धर्म आस्था कि व्यापार ? भनेर कसैले प्रश्न गर्यो भने निश्चित रुपले आस्था नै हो भन्ने जवाफ आउँछ । धर्म बिश्वास पनि हो । धर्मका नाममा विश्वमा कयौ युद्ध पनि भएका छन् । सबै धर्मका आ–आफ्ना मुल्यमान्यताहरु छन् । सबै धर्मले विश्वमा शान्तिको कामना गर्दछन् । धर्म मान्ने र बिश्वास गर्ने मानिसको आ–आफ्ना तौरतरिरकाहरु पनि छन् ।
विश्वमा धर्मप्रतिको आस्थालाई हेर्ने हो भने हिन्दु, मुस्लमान, सिख, इसाई धर्म लगायतका सबै धर्मको आ–आफ्नो नियम र तरिकाहरु छन् । नेपाल धर्मनिरिपेक्ष राष्ट्र भए पनि यहाँ हिन्दु धर्मको बाहुल्यता रहेको छ । हिन्दु सनातन धर्म भनिने अधिकांश नेपालीको आस्थाको, बिश्वासको केन्द्र हो । नेपाल मात्र नभएर छिमेकी मुलुक भारत पनि हिन्दुहरुको बाहुल्यता रहेको देश हो । नेपाल भारतका अधिकांश चाडपर्वहरु मेल खान्छन् । कतिपय सँस्कार भारतबाट पनि नेपालमा भित्रिएका छन् । यति भनिरहदाँ धर्मलाई परापुर्वकालमा एउटा सँस्कार, नियम र आस्थाको रुपमा हेरिन्थ्यो ।
कुनै किसिमको गल्ति वा समाजलाई नकारात्मक असर पर्ने कार्य गरेमा भगवानले सजाय दिने वा कुनै पुण्यको काम गरेमा भगवानले वरदान दिने भनि धर्मलाई मान्ने चलन रहेको विश्वास गरिने गरेको वृद्धवद्धाहरु बताउँछन् । सत्य युगमा भएका भगवानहरुको लिला अहिले पनि विभिन्न स्थानहरुमा देख्न वा सुन्न पाईन्छ ।
भगवान के दान दिदा मात्रै खुशी हुन्छन् ?
नेपालमा त्यस्ता अनेकौं स्थानहरु छन्, जहाँ सत्ययुगमा भगवानहरुको बास रहेको थियो वा कुनै न कुनै क्रियाकलाप भएको थियो । नेपालीले भगवानलाई मान्ने वा आस्था राख्ने भगवानको नाममा ठुलो संख्यामा दान दिने जस्ता काम दैनिक जसो हुन्छन् । भगवानलाई मान्न मन भित्रबाट आस्था राख्दा हुन्छ भन्ने एउटा जमात छ भने दानदिने पुण्य कमाउने अर्को जमात छ । यहाँ कसैको सपोर्ट वा बिरोध गर्न खोजेको भने पक्कै होइन, तर पछिल्लो समय धर्मको नाममा दान दिने चलनले विकृति मौलाउदै गएको छ ।
पुर्वी नेपालको पछिल्लो केहि समयलाई हेर्ने हो भने दैनिक जसो भागवत पुराण हुने गरेको छ । कहिले सस्ंथाको नाममा त कहिले सुखशान्तिको नाममा अनि लाखौको चन्दा संकल्न हुन्छ । न त्यसको हिसाब हुन्छ, न कुनै आयकर हुन्छ, न त राज्यलाई फाईदा । लाखौंको लगानीमा पुराणको आयोजना हुन्छ, कुनै निश्चित वर्गले त्यसको भरपुर फाईदा लिन्छन् । पहिले पहिले पितृहरुको आत्माको शान्तिको लागी भागवत पुराण लगाईन्थ्यो तर आजभोली कुनै सस्थाको भवन निमार्ण गर्न, व्यक्तिगत स्वार्थ पुरागर्न जस्ता कारण पुराण लगाईन्छ । यहाँ आस्था भन्दा व्यापार बढी हुदै गएको आम मानिसले आभाष गरेका छन्, तर बोल्न सक्दैनन् ।
पुराणमा दानदिदा पुण्य कमाइन्छ, भगवानले बरदान दिन्छन जस्ता कुराहरुको विश्वासमा मानिसहरु दान दिईरहेका छन् । हालै मात्र चतरामा ठुलो यज्ञको आयोजना भई रहेको छ । त्यसको प्रचार र महत्वको बारे बजार, चोक, गल्लिगल्लिमा व्यानर, प्रचारहरु राखिएको छ । नेपालको सम्माननिय राष्ट्रपति बिद्यादेवि भण्डारीले यज्ञको उद्घाटन समेत गर्नुभयो ।
आयोजकका अनसार करिब १८ करोडको लगानीमा यज्ञको आयोजना भएको छ । ठुलो धनराशीको खर्च गरेर गरिएको यज्ञको उपलब्धि के हो, प्रत्यक्ष केही देखिदैन । चतराको विकासमा खर्च हुन्छ भन्ने हो भने पनि त्यत्रो धनराशिको श्रोत के हो ? कसैले सोधी खोजी गर्ने प्रयास समेत गरेका छैनन् ।
भगवानका एजेन्टहरुको व्यवसाय
यज्ञ गर्ने भगवानप्रति आस्था राख्ने सबैले गर्नुपर्छ तर उत्पादन नहुने क्षेत्रमा भएको यत्रो ठुलो धनराशी केवल कसैको लागि कमाउने माध्यम मात्र हो भन्ने बुझ्न कुनै गाह्रो बिषय रहेन । भगवानको सृष्टिमा विश्वास गर्ने हो भने भगवान आफैले मलाई यो चाहिन्छ वा त्यो चाहिन्छ भन्ने माग सायदै राख्दैनन् तर त्यसको गलत फाईदा लिने भगवनका एजेन्टहरुले त्यसको माग गरेका हुन्छन् ।
भगवानको डर उत्पन्न गरेर बिभिन्न भगवानको नाममा स्थापना हुने मन्दिर, धर्मपिठहरु केवल कुनै निश्चित व्यक्तिको कमाईखाने माध्यम मात्र हो भन्ने सबैले बुझेका पनि छन् तर धर्म डरले कसैले बोल्न सकेका छैनन् । देशका ठुला वा बौद्धिक भनिने व्यक्तिहरु पनि त्यो बिषयमा जानकार छन् तर बोल्न चाहदैनन् । धर्मको सबैमा आस्था हुनुपर्छ
धर्मप्रति सबैको आस्था हुन्छ, जुनसुकै धर्म होस् त्यसको आफ्नो छुटै महत्व हुन्छ । भगवानले सबैलाई एकै प्रकारले हेरेका हुन्छन । मानिसको कर्मले फल प्राप्त गर्ने भएको कारण धेरै दिने वा थोरै दिने सायद भगवानको खेल होइन । सबैले आस्था राखेर सकारात्मक सोचको बिकास गरेर कर्म गर्ने हो भने त्यसको फल पनि सकारात्मक नै हुन्छ । तसर्थ भगवानलाई सबैले आस्था राख्नु पर्छ, डराउने होइन ।