धरान १ का ६० बर्षीय समाजसेवी राजिव हलवाईलाई धरानमा हाइकिङ बाबा पनि भनेर चिनिन्छ । यसको प्रमुख कारण हो, उनले धरानमा शुरुवात गरेको हाइकिङ अर्थात पदयात्रा अभियान । धरानमा हरेक शनिबार बिहानै ठिक ६ बजे पदयात्रा हुन्छ ।

सेवक अभियान नामको संस्थाले २०७४ भदौं ३१ गतेबाट वाक फर हेल्थ(स्वास्थ्यको लागि पदयात्रा) नारा दिएर पदयात्रा अभियानको शुरुवात भएको थियो । यो अभियानले शनिबार(साउन २५ गते) १०० औं हप्ता पुरा हुदैछ । शताब्दी पदयात्राको वृहत तयारीमा जुटेको सेवक अभियानका अध्यक्ष राजिव हलवाईसँग कपुरीन्यूजले गरेको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ :

प्रश्न: अहिले के गर्दै हुनुहुन्छ ?
उत्तर: अहिले शताब्दी(१०० औं) पदयात्राको तयारीमा जुटेका छौं, यसैमा ब्यस्त छुँ ।

प्रश्न: यो कस्तो पदयात्रा हो ?
उत्तर: यो जनचेतनामुलक, जनतालाई जागरण पैदा गराउने पदयात्रा हो ।

प्रश्न: कसरी जनचेतना हुन्छ ?
उत्तर: मान्छे स्वास्थ्य हुनुपर्छ, स्वाथ्यभन्दा ठुलो कुरा केही होइन । स्वास्थ्य नभै केही गर्न सकिदैन, मान्छे अगाडि बढ्दैन, सफलता प्राप्त गर्दैन भन्ने जनचेतना जगाउने काम हुन्छ ।

प्रश्न: पदयात्रामा हिड्ने मात्र काम हुुन्छ वा अन्य केही हुन्छ ?
उत्तरः स्वास्थ्य हुनुपर्छ भनेर चेतना पैmलाउने मुख्य काम हुन्छ । पदयात्रामा स्वास्थ्य, पर्यटन, वातावरण र आहार(पोषण)का विज्ञहरु पनि लैजान्छौं । उहाँहरुले आफ्नो विज्ञता प्रस्तुत गर्नुहुन्छ । हाम्रो पदयत्रामा जे पायो त्यही खान दिदैनौं । बीचमा एप्पल ब्रेक हुन्छ । फलफुल र पानी मात्र बोक्छन्, स्याउ अनिवार्य हुन्छ र ब्रेकमा त्यही खान्छन् ।

प्रश्न: अहिलेसम्मको पदयात्राको अनुभव कस्तो रह्यो ?
उत्तर: अहिलेसम्म हरेक पदयात्रा रोमाञ्चक र सफल भएको छ । पदयात्रामा प्रदेशको सभामुख, मन्त्री र संसदहरु हिडिसक्नु भएको छ । केन्द्रीय सरकारका पुर्वमन्त्री ज्यू पनि हिडिसक्नुभएको छ । धरान पर्यटकीय गन्तव्यको लागि धेरै महत्वपुर्ण र उत्कृष्ट रहेछ । ती सुन्दर ठाउँहरु देखाउन नसक्दा ओझेल छ भन्ने थाह पायौं ।

hiking1

प्रश्न: ओझेलमा परेका ती गन्तव्य, ठाउँहरुलाई कसरी उजागर गर्न सकिन्छ ? तपाईहरुले के गर्नुभयो ?
उत्तर: हामीले पदयात्राको माध्यमबाट ती गन्तव्यहरुमा मानिसहरुलाई पुर्याइरहेका छौं । नयाँ नयाँ रुट र ठाउँहरुबारे पदयात्रामा जानेहरुले थाह पाएका छन्, र विभिन्न माध्यमबाट प्रचार भएको छ । त्यसपछि अरुहरु पनि जान थालेका छन्, पर्यटन प्रर्वद्धन पनि भएको छ ।

प्रश्न: तपाईहरुले कति पदयात्राको रुट बनाउनु भएको छ ?
उत्तर: हामीले शुरुमा ५२ वटा रुट तयार गरेका थियौ । एक बर्षसम्म हामी त्यही रुटमा हिड्यौं, कहिले पनि दोहोरिएन । फेरि, अरु रुट पनि थपियौं, गन्तव्य एउटा भए पनि अलग अलग बाटोबाट हिडेका छौं ।

प्रश्न: पदयात्रा कहाँ कहाँ भयो ?
उत्तर: हामी धेरै ठाउँमा पुगिसकेका छौं, कति ठाउँमा पुग्यौं भन्ने गिन्ती नै छैन । मोरङको केराबारी हुदै जेफाले पुग्यौं । उदयपुरको भुतिया दह पुग्यौं । हिडेरै विष्णुपादुकाको लामपाते झरना, उदयपुरको भुतिया दह, घुस्कुटे जंगलको यात्रा गर्यौं । अमाह सिमसार, साँगुरीगढी, नाम्जे पनि हिडेरै गयौं । जेफाले पनि पुग्यौं । सुनसरीको प्रायः सबै ठाउँहहरुमा पुगिसकेका छौं ।

प्रश्न: पदयात्रालाई पर्यटन विकाससँग कसरी जोड्न सकिन्छ ?
उत्तर: धरानमा बाह्य पर्यटकहरु आएर बास बसेका हुन्छन् । इच्छुक पर्यटकहरुलाई गाइड गरेर पदयात्रामा लैजान सक्छौं । इच्छुक पर्यटकहरुलाई हामी निःशुल्क गाइड सेवा दिन तयार छौं । पर्यटकहरुलाई धार्मिक, ऐतिहासिक पर्यटकीय गन्तव्यहरुमा लैजान्छौं ।

प्रश्नः यसको लागि पहल भएको छ कि छैन ?
उत्तर: हामीले होटल व्यवसायीहरुसँग समन्वय गरेका छौं । उहाँहरुले हुन्छ पनि भनेको हो, तर कार्यान्वयन भएको छैन । यो योजनालाई कार्यान्वयन गर्ने प्रयत्न गरिरहेका छौं ।

प्रश्न: तपाई अध्यक्ष भएको सेवक अभियान कस्तो संस्था हो ?
उत्तर: सेवक अभियान सामाजिक संस्था हो । अपांग, अनाथ, अशक्त र असहाय व्यक्तिहरुलाई यो संस्थाले सहयोग गर्छ, र संस्थाको मुख्य अभियान रोगमुक्त समाज बनाउने हो । संस्थाको नारा औषधीमुक्त शरीर, रोगमुक्त समाजको नारा छ । त्यसको लागि स्वस्थ्य, स्वच्छ समाज आवश्यक पर्छ ।

प्रश्न: सयौं पदयात्रा कस्तो होला ?
उत्तर: प्रदेश नं १ लाई नयाँ सन्देश दिन्छ भन्ने आशा छ । हिड्नु नै सबैभन्दा सजिलो र सरल व्यायाम हो भन्ने वृहत सन्देश पुग्छ । शताब्दी पदयात्रा भएकोले वृहतरुपमा आयोजना हुनेछ । हामी पाहुनालाई स्याउ र पानी दिन्छौं, केही अतिथिहरुलाई टिसर्ट र टोपी पनि दिन्छौं ।

walk-for-health2

प्रश्न: सयौं पदयात्रा कहाँ लैजाने तयारी हो ?
उत्तर: धार्मिक, ऐतिहासिक, पौराणिकदृष्टिले महत्वपुर्ण रहेको विजयपुर क्षेत्रमा गर्दैछौं । यो पदयात्रालाई विजयपुर ट्रेल(परिक्रमा) भनेका छौं । विजयपुरमा भएका सम्पुर्ण भौगोलिक, ऐेतिहासिक ठाउँहरु देख्न पाइन्नेछ । यो रुट ९.३ किलोमिटरको र ३ घण्टाको अवधिको यात्रा हुनेछ ।

प्रश्न: पदयात्राको भविष्य के होला ?
उत्तर: पदयात्रालाई निरन्तरता नै दिन्छौं । दीर्घकालिन योजना बनाएर नै पदयात्रालाई व्यवस्थितढंगले अघि बढाउछौं, रोक्दैनौं ।

प्रश्न: तपाई त निर्माण व्यवसायी मान्छे, पदयात्रासँग कसरी जोडिनु भयो ?
उत्तर: मेरो बुबा बालकृष्ण हलवाई पनि समाजसेवी हुनुहुन्छ । उहाँबाट पनि प्रभावित भएको छुँ । पहिला व्यवसायी थिए, उमेर ढल्कदै गयो । समाजप्रतिको जिम्मेवारी पनि महसुस भयो, र समाजसेवातर्फ मोडिए । त्यसैक्रममा सेवक अभियान हुदै पदयात्रामा जोडिन पुगे ।

प्रश्न: पदयात्रासँग जोडिएको तपाईको अविष्मरणीय क्षण केही छ ?
उत्तर: सयौं पदयात्रा गर्ने म एक मात्र व्यक्ति हुँ । अविष्मणरीय क्षणको कुरा गर्दा पदयात्रा चाडपर्वमा पनि हामीले रोकेनौं । २०७४ को दशैंको टिका र तिहारको भाइटिका पनि शनिबार नै परेको थियो । २०७५ सालको बैशाख १ गते पनि शनिबार नै परेको थियो । मेरो घरको देवाली, आमाको श्राद्ध र मलाई सम्मान गर्ने कार्यक्रम पनि शनिबार नै पारेको थियो । तरपनि म निरन्तर पदयात्रामा गए, ती सबैलाई त्यागेर । घरबाट केही भनेको छैन, सबैले साथ दिएका छन् ।