इटहरी : इटहरीको पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा बुधवार बिहान आगलागी हुँदा नियन्त्रणमा समस्या आयो । इटहरीमा वारुणयन्त्र नहुँदा छिमेकी पालिकाका वारुणयन्त्र झिकाउनुपर्ने भएपछि समस्या उत्पन्न भयो । करिब डेढ घण्टा निरन्तर आगलागी भएपछि धरान, दुहबी, रामधुनी, सुन्दरहरैँचा र इनरुवाका वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी सुवास हमालका अनुसार निर्माणाधीन अवस्थामा रहेको क्याफेमा वेल्डीङ मेसिनको झिल्को कार्टुनमा सल्किएर आगलागी भएको हो । आगलागी समयमै नियन्त्रणमा लिन सकिने भएपनि वारुणयन्त्र समयमै उपलब्ध नहुँदा समस्या देखिएको बताए ।

यसअघि पूर्वाञ्चल क्याफे नजिकै सब्जी पसलमा आगलागी भयो । त्यसबखत पनि आगालागि नियन्त्रणमा लिन इटहरी उपमहानगरपालिकाको वारुणयन्त्र थिएन । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते इटहरी उपमहानगरपालिकाका तीन वटा वारुणयन्त्रमा आगजनी भएको थियो । त्यसपछि इटहरी उपमहानगरपालिकाले दमकल खरिद गर्ने र थप व्यवस्थापन गर्ने विषयमा कुनै पनि चासो दिएको छैन । वारुण नियन्त्रक कर्मचारी नियुक्ति धमाधम भएपनि वारुणयन्त्र भने व्यवस्थापन गरिएको छैन ।

गत वर्ष चैत १३ गते इटहरीको सेन्ट्रल प्लाजामा आगलागी भयो । पाँच घण्टा लामो प्रयासमा बल्ल आगो नियन्त्रणमा आयो । नेपाली सेनाको हेलिकप्टरबाट प्लाजामा फसेका नागरिकको उद्धार गरियो । आगलागीमा परेको प्लाजा अझैसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

२०७५ सालमा मुख्य चोककै धरान लाइनमा रहेको घरमा पनि आगलागी भयो । इलेकट्रोनिक्स पसलबाट सल्किएको आगो लामो प्रयासपछि मात्र नियन्त्रणमा आयो । मुख्य राजमार्गकै घरमा आगो लाग्दासमेत निभाउन सकस भएको थियो ।

२०७२ सालमा इटहरीकै जनता गल्लीमा भीषण आगलागी भयो। साँघुरो सडकको कारण दमकल आवतजावत गर्न पाएनन् । उपमहानगरपालिका अगाडिकै गल्लीमा लागेको आगो नियन्त्रणमा आउन ४ घण्टा लाग्यो । यहीबिचमा मुख्य बजारमा रामप्रसाद काफ्लेको होलसेल पसलमा लागेको आगो नियन्त्रणमा ल्याउन १२ घण्टा लाग्यो । दमकलले बाहिरबाट पानी छर्किए पनि लामो भवन भएकाले आगो नियन्त्रणमा आउन सकेन ।

इटहरीकै पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्समा आगलागी हुँदा बिग बार रेस्टुरेन्ट जलेर नष्ट भयो । मानवीय क्षति नभए पनि दुई करोडभन्दा बढीको भौतिक क्षति घरधनी र व्यवसायीले बेहोर्नुपर्याे । ठुलाबाहेक स-साना आगलागीका घटना इटहरीमा बारम्बार भइरहन्छन् । आगलागीबाट व्यवसायी र घर धनीलाई प्रत्यक्ष असर पुग्ने गरेको छ । घर पुनः निर्माणमा एकातिर समस्या भइरहेको बेला अर्कातिर भाडावाल पाउनै सकस पर्ने गरेको छ ।

आगलागी भएको भवनका व्यवसाय गर्न नमान्ने भएकाले धेरै समस्या भोग्नुपरेको अनुभव सुनाउँछन् सूर्य कम्प्लेक्सका सञ्चालक नरेन्द्र उप्रेती । घरमा आगो लागेपछि लामो समय मानसिक रूपमा विक्षिप्त हुने मात्र नभई व्यावसायिक रूपमै दीर्घकालीन नोक्सान पर्ने गरेको उनको अनुभव छ ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर उमेश चौधरी नेपालका सहरको मापदण्ड नै नपुगेको बताउँछन् । महानगर, उपमहानगर र नगरपालिका घोषणा हुँदा पनि मापदण्डलाई ख्याल नगरिएको उनको भनाइ छ ।

सहरी योजनाकार समेत रहेका चौधरी हाम्रो सहरी विकासको अवधारणा नै गलत भएको धारणा राख्छन् । उनी भन्छन्, ‘हाइवे बनेको ठाउँमा सहर बन्ने क्रम सुरु भयो । उपयुक्त योजनाबिना बनेका सहरहरू जोखिममा परेका छन् । इटहरीलाई हेरेर पनि यसको बारेमा बुझ्न सकिन्छ । सहरलाई कस्तो सडक र भवन आवश्यक छ, त्यो अनुसार निर्माण गर्नुपर्ने हो, त्यो लागु भएको छैन।’