धरान : धरान राउन्ड टेबलको आयोजनामा सम्पन्न राउन्ड टेबल फुटसल लिगको उपाधि म्याग्नस फर्माले हात पारेको छ।
धरान–१६ स्थित विग गोर्खा फुटसलमा सञ्चालित प्रतियोगितामा कडा प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्दै म्याग्नस फर्मा उपाधि हात पार्न सफल भएको हो।
उपाधिसँगै म्याग्नस फर्माले नगद ४१ हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा एनआईसी एसिया टिम उपविजेता बनेको छ। उपविजेता एनआईसी एसियाले नगद २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।
व्यक्तिगत विधातर्फ म्याग्नस फार्माका नोबेल किशोर राई सर्वाधिक गोल गर्दै ‘गोल्डेन बुट’ घोषित भए। उत्कृष्ट गोलकिपरतर्फ एनएमबी बैङ्कका सन्नी हमाल ‘गोल्डेन ग्लोभ्स’ विजेता बने। त्यस्तै, ‘फेयर प्ले अवार्ड’ एभरेष्ट बैङ्कले जितेको आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न बैङ्क तथा व्यावसायिक संस्थाहरूको सहभागिता रहेको थियो। प्रतियोगिता अवधिभर दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो, जसले खेललाई थप रोमाञ्चक बनाएको आयोजकको भनाइ छ।
समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विजेता टोलीलाई धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाले पुरस्कार वितरण गरेका थिए।
धरान राउन्ड टेबल २६ का अध्यक्ष सुमित अग्रवालका अनुसार प्रतियोगिताबाट बचत भएको रकम धरानका विभिन्न सामुदायिक विद्यालयहरूको सहयोगमा खर्च गरिनेछ।
प्रतियोगितामा प्रभु बैङ्क लिमिटेड,एनएमबी बैङ्क लिमिटेड,नबिल बैङ्क लिमिटेड, नेपाल एसबीआई बैङ्क लिमिटेड,म्याग्नस फर्मा प्रालि,एनआईसी एसिया बैङ्क लिमिटेड,एभरेष्ट बैङ्क लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सहभागिता रहेको थियो।
roundtable