमा एसियाली विकास ब्याङ्क (एडिबी)ले दुई अर्ब १९ करोड सहयोग गरेपछि विरोधमा उत्रिएका साम्पाङले भ्रष्टाचार भएको भन्दै आवाज उठाएका थिए । खानेपानीको मुहान तोडफोड गरेका साम्पाङ पक्राउ परेर दुई हजार धरौटी बुझाएर रिहा भए ।  
साम्पाङ मेयर भएसँगै देश विदेशबाट खानेपानी समस्या समाधानको लागि आर्थिक सहयोग सङ्कलन गरे । आर्थिक, भौतिक र श्रमदानको सहयोग माग्दै उनले अभियान चलाए । साम्पाङले कार्यपालिका बैठकमा कोकाह खोलाबाट पानी ल्याउने र उपमहानगरको ब्याङ्क खातामा चन्दा सङ्कलन गर्ने निर्णय भयो । उपमहानगरपालिकाको खातामा पैसा सङ्कलन हुँदा खर्चगर्न प्रक्रिया पुर्याउनु पर्ने भएकाले व्यक्तिगत रूपमा पैसा उठाइएको थियो । दैनिक लाखौँ रकम सङ्कलन भएपनि त्यसको हिसाब अहिलेसम्म सार्वजनिक भएको छैन ।
श्रमदानको नाममा सङ्कलन भएको नगद रकमको रसिद समेत काटिएको छैन । साम्पाङकै समूहबाट उपमेयरमा उठेर पराजित भएका दत्तकुमार लिम्बूले सहयोग रकम नगदै लिने गरेका थिए । सोही अभियानमा खानेपानी बोर्डको ६६ लाख ५१ हजार रुपैयाँ प्रक्रिया विनै खर्च भएको थियो । 
साम्पाङ समूहले सार्वजनिक गरे अनुसार अभियानका नाममा ७ करोड ४ लाख १८ हजार रुपैयाँ सङ्कलन भएको थियो । खाजा, खाना र पानीमा ५० लाख र ज्याला बापत २७ लाख खर्च भएको बताइएको छ । सर्भे गर्नको लागि एकलाख  ६७ हजार, मर्मत खर्च एक लाख ३३ हजार र पाइप खरिदमा तीन करोड रुपैयाँ बढी खर्च भयो । तर दाताहरूले दिएको जिन्सी सामान (पाइप, फरुवा, सिमेन्ट, गैँती, डोरी, सिमेन्ट) लगायतको भने हिसाब किताब छैन । श्रमदानमा स्वतःस्फूर्त मानिस सहभागी भएपनि भुक्तानी गरेको उनको समूहको दाबी छ । श्रमदानलाई भुक्तानी दिने नयाँ प्रचलनको थालनी उनै साम्पाङले गरेका छन् । 
७ करोड खर्च गरेर ल्याइएको परियोजनामा थप करोडौँको जिन्सी सामान दान भएको छ । अहिले कोशीको पानी ल्याउने विषयमा नेपाल सरकारले अनुदान सहयोग गर्ने भएको छ । ६ अर्बमा कोशीको पानी धरानमा ल्याउने योजना सहित धरान पुगेका खानेपानी मन्त्री प्रदीप यादवलाई साम्पाङले भेट गरेनन् । धरान उपमहानगरपालिकाले १५ प्रतिशत बेहोर्नेगरि परियोजना अगाडी बढाउन नेपाल सरकारको तयारी असफल भएको छ ।
धरान ६ मा रहेको बहुभाषिक पाठशाला संरक्षणकालागि श्रमदानबाट निर्माण भएको ग्याबिन पर्खालको भुक्तानीमा समेत साम्पाङले दबाब दिएका थिए । श्रमदानबाट निर्माण भएको सो पर्खालको उपमहानगरबाट स्वीकृत नभएको उपभोक्ता समिति गठन भएको थियो । सोही समितिलाई १७ लाख ४० हजार भुक्तानी दिनुपर्ने प्राविधिक इस्टमेट भयो ।
स्थानीयलाई थाहै नदिई बाहिरका व्यक्तिलाई समितिमा राखेर भुक्तानीको लागि दबाब बढाएका साम्पाङले ६ नम्बर वडाको काममा १४ नम्बर वडाका प्रसाद राईको संयोजकत्वमा उपभोक्ता समिति गराएका थिए । श्रमिकको उपस्थितिमा नाम र हस्ताक्षर एकै व्यक्तिले गरेको बुझ्न सक्नेगरि उपमहानगरपालिकामा डकुमेन्ट पेस गरिएको छ । जसबापत ७ लाख ३१ हजार भुक्तानी भइसकेको छ ।