धरान : भारत र चिनको विदेशी स्याउ मात्रै खादै आएका धरानवासीले यस पटक भदौ सकिनै लाग्दा जुम्लाको स्याउ पनि चाख्न पाएका छन् ।

धरान १३ स्थित कृषि उपज बजार स्थलले जुम्लाका स्याउ किसानसँग सिधै सम्पर्क गरेपछि कृषक स्वयमले जुम्लाबाट स्याउ लिएर कृषि उपज बजारस्थल आइपुगेका हुन् । स्याउ हेर्दा अरू विदेशी स्याउ जस्तो सुन्दर र आकर्षक नदेखिए पनि हेर्दा नै ठुला ठुला दाना र खादा रसिलो जुम्लाको स्याउले धेरै धराने स्याउ पारखीहरूको मन जितेको छ । स्याउ मात्रै होइन धरानमा स्वदेशी आलुलेले मात्रै नथेगिरहेको बेलामा जुम्लाकै आलु पनि स्याउ सँगै आइपुगेपछि दुवै चिजले मज्जाले बजार पाए । 'आलु त सकिनै सकियो स्याउ भने थोरै-थोरै बाँकी छ  कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले भने ।

पूर्वी पहाड तिर पनि आलु र स्याउ नफल्ने होइन । यताको पहाडी क्षेत्रको आलु निकै मिठो हुने भए पनि माग बढी आपूर्ति कम हुने भएकोले पहाडे आलुको नाममा यहाँ भुटानको आलु बिक्री वितरण भइरहेको थियो । तर पहिलो पटक धरान आइपुगेको जुम्लाको आलुले पनि उपभत्ताको रोजाई पाएको व्यवस्थापक भट्टराईले बताए । यता तिरको पहाडको स्याउ राम्रो भरिलो फलेको भए पनि स्वाद भने अमिलो हुन्छ । तर जुम्लाको स्याउ आकारमा पनि ठुलो,रसिलो र स्वादिलो अनि आग्यानिक भएकोले बढी रुचाइएको उनी बताउँछन् ।

जुम्लाबाट आलु अढाई टन, स्याउ अढाई टन पहिलो पटक ४ दिनमा धरान ल्याई पुर्र्याएको थियो थियो । जुम्लाको स्याउ र आलु धरानमा राम्रो रुचाएकोमा जुम्लाका स्याउ किसान खडक केसी पनि खुसी छन् । विगतमा पश्चिमका तराईका बजार नेपालगन्ज र सुर्खेत मात्रै निर्यात गर्दै आएको स्याउ र आलु यस पटक धरान सम्म ल्याईपुर्याउदा यहाँको सम्मान र उपभत्ताको रोजाइमा आफूले उत्पादन गरेको स्याउ र आलु परेको भन्दै स्याउ र आलु निरन्तर ल्याउने स्याउ किसान केसी बताउँछन् ।

कसरी आइपुग्यो जुम्लाको आलु र स्याउ ?
धरान बजारमा भारत र चिनको स्याउले बजार जमाई रहेको बेलामा कृषि उपज बजार स्थलमा धराने उपभोत्तालाई नेपाली स्याउ चखाउन सकिँदैन ? भन्ने विषयमा छलफल भएको थियो ।

छलफलकै क्रममा नेपालकै स्याउ पनि निकै लोकप्रिय छन् कसरी कृषि बजारमा झिकाउने भन्ने भयो । सोही क्रममा जेबी स्टिल एन्ड कम्पनीका जनक बस्नेतसँग कुरा भयो । उनी कामको सिलसिलामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्दा जुम्लाका किसान खडक केसीसँग भेट भएको थियो । बस्नेतकै सम्पर्कका कारण जुम्लाका किसान खडक केसीसँग समन्वय गर्न पाइयो र स्याउ र आलु आयत गर्न सफल भएको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । नेपालको मुस्ताङको स्याउ पनि निकै लोकप्रिय छ । अव आउँदो दिनमा जुम्लाको स्याउ र आलु आयतमा निरन्तरता दिने र मुस्ताङको स्याउ पनि आयत गर्ने पहल कदमी भइरहेको कृषि उपज बजार स्थल धरानले जनाएको छ ।

धरानमा जुम्लाको स्याउको निकै चर्चा चलेपछि अहिले पछिल्लो पटक धरान २ को सब्जी मन्डीमा पनि फलफूल व्यवसायी रामभजन चौधरीले कृषि बजारबाट जुम्लाको स्याउ खरिद गरी बिक्रीका लागि पसलमा राखेका छन् । उनी भन्छन् उपभोक्ताले एक पटक चाखे पछि विदेशी स्याउ खान छोडेर स्वदेशी स्याउ जुम्लाकै स्याउ रुचाउँछन् । अरू विदेशी स्याउको तुलनामा सस्तो पर्ने यो जुम्लाको स्याउ बिस्तारै लोकप्रिय हुने उनी दाबी गर्छन् ।

Jumlas-Apple-1 Jumlas-Apple-3