इटहरी : इटहरी ७ का फागु चौधरीका काठ मिस्त्री हुन् । लकडाउनको कारण काम नपाएपछि घरैमा थन्किएको बताउँछन् उनी ।

कमाइ धमाई नभएपछि खानपान र स्वास्थ्य उपचार उपचारमा समस्या भइरहेको उनी सुनाउँछन् । केही दिन अगाडी उनका भाइको उपचारकै अभावमा मृत्यु भयो । सुगर पीडित उनको उपयुक्त खानपान र औषधि उपचारको अभावमा मृत्यु भएको चौधरी बताउँछन् ।

पैसा नभएरै भाइको मृत्यु भएको स्विकार्छन् उनी । आफूसँग पनि पर्याप्त पैसा नभएको कारण उपचारमा सहयोग गर्न नसकेको उनको भनाई छ । आफ्नै परिवार धान्न समेत मुस्किल भएको उनले सुनाए । ‘हामी मिस्त्री काम गर्नेहरूको रोजीरोटी खोसियो । लकडाउन लागेदेखि काम पाइएको छैन । साहुहरुपनि पाउन गाह्रो भइसक्यो,’ उनले दुखेसो पोखे ।

लकडाउनको समस्याले चौधरी परिवारमा मात्र हैन इटहरी १० का नरबहादुर बिकलाई पनि उस्तै च्यापेको छ । उनी इटहरीमा सफारी चलाउने काम गर्छन् । लकडाउनले बजार बन्द भएसँगै उनको आम्दानीको सम्पूर्ण श्रोत बन्द भयो । दिउसो कमाएर साँझ बिहान टार्ने उनमा लकडाउन अभिशाप नै भयो । ५ जनाको परिवार धान्नै गाह्रो परेको उनी सुनाउँछन् ।

‘एक दिन कमाई नहुँदा खान पाइँदैन । अरूको आसमा कति दिन बाच्नु ? बालबच्चा कसरी पाल्ने कसरी पढाउने ? नगरपालिकाले सुरुमा त चामल दियो तर अहिले कोही पनि नाक मुख देखाउँदैनन् ।,’ अड्किएको स्वर खुलाउँदै उनी भन्छन् ।

‘के गर्नु सर बिजोग छ । बालबच्चा बिरामी हुन्छन् । औषधी किन्ने पैसा छैन । कसैसँग ऋण गरौँ भने यो बेला कसले देला । ठुला साहुकोमा जान कहाँ जानु । डाक्टरले पौष्टिक खुवाउनु भनेको छ । घरमा चामल छैन के खुवाउने होला सर !,’ उनले थपे ।

नरबहादुर जस्ता धेरै मजदुर दोहोरो मारमा परेका छन् । सुखरीया जस्ता धेरै मजदुरहरू उपचार नपाएर मर्नुपर्ने अवस्था सृजना भइरहेको छ । नरबहादुर जस्ता धेरैलाई परिवार पाल्नै समस्या परेको छ ।
खान नपाउने देखी औषधि उपचार गर्न नपाउने समस्या बढ्दै गएका छन् । कोरोना सङ्क्रमण फैलिने भय तिनै मजदुर वर्गमा बढी देखिन्छ । भारतबाट मजदुरी गरेर आउने सङ्क्रमित आफन्त र भोकबाट बच्नु उनीहरूको लागी ठुलो चुनौती रहेको छ ।

उता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले इटहरीका सम्पूर्ण मजदुरको सुरक्षाको लागी उपमहानगरले काम गरिरहेको बताउँछिन् । सुरुमा राहत वितरणमा केही समस्या भए पनि अहिले आफूहरू सँग सम्पूर्ण डाटा रहेकोले राहत वितरण सहज भएको भनाइ छ ।

‘पहिला भोकबाट कसरी बचाउने भन्नेमा केन्द्रित भइयो ।, उनले भनिन्, ‘अब सङ्क्रमण फैलिन नदिन मजदुरहरूको सुरक्षाको लागी उद्योगी व्यवसायी सँग मिलेर काम गर्छौ । अहिले बजेट निमार्णमा सम्पूर्ण ध्यान लगाउनु पर्ने भएकोले व्यवस्थापनमा केही समस्या आइरहेको छ ।’