हुन त म त्यस्तो ठुलो, नाम चलेको वा प्रसिद्ध व्यक्ति होइन, न त मेरो नामको अगाडि प्रा., डा., प्रा.डा., ज्ञाता, विश्लेषक, विज्ञ, विद्, वरिष्ठ आदिको फुर्को नै झुन्ड्याइने गरेको छ। तापनि साना ठुला सबै मानिसहरूको जीवनमा अनेक खाले घटनाहरू घटेको हुन्छ ! कुनै स-साना हुन्छन्, कुनै कुनै घटनाहरू भने ठुला, जीवनभर बिर्सिनै नसक्ने र भयङ्कर खालका पनि हुन्छन् । त्यस्तै मेरो जीवनमा पनि एक पटक होइन, अनेकौंपटक, अनेक खालका घटनाहरू घटेका छन् ।

कुरो विसं २०५८ साल कात्तिक-मङ्सिर महिनाको हो । म एक पर्यटन मजदुरको नाताले त्यो वेला ‘सी टु समिट’ नामक ट्रेकिङ एजेन्सीबाट 'किचन ब्वाई' पदमा काम गर्थेँ । पछि गाइड भएर पनि काम गरेँ, मेरो ट्रेकिङ गाइड लाइसेन्स नम्बर-४२४२ ‘ग्रेड ए हो ।’

हाम्रो साथमा १७ जना अस्ट्रेलियन खैरेहरू थिए, हाम्रो गन्तव्य थियो मनाङ जिल्लामा रहेको चुलु पश्चिम चुली। कास्की जिल्लाको बेगनास ताल भएर लमजुङ जिल्लाको खुँदी निक्लिएर भुलुभुले, ङादी, बाहुन डाँडा, घेर्मु, जगत, च्याम्जे, ताल, धारापानी, बगर, लाटा मनाङ, चामे, पिसाङ, हुम्डे, भ्राका हुँदै २९ दिनको तालिका थियो ।

त्यो वेला देशमा माओवादी-सरकारबिच द्धन्द भई रहेको वेला थियो । अहिलेको जस्तो हातहातै मोबाइल त के टेलिफोन लाइनसमेत कताकती मात्रै राख्ने गरिन्थ्यो, त्यो वेला । त्यसैले धारापानी पुगेको दिन आ-आफ्नो परिवारलाई फोन गरे, सबै स्टाफहरूले । मैँले पनि मेरी प्राण प्यारी बिनु लाई फोन गरेँ ।

इमान र जमानका साथ भन्नु पर्दा त्यो वेला यो पङ्क्तिकारमा नेपालका विभिन्न समुदाय, जातजाति, भाषाभाषी, भेषभुषा, धर्म, लिङ्ग, क्षेत्र, भूगोल आदिबारे त्यति धेरै जानकारी थिएन। यो प्रसङ्ग किन उठाएको हो भने, त्यो ट्रेकिङमा न्युजिल्यान्ड भन्ने देशका एक जना अग्ला न अग्ला गोरा 'राई !' पनि आएका थिए । उनलाई नेपालीहरूले बोलाउने नाम नै ‘राई बूढा’ भएको थियो । किनकि, ती बूढाको नामको पछाडि सर नेम (थर/उपथर) 'राई' रहेको थियो । तर, दुःखको कुरो ती ‘गोरा राई बूढा !’ चुलु पश्चिमको हाई क्याम्पमा बिहानको ३/४ बजेतिर मेरै काखमा मरे । आजभोलि जस्तो भए म ती गोरा ‘राई बूढा !’ को पासपोर्टको फोटो कपी गरेर/मागेर जतनसाथ राख्थेँ, उनका बारे फिचर/लेख लेख्थेँ । किनभने, नेपालमा हाल आएर एकथरिले राई जात वा जाति नै हो ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीन पुस्तेमा समेत राई छ’ भन्ने र, अर्काथरिले चाहिँ जात वा जात होइन, विगतमा शासकहरूले स्थानीय स्तरमा किरातीहरुलाई फुटाएर “राई, सुब्बा, मुखिया, देवान चौधराई, गोवा तालुकदार, जिम्मावाल, अमाली, द्घारे, थरी, कारबारी” आदि पदवी वा पगरी मात्रै हो भनेर बहस र छलफल चलाई रहेका छन्।

यसरी ‘गोरा राई बूढा !’को चुलु पश्चिमको हाई क्याम्पमा बिहानको ३/४ बजेतिर मेरै काखमा इह-लीला समाप्त भएपछि उनको लास लिएर हामी बेस क्याम्प झर्यौं । उनको लासलाई हेलिकप्टरबाट काठमाडौँ पठाएर हामी सबै हुम्डे फर्की आयौँ । मौसम खराबीका कारण धेरै दिनसम्म मनाङको हुम्डेमा बसाइ भयो । तत्कालीन शाही नेपाल वायुसेवा निगमको हवाईजहाज त आएन नै । निजी क्षेत्रको हवाईजहाज यति एयरलाइन्स पनि मौसमको खराबीकै कारण ३-४ दिनसम्म आउन सकेन ।

त्यसपछि धेरै जसो खैरेहरूको स्वदेश फर्कने समयभावका कारण पर्खेर बस्न नसक्ने भएपछि महँगै भए तापनि १७ जनाले नै मिलेर हेलिकप्टर चार्टर गरेर काठमाडौँ फर्किए । हुम्डेमा चार दिन लामो बसाई को क्रममा केही दिन २१ पत्ति अर्थात् ‘म्यारिज’ खेल्यौँ । एक दिन खैरेहरूले हामीलाई स्पोन्सर गरेर अङ्ग्रेजी सिनेमा ‘मास्क अफ जोरो’ हेर्न नजिकैको सिनेमा घर !) घरमा लगे । खैरेहरू उडेपछि नेपालीहरू पनि ११ नम्बरको यातायातबाट पैदल हिँड्यौँ । हामी हिँडेको दिन रात-साँझ गरेर म र पेम्बा दाइ ताल आई पुग्यौँ । हिँड्न सक्नेहरू अझ अगाडि गए । बाटामै पेम्बा दाइले ‘आज हामी सिम्पल ठाउँमा बसौँ है भाइ’ भनेका थिए । मैँले पनि उहाँको कुरोमा सहमति जनाएको थिएँ । ताल आइपुगेपछि पेम्बा दाइ सधैँ बस्ने गरेको साधारण होटेलमा बस्यौँ । हामी त्यहाँ पुग्दा अर्कै घरका मालिक एवम् भारतीय सेनाबाट अवकाश प्राप्त गुरुङ थरका एक जना कप्तान पनि दारुपानी लिँदै बसी रहेका रहेछन् । त्यो दिन ती कप्तान भर्खर लमजुङ जिल्लाको सदरमुकाम बेशीसहर पुगेर आएका रहेछन् ।

उनले नेपालको ताजा घटनाक्रम पुरै थाहा पाएझैँ गरी विभिन्न घटनाक्रमहरू भट्याउँदै थिए । खास गरी माओवादीलाई जथाभाबी गालीगलौज गर्दै विभिन्न घटनाक्रम सुनाउँदै थिए । उनी भन्दै थिए “साला माओवादीहरूको समूल नष्ट गर्न लागेको छ, सरकारले । अब यी आतङ्ककारी माओवादीहरूले धर पाउने छैनन् । सारा देश आतंककारीहरुको विरोधमा छ । रुस, चीन, भारत, अमेरिका आदि देशहरूले पनि नेपाललाई सहयोग गर्ने भएका छन् । यो मनाङ जिल्लामा त झन् माओवादी भन्नेहरूको नामो निशाना छैन ! कतैबाट आए भने पनि गाउँका गाउँ मिलेर, बोरामा हालेर मर्स्याङ्दीमा फालिदन्छौं । माओवादी आए/नआएको हेर्न हामीले ठाउँ ठाउँमा मान्छे राखेका छौँ । फेरि यो ठाउँमा माओवादीहरू आए भने भागेर जाने ठाउँ पनि छैन । साला, जो आए पनि यो देशमा बाहुन-क्षेत्रीको रजगज छ ।”

फेरि पनि इमान्दारसाथ र नढाँटीकन भन्नुपर्दा त्यो वेलासम्म मलाई माओवादीका नेता देव गुरुङ मनाङ जिल्लाकै हुन् भन्ने थाहा थिएन । तर, धारापानीभन्दा तल र तालभन्दा माथिको बाटाको दायाँबायाँका ठुला चटटनी पर्खालहरूमा माओवादीहरूले विभिन्न राजनैतिक नाराहरू लेखेको भने आउँदा जाँदा देखेको थिएँ ।

मेरो मनमा खसखस भयो, के गरौँ के गरौँ भयो । ढुङ्गो-मुढो जस्तो नबोली बसी रहन सकिन । कप्तान साबको कुरो सुन्ने पेम्बा दाइ र म मात्रै नभएर ३ जना भारी बोक्ने भरिया साथीहरू, स्थानीय केही मान्छे (केटा) हरू र, होटेल धनी पनि थिए । त्यसै त कप्तान !, त्यसमाथि खुकुरी रमको रन्को ! उनले आफूले जाने बुझेसम्मको अनेक थरी गफको फन्को लाउँदै थिए । कस्तो भने, म आफू भरिया नै भए तापनि राजनीतिमा रुचि भएको मान्छे, त्यसमाथि प्रकाश 'पूअर', प्रकाश राई दीन दुःखी, एमके राई ‘सुब्बा’, तेह्रथुमे जेठा, विहोशी ‘गाउँले’, दीन दुःखी राई, मनि राई, ... आदि नामले जानी नजानी कविता, मुक्तक, गजल, फिचर, लेख, संस्मरण, नियात्रा लेख्ने भएकोले ती कप्तानको अगाडि मुख नखोली टुलुटुलु हेरेर बसी रहन सकिन । मैले सोचेँ 'कप्तान निक्कै बाठा रहेछन् । राजनीति धेरै जाने/बुझेका रहेछन् ! अब यिनीसँग राजनीतिक गफ गर्न बडो मज्जा आउने भो तर, मेरो सोच ठ्याक्के उल्टो भयो । किनभने, जब मैँले कप्तान साबसंँग गफ गर्ने मनसायले “माओवादीहरू त्यति सजिलैसँग कसरी निख्रेलान् र ? अनि सरकारले प्रचण्ड र बाबुरामहरूलाई त्यति सजिलै पक्राउ गर्न सक्छ र ?” भनी नसक्दै कप्तान साबले प्याच्च सोधे, “ए, तँ पनि माओवादी होस् ? मैँले-'होइन, संसारको इतिहास नै त्यस्तै छ । भारतमा पनि त्यतिका विद्रोहीहरू ज्युँका त्युँ छन् ।' भनी भारतमा विद्रोह गरी रहेका जति पनि सङ्घ-सङ्गठनहरू थिए ती सबैको नामहरू बताएँ । उनले फेरि भने-“तँ जस्तै अबुझहरूले गर्दा त यस्तो हुन्छ, देशको हालत ।” मैँले कुरो अन्तै मोड्न “भारतमा बाले कुन-कुन युद्ध लड्नु भयो ?” भनी कप्तान साबलाई प्रश्न गरेँ । तर, मैँले उनलाई च्यालेञ्ज गरे जस्तो लागेछ क्यारे ? कप्तान साबले “ए केटा हो ! पुलिस बोलाव त । पुलिस ....” पो भन्न थाले । “होइन बा, म माओवादी होइन । नपत्याए हेर्नुस् मेरा परिचयपत्रहरू” भनी मसँग भएभरको परिचयपत्रहरू देखाएँ ।

तर, उनले केटाहरूलाई पुलिस बोला भन्न छाडेनन् । उनले पुलिस बोला भन्न नछाडेका मात्रै होइनन्, तिमीहरूले पुलिस नबोलाउने भए म आफै जान्छु भन्न थाले । ती कप्तान त्यसरी माओवादीप्रति बढी नै आक्रामक अथवा भनौँ नकारात्मक हुनुको कारणचाहिँ उनको साक्खै दाजुको छोरीको बुढो अर्थात् भतिजी–ज्वाइँ बागलुङमा भएको माओवादी आक्रमणमा परी मरेका रहेछन् । त्यसैले उनलाई माओवादी भन्ने शब्द सुन्ने बित्तिकै रिसको पारो चढ्ने गरेको रहेछ । त्यसमाथि त्यो दिन कप्तान सा’बलाई खुकुरी रमले झ्याप्पै पारेको थियो । जसको फल अन्ततः मैले भोग्नु पर्‍यो !

कप्तानले मेरो परिचयपत्र हेर्ने बहानामा मसँग भएको नगदमध्ये एक सय झिकेर नजिकै बसेको केटालाई राख्न लगाए अनि भने -“यो पैसाले रक्सी खानुपर्छ ।” त्यो पैसा राख्न ती स्थानीय साथीले मानिरहेका थिएनन् । उनले गुरुङ भाषामा केही भन्दै थिए । मेरो साथमा डायरी पनि थियो । जुन डायरीमा “सरकार-माओवादीबिच वार्ता” भएको मिति, वार्तामा बसेका दुवैतर्फका सदस्यहरू र, सहजकर्ताहरूको नाम पनि टिपेर राखेको थिएँ । त्यो पनि बिबिसी नेपाली सेवा सुनेर । त्यसरी मैले आफ्नो डायरीमा 'सरकार-माओवादीबीच वार्ता' भएको मिति, वार्तामा बसेका दुवैतर्फका सदस्यहरू र, सहजकर्ताहरूको नाम टिपेर राख्नुको कारण भने, त्यो वेला बिबिसी नेपाली सेवाले हरेक हप्ता आफ्ना श्रोताहरूलाई विभिन्न प्रश्नहरू सोध्ने र विजयी घोषित भएका श्रोतालाई पुरस्कार पनि दिने गथ्र्याे । त्यही पुरस्कार र, खास गरी विजेता घोषित मात्रै भए पनि बिबिसी नेपाली सेवाका विश्वभरिका श्रोताहरूमाझ आफ्नो नाम प्रकाश राई ‘दीन दुःखी’ (स्मरण रहोस्, सुरुमा प्रकाश पुअर, अङ्ग्रेजीमा पुअर भन्नाले नेपालीमा गरिब ! भन्ने अर्थमा त्यसपछि २०६१/०६२ सालसम्म म प्रकाश राई ‘दीन दुःखी’ भनेर लेख्थेँ भने, अझपछि खास गरी राई जात वा जाति नभएर पदवी/पगरी मात्रै रहेछ भन्ने बुझे/थाहापछि प्रकाश कुलुङ ‘दीन दुःखी ’, निनामहाङ कुलुङ किरात, निनाम लोवात्ती कुलुङ हुँदै २०६२/०६३ को परिवर्तनपछि र, जातीय स्वपहिचान के हो ? भन्ने सम्बन्धमा प्रस्ट भएपछि नागरिकतामा जे भए तापनि लेख्ने/पढ्ने नाम पनि मातृभाषामा किन नराख्ने ? भनेर हाल निनाम कुलङ ‘मङ्गले’ भनी लेख्दै आएको छु । हुन पनि ‘मगर’ भनेभैं ’कुलुङ’ मेरो जाति हो भने ‘पुन’ भनेभैं ‘लोवात्ती’ मेरो थर हो । ‘राई’चाहिँ काजी, बडाकाजी, चौतरिया, मीर सुब्बा, सुब्बा, जिम्मावाल, मुखिया, दिवान साहब, चौधराई, देवान, खरदार, सरदार, कपरदार, प्रधानन्यायाधीश, न्यायाधीश, मुख्यसचिव, सचिव, प्रधानमन्त्री, मन्त्री आदि भनेभैंm विगतमा हाम्रा पिता/पुर्खाहरूका पनि ठालु र धनीमानीहरुले केन्द्रीय सरकारसँग स्थानीय स्तरमा शासन गर्ने अधिकारका लागि किनेर (निश्चित रकम, ठेकी, बेठी, बेठ-बेगार तिरेर) पाएको पदवी/पगरी मात्रै हो ।) भनी प्रचारप्रसार हुने र, ‘आफू प्रसिद्ध हुने !’ लोभले गर्दा भाग लिने गरिन्थ्यो ।

तर, अति जान्ने सुन्ने कप्तान साबलाई यस्तो कुरो के थाहा ? अतः उनका लागि 'के खोज्छस् कानो आँखो' भनेझैँ भए छु म । किनभने उनले कृष्णबहादुर महराको नामलाई मात्रै कोड गरेर ‘ए, केटा हो सुन्दैनौ ? यो साँच्चैको माओवादी रहेछ, जाओ, छिटो पुलिस बोलाऔँ’ भन्न थाले । छेउमा भएका स्थानीय साथीहरू अभै पनि गुरुङ भाषामा केही भन्दै पुलिस बोलाउन जान मानिरहेका थिएनन् । सायद उनीहरू अभै पनि म प्रति सहानुभूति राख्दै थिए । उता कप्तान साबले मलाई ‘ल तँ माओवादी होइनस् भने आगो छोएर म माओवादी होइन भन् त’ भन्न थाले । मैँले त्यसै गरेँ । किनभने, न म कहिल्यै माओवादी थिएँ, न त म त्यसपछि पनि कहिल्यै माओवादी भएँ । तैपनि ‘पुलिस बोला, ..., तिमीहरू बोलाउँदैनौ भने म आफैँ बोलाउँछु, के हेरिरहेका छन् यी पुलिसहरू ?’ भनेर कप्तान साब कराइरहे । त्यतिखेर तालमा प्रहरीको सबैभन्दा ठुलो मान्छे भनेको हवल्दार रहेछ, सई-असईहरू मनाङ जिल्लाको सदरमुकाम चामे गएका रहेछन् ।

‘आफ्नो ठाउँमा लुते कुकुर पनि ... ’ भन्ने त नेपाली उखान नै छ । त्यसमाथि तालमा कस्तो रहेछ भने, पुलिस मात्रै होइन, त्यहाँको चरो, मुसो, किरा, फट्याङ्ग्रा, ढुङ्गो, माटो, पातपतिङरसमेत कप्तान सा’बको इशारामा नाच्ने ! अतः बिचरा ती निरीह पुलिसहरूले मात्रै के नै गरुन् । त्यसैले त्यहाँ भएका ५-६ जना पुलिसहरू सबै आएर मलाई केरकार गरे । मानौँ म साँच्चै ठुलो आतङ्ककारी नै हुँ ! अझ नेपालको पुलिस न हुन्, उनीहरूले जथाभाबी अपशब्द प्रयोग गर्दै मलाई झाप्पु हान्दै गरे । कोही पुलिस भन्छन्, ‘साला माओवादी, तेरो नेता कृष्णबहादुर महरा मरिसक्यो ।’ कोही प्रश्न गर्छन्, ‘साला मा... र ... को छोरा कहाँ–कहाँको आक्रमणमा भाग लिइस् भन् ?’ मसँग ‘म माओवादी होइन ।’ भन्नुबाहेक अरू जवाफ थिएन । त्यसैले भने, मेरा त्यत्रा परिचयपत्रहरू छन् हेर्नोस्, म माओवादी होइन’ । तर, नेपालका पुलिस न हुन्, उनीहरू मा ... र ... को छोरा ‘बर्ता बोल्छस् ?’ भन्दै झाप्पु र मुक्का प्रहार गरे । यसरी एक जना ‘अजासु’ कप्तान साबको रिसले गर्दा म ‘एकराते माओवादी !’ भएँ । अर्थात् पुलिसहरूले मलाई चारैतिर घेरेर चौकी लगे । अनि मेरो हातखुट्टा बाँधेर रातभरि राखे । मानौँ म ‘बिन लादेन मात्रै होइन, दिन लादेनको बाबु अझ बाजे नै हुँ !’

भाग्यवश राति मलाई कुर्न बसेको पुलिस दाजै अलि बढी नै दयालु रहेछन् ! कहाँ भर्खरै मलाई आमचकारी गाली गर्दै भर्कुने पुलिस, कहाँ न्यानो टोपीसमेत खोजेर मेरो टाउकोमा ओढाई दिने दयालु पुलिस दाजै ? तर, रातभर चलमल गर्न र हलचल गर्न नपाएर ... । त्यसमाथि डोरी हातको नलीहाडमै पर्ने गरी बाँधेछन् । मध्यरातमा आएर केही पुलिसहरू भन्दै थिए -“साला माओवादी, र... को छोरा, अब तँ भोलि बिहान चामे जान्छस् । त्यसपछि देख्छस् तेरो हालत के हुन्छ ? साला मा ... !”

त्यो रात मलाई वास्तवमै साह्रै दुःख लाग्यो । जिन्दगीमा पहिलो पटक मैले मेरी बुढी (श्रीमती) बिनु र छोरी नेराबुङलाई सम्झेँ । छोरो निनामहाङ जन्मी सकेको थिएन । मन थामी नसक्नु भएपछि क्वाँरक्वाँर्ती रोएँ । मेरो सुरक्षाको लागि ड्युटीमा खटेका भगवानरुपी दयालु पुलिस दाँजैले झर्किँदै ‘नरो भाइ, नरो, भोलि बिहान छाडिहाल्छ । उनले कसरी छुट्ने ? भनी आईडा पनि सिकाए । उनले भने, हवल्दारसा’बलाई रक्सी खाएको सुरमा के–के बोलेछु, के के ? त्यसैले एकचोटिलाई माफ पाउँ ! भन अनि छोडिदिन्छ ।’ मैँले पनि त्यही सोचिरहेको थिएँ । तर, ‘रातभर हातको नली–हाड दुखेर सहनै सकिन, त्यसैले बिचबिचमा दयालु पुलिस दाजैलाई खोल्दिनोस् न ... भन्छु’, बिचरा ती पुलिस दराजैको पनि आफ्नो कैदीबन्दीलाई सहयोग गर्ने सीमा होला । फेरि दया, माया र ... भएर मात्रै भएन, उनको पनि जागिरको सवाल छ । त्यसैले त घरीघरीको मेरो अनुरोधलाई लत्त्याउँदै र रिसाउँदै भन्छन्, ‘नकरा है नकरा, मैँले तिम्रो लागि गर्न मिल्ने र सक्ने जति सबै गरिसकेँ ।’

जसोतसो बिहान भयो । मैले मुत्न (पिसाब फेर्न) जान्छु, प्लिज खोल्दिनु न दाइ ! भनी आग्रह गरेँ । अर्कोचाहिँ पुलिसले साला माओवादीलाई खोल्दे भनेर आदेश दिएपछि बल्ल मेरो हात–खुट्टाको डोरी खोले । त्यसपछि पुलिसहरू, गाउँलेहरू र कप्तान बिहानै भेला भए । पुलिसहरू र, कप्तानले फेरि पनि मेरो डायरी र परिचयपत्र चेक गरे जस्तो गरे । र, त्यो कृष्णबहादुर महराको नाम किन ? लेखेको भनी पुनः हबल्दारले सोधे । मैँले बिबिसीले हरेक हप्ता सोध्ने प्रश्नमा सोधेको थियो त्यसैले ... मात्र के भनेको थिएँ- ‘साला ! र...डीको छोरो, मा....ने भन्दै फेरि एक थप्पड हान्यो ।’

जे होस्, त्यसपछि हवल्दारले कप्तानलाई बाहिर लिएर गए । भित्र आएपछि हवल्दारले ५ सय रुपैयाँ क्लबलाई चन्दा सहयोग दिने गरी कागज गरेर छाड्नु, साला माओवादीलाई ! भनी घोषणा गरे । बूढो कप्तानले पनि लोलीमा बोली मिलाउँदै ‘मैँले त नागरिकले सरकारलाई गर्ने सहयोग गरेको हुँ । तर, यसको साथमा माओवादी भएको प्रमाण केही रहेन छ । नत्र यसलाई न त चामे जान दिन्थेँ, न त छोड्न दिन्थेँ । बोरामा हालेर मर्स्याङ्दीमा हालिदिन्थेँ ।’ भनी आफ्नो जिन्दगीमा ठुलै सुकाम गरेभैं स्वघोषणा गरे ।

त्यसपछि मैले रक्सी खाएर होहल्ला गरेकाले अनुसन्धान गरी छाडिएको आदि–आदि भन्ने ब्यहोराको पत्र लेखी सही गराएर छाडे । त्यही बेला पेम्बा दाइले ‘कहाँ यो जस्तो राम्रो मान्छे छैन, जाँडरक्सी नै खाँदैन’ पो भन्न थाले । मैँले हत्तपत्त आँखा झिम्क्याएर ‘त्यही हिजो तपाईँ अगाडि हिँड्दा मालिङ्गो घारीमा दुई गिलास खाएको थिएँ’ भनेर चलाखी गरेँ । त्यस्तो ‘चलाखी’ नगरेको भए यो माओवादी नै रहेछ ! भनेर नछाड्न सक्थ्यो । जुन कुरो पेम्बा दाइलाई अलि तल आएपछि भनेँ ।

यसरी एक जना ‘अजासु’ कप्तान साबको रिसले गर्दा जिन्दगीमा मैले ‘एकराते माओवादी !’ त्यो पनि नक्कली माओवादी भएर कठ्याङ्ग्रिँदो रात कटाएँ ।