धरान : धरान-१७ का पूर्ववडाध्यक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार मनोज भट्टराईले पूर्व नगर प्रमुख हर्क साम्पाङले उनी अभियन्ता रहेका बेला आफू वडाअध्यक्षको जिम्मेवारीमै रहँदा सर्दु–धरान–चतरा जोड्ने सर्दु खोलामा पुल निर्माणमा अवरोध सिर्जना गरेको दाबी गरेका छन्। 
भट्टराईले आज आइतबार सञ्चारकर्मीहरूसँग  कुराकानी गर्दै साम्पाङको नेतृत्वमा करिब १०० जनाको समूहले सर्दु, पटनाली र ठकुरी खोलामा पुल निर्माणका लागि पुगेका सर्वसाधारणलाई लखेटेएको बताए ।
साम्पाङले कोरोना महामारीमा धरानवासीलाई सहज रूपमा क्वारेन्टाइन सेवा उपलब्ध गराउन एन्फामा टेक्निकल सेन्टरलाई क्वारेनटाइन कायम गर्ने कुरामा पनि साम्पाङले विरोध गरेका थिए ।
साम्पाङले अभियन्ताको नाममा उपमहानगरपालिकाको गेटमा बाँदर झुन्डे झैँ झुण्डीने,मनपरी गाली गलौज गर्ने झगडा र मुख छाड्ने गेट फोड्ने जस्ता अराजक कामहरू गरेको भट्टराईले बताए ।
साम्पाङले उठाएको चन्दाको अपारदर्शिता 
भट्टराईले भने " कार्यकारी मेयर हुँदा साम्पाङले विधि विधान विपरीत खानेपानी अभियानको नाममा चन्दा आंतक मच्चाएका थिए, खानेपानीको नाममान उठाएको चन्दाको हिसाब किताब अहिले सम्म सार्वजनिक गरेका छैनन् ।"
उनले फेसबुकमा देखाइएको नाङ्लोमा राखिएको पैसा सहित अन्य चन्दा सबैको बिल र भर्पाइ सार्वजनिक नगरे सम्म साम्पाङले नैतिक जिम्मेवारी पूरा गरेको नमानिने बताए ।
संस्थागत विधि र पदीय मर्यादा
नगर प्रमुखको हैसियतमा कुनै संस्थाको अध्यक्ष बस्नु पदीय मर्यादा विपरीत भएको भट्टराईको भनाइ छ। उनले कार्यपालिका, बोर्ड र संस्थागत प्रक्रियालाई बेवास्ता गरिएको, खानेपानी बोर्डको अडिट तथा महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक नगरेकाले नगर प्रमुखको दायित्व पूरा नगरी राजीनामा दिएको भट्टराईको भनाई छ ।
उनले स्थानीय चुनावमा साम्पाङले पाएको मत लोकप्रिय मत नभई राजनीतिक दल र विगतको कार्यशैलीप्रति जनताको आक्रोश र विद्रोहको मत भएको बताए । मेयरको कार्यशैली अहङ्कारी, दम्भी र धरानको सद्भावमा असर पुर्‍याउने प्रकारको कार्यले धराने जनताले उनलाई भोट दिएर गल्ती गरेको भन्न थालेको भट्टराईले बताए ।