इटहरी उपमहानगरपालिकाको नेतृत्वकर्ता पार्टी नेकपाले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो बढ्न थालेको छ । तर २० मध्ये १२ वडाको नेतृत्व गरेको नेपाली काँग्रेसले पनि जनताको मुद्दामा प्रभावकारी काम गर्न गर्न सकिरहेको छैन ।

नेपाली काङ्ग्रेसबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार रोहित प्रसाईँ हाल फुर्सदमा छन् । व्यवसायी समेत रहेको प्रसाईँ इटहरीका प्रभावशाली कांग्रेस नेता हुन् । जनताको अपेक्षा अनुसार काम नहुनुमा कसको दोष हो ? जनताको पक्षमा बोल्ने मुद्दाहरू हुँदा पनि काँग्रेस किन मौन छ ? इटहरीका जनताको अपेक्षा र जनप्रतिनिधिको व्यवहार तथा नेपाली काँग्रेसको भूमिका बारे प्रसाईँ सँग विनय बाह्रकोटीले गरेको कुराकानी :

बहुमत वडामा विजयी भएर पनि इटहरी उपमहानगरपालिकामा काँग्रेसको उपस्थिति किन कमजोर भयो ? 

कमजोर छैन । नगर कार्यपालिकामा उठेका विषयहरू टेबलमा बसेर मिलाउने हो । सडकमा आएर उफ्रिएर समस्याको समाधान हुँदैन । जहाँसम्म काँग्रेसका वडाध्यक्षको कुरा छ नेपाली काँग्रेसका जितेका वडाध्यक्षहरूलाई बजेट सिलिङमा नै विभेद गरिएको छ । बजेट तर्जुमा गर्दा नै काँग्रेसका वडाध्यक्षहरू उपेक्षामा परेको महसुस गरेका छन् । काम गर्न नदिने अनि वडाध्यक्षले कामनै गरेनन् भन्न मिल्दैन । कतिपय अवस्थामा वडाध्यक्षहरूले पनि काम गर्ने भेउ नपाउनु भएको होला ।

जनप्रतिनिधि आए लगत्तै सिएफएल बल्ब प्रकरण आयो त्यसमा पनि काँग्रेस मौन भयो । पछिल्ला मुद्दाहरू पनि काँग्रेसले बोक्न सकेन नि  !

यस विषयमा हामीले धेरै पटक उपमहानगरमा घेराउ र धर्ना दियौँ । पछि नेपाली काँग्रेस पार्टी नेतृत्वले आन्दोलनको नेतृत्व गर्ने जिम्मा लिएको थियो । काँग्रेसले यसको खबरदारी गर्नुपर्छ र गर्छ भन्नेमा म विश्वस्त छु । मेयर-उपमेयर लगायत जनप्रतिनिधिले गल्ती गरिरहेको विषयमा हामीले मात्र बोल्नु पर्छ भन्ने छैन । स्वयम् नेकपाले पनि त्यसलाई सच्याउने काम गर्नुपर्छ ।

इटहरी नेकपाको मात्र हैन । जनप्रतिनिधि भएपछि नेकपाको मात्र हुँदैन, इटहरी सबैको साझा हो । यस पटक जनप्रतिनिधिहरू असफल बन्नुभयो भने इटहरी पछाडि पर्छ । त्यसैले म भन्छु वहाँहरू कुन पार्टीको हो त्यो दोस्रो कुरा हो तर इटहरीको पक्षमा भन्नुपर्दा वहाँहरू सफल हुनुपर्छ । असफल हुनुभयो भने त्यसको परिणाम आगामी चुनावमा जनताले देखाउँछन् ।

काँग्रेस कमजोर भएर स्थानीय तहमा खबरदारी कमजोर भएको हो ?

त्यस्तो मलाइ लाग्दैन । हामीले बारम्बार खबरदारी गरिरहेका छौ । लकडाउनको सुरुवातमा राहत दिनको लागी काँग्रेसले नै सुरुवात गरेको हो । तर कतिपय अवस्थामा खबरदारीको निरन्तरता नभएको हुनसक्छ । म अहिले पार्टीमा भूमिका विहीन भएको कारण यसो गरौँ र उसो गरौँ भनेर निर्देशन दिने अवस्थामा छैन । नेतृत्वमा हुने साथीहरूले त्यसमा ध्यान दिन जरुरी भने पक्कै छ ।

कोरोना महामारी नियन्त्रणमा इटहरी उपमहानगरपालिकाको भूमिकालाई कसरी हेरिरहनु भएको छ ?

इटहरी उपमहानगरपालिकाले घर भाडा छुट गरेको महिनाको घर बहाल कर छुट गर्ने निर्णय गर्‍यो भन्ने सुनेको छु त्यो अत्यन्तै सराहनीय कार्य हो । त्यस्तै अरुपनि कार्यहरू भइरहेका होलान् । तर पर्याप्त भने छैनन् । कोरोना महामारीबाट बच्न साबुन पानीले हात धुनुपर्छ भनेर मात्र हुँदैन । जनतालाई साबुन किन्न सक्ने अवस्थाको सृजना समेत गराउनुपर्छ ।

भोकमरीको चपेटामा परेका जनतालाई राहत तथा अल्पकालीन रोजगारीका अवसरहरू सृजना गराउनुपर्छ । नगर क्षेत्र भित्रको विकास निमार्णमा अल्पकालीन रोजगारीका अवसरहरू सृजना गराउन सकिन्छ । त्यतीमात्र हैन गाउँ-गाउँमा स्वास्थ्य उपचार पुर्‍याउनको लागी टोली परिचालन गर्नुपर्‍यो । अहिले कोरोनाले भन्दा पनि अन्य सामान्य रोगको कारण उपचार नपाएर मानिसहरू छटपटाइरहेका छन् । यस्ता सामान्य तर गम्भीर प्रभाव पार्ने काम गर्नुपर्छ ।

नेपाली काँग्रेसको लागी यो अवसर थियो तर कमजोर प्रस्तुति भयो भन्ने लाग्दैन ?

म मेयरको उम्मेदवार थिए । तर अहिले पार्टी नेतृत्वमा म छैन । पार्टीले चाहेन भने मलाई कुनै भूमिका नदिई पनि काम गर्न सक्छ । अहिले भएको पनि त्यही छ । मैले धेरै बोल्न सक्ने अवस्था पनि छैन । काँग्रेसले जनताको भावना बोल्नुपर्छ । त्यो अकाट्य सत्य हो । अहिले म भूमिका विहीन अवस्थामा छु । तर जनताले म सँग धेरै अपेक्षा गरेका छन् भन्ने मलाई थाहा छ । मैले भूमिका खोज्दा अधिवेशनमा खोज्ने हो । अब त्यो समय आउँदै छ । तथापि अहिले सम्म म सँग आएका जनताका समस्यामा म जुधेर अगाडी बढेको छु ।

उद्योग वाणिज्य सङ्घको इटहरीको पूर्व अध्यक्षको हिसाबमा इटहरी उपमहानगरले गर्नुपर्ने कामहरू के-के हुन जस्तो लाग्छ ? 

सर्वप्रथम रोजगारीको अवसर सृजना गर्नुपर्छ । साना तथा मझौला उद्योगमा लगानीको वातावरण सृजना गराउनुपर्छ । कौसी खेती देखी च्याउ उद्योग सम्म अबको प्राथमिकतामा पर्नुपर्छ अर्थात् उत्पादनमा जोड दिनुपर्छ । त्यससङै सहरको सुन्दरता अर्को महत्त्वपूर्ण पाटो हो ।

म उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदा इटहरीलाई प्लास्टिक मुक्त सहर बनाएको थिएँ । हरित नगरी इटहरीको कन्सेप्ट ल्याएका थियौँ । त्यसलाई अहिलेको सरकारले बोकेर हिँड्दा केही बिग्रिँदैन । तर अहिलेको इटहरी सरकार घर नाप्दै र बाटो भत्काउँदै हिडीरहेको छ । सानो सोच र सानो सपना भएका मान्छेहरू नेतृत्वमा पुगेपछि सहर पनि सानै हुन्छ । इटहरीमा ठुलो सपना र पहुँच भएको नेता चाहिएको छ ।

तपाईँले अब आफ्नो राजनैतिक भविष्य चाहिँ कस्ता देख्नु भएको छ ? 

मैले मेरो राजनीति इटहरीकै जनताको सेवामा देखेको छु । म इटहरीका जनताकोलागी राजनीति गरिरहेको छु । तपाईँले भने अनुसार पदको हिसाबमा साथीहरू सँग कुरा गरेर छलफल र परामर्श पछि अगाडी बढ्ने मेरो योजना छ । आगामी अधिवेशनमा सहमतिमा इटहरीको नेतृत्व छनौट गरौँ भन्ने पक्षमा म छु । पदहरू धेरै छन् म पनि कतै न कतै अटाउँछु त्यसमा म ढुक्क छु ।

तपाईँले मेयरको टिकट पाउँदा सडकमा आन्दोलन भयो । पछि तपाई पराजित हुनु भयो । आन्दोलन र पराजयको कुनै सम्बन्ध छ जस्तो लाग्दैन ?

छ । अवश्य छ । चुनावमा ३ खालको मत आउँछ । पहिलो पार्टीको कार्यकर्ताले बफादार मत हुन्छ । दोस्रो उमेद्वारको सामाजिक छवि लाई हेरेर आउने मत  र तेस्रो मत भनेको जित्नेलाई मात्र भोट दिने मत अर्थात् भोट खेर नजाओस् भन्ने मत । यसमध्ये तेस्रो प्रकारको मत समय अनुसार परिवर्तन भयो । पार्टी भित्र आन्तरिक किचलो र लफडा सडकमै देखेपछि जसरी पनि हार्छ बरु भोट खेर नफालौँ भनेर केही मत प्रभावित भए भन्ने लाग्छ ।

यसको मतलब अन्तर्घात भयो ?
भएन । त्यो सोच्न पनि नमिल्ने कुरा हो । निर्वाचनमा होमिएपछि हामी एक भएर लाग्यौ । आन्दोलनमा आउने साथीहरू पनि पार्टीलाई जिताउनुपर्छ भन्ने पक्षमा सबै आउनु भयो । हामीले मनोनयन दर्ता गर्न जाँदा नै त्यसको सङ्केत देखा परिसकेको थियो । तथापि म चुनावमा पराजित भए । तर अहिले पनि जनता र कार्यकर्ताकै पक्षमा काम गरिरहेको छु ।

अन्त्यमा तपाई इटहरीलाई कसरी चिनाउन चाहनुहुन्छ रु इटहरीको पहिचान के हो ? 

इटहरी व्यापारिक केन्द्र हो । यो सम्भावना बोकेको सहर हो । जहाँ व्यापार र व्यवसायको उर्वर क्षेत्र हुन्छ त्यहाँ सम्भावना धेरै हुन्छ । इटहरी प्रदेश १ को राजधानी बन्नुपर्ने थियो । त्यो बनाउन सकिएन । खासमा इटहरीमा योजना र बजेट ल्याउन सक्ने नेतृत्वको अभाव छ ।

इटहरीका राजनैतिक नेतृत्वकोे सपना नै सानो छ । योजनाहरू आफ्नो क्षमता अनुसार आउँछ तर क्षमता भएको नेतृत्व इटहरीले पाउन सकेन । इटहरीको आवश्यकता लाई समेटेर धेरै योजनाहरू बनाउन सकिन्छ । सहयोगका दिनका लागी विभिन्न दातृसंस्थाहरू छन् । तर लिन सक्ने क्षमता र दम हुनुपर्छ । र फेरी पनि भन्छु इटहरीमा ठुलो सपना र पहुँच भएको नेता चाहिएको छ ।