इटहरी : जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका लागि छुट्टाछुट्टै छात्रावास निर्माण सुरु गरिएको छ। छात्रावासको शनिबार क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसी ले शिलान्यास गरेका हुन्।
झन्डै पाँच करोड रुपैयाँ लागतमा निर्माण हुने छात्रावासका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट विनियोजन गरेको छ। पहिलो किस्तामा १ करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै शिलान्यास गरी निर्माण कार्य सुरु गरिएको हो।
क्याम्पस अध्यक्ष केसीले विद्यार्थीहरूको शैक्षिक अभिवृद्धि गर्ने विभिन्न योजनामध्ये छात्रावासलाई महत्त्वपूर्ण पक्षका रूपमा लिइएको बताए।बहुवर्षीय योजना अन्तर्गत पहिलो चरणमा छात्र र छात्राका लागि छुट्टाछुट्टै एकतले भवनमा १४–१४ वटा कोठा निर्माण गरिनेछ। निर्माणको ठेक्का चारुमति कन्स्ट्रक्सन प्रालि ले पाएको छ। ठेकेदार जीवन तिम्सिना का अनुसार पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ।
सम्पूर्ण योजना अन्तर्गत निर्माण हुने छात्रावास तीन तले हुनेछ। छात्रावास निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला र मधेस प्रदेशबाट आउने विद्यार्थीलाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुने क्याम्पस सञ्चालक समिति शैक्षिक अनुगमन तथा सुपरिवेक्षण समितिका संयोजक शिवराज दाहाल ले बताए।
क्याम्पस प्रमुख प्राध्यापक डा. गीता अधिकारी ले विशेषगरी दुर्गम तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई शिक्षामा पहुँच पुर्याउन छात्रावास उपयोगी हुने बताइन्। छात्रावास सञ्चालनमा आएपछि विद्यार्थीको नियमित उपस्थिति र अध्ययनमा निरन्तरता बढ्ने सहायक क्याम्पस प्रमुख सञ्जीव यादव ले बताए।
पछिल्लो समय क्याम्पसले विद्यार्थीका लागि सात वटा बस सेवा सञ्चालन गर्दै आएको छ। बसमार्फत सुनसरीको वराहक्षेत्र, दुहबी, इनरुवा तथा मोरङको विराटचोकसम्मका विद्यार्थीलाई निःशुल्क सेवा प्रदान गरिँदै आएको छ।
यसअघि क्याम्पसले भारतका बाबा मस्त नाथ विश्वविद्यालय र श्री जे जे टी विश्वविद्यालय सँग शैक्षिक सहकार्य सम्झौता गरेको थियो। सो सम्झौतापछि पुस ५ र ६ गते दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन समेत आयोजना गरिएको थियो।
विश्वविद्यालय अनुदान आयोग नेपाल बाट गुणस्तर सुनिश्चितता प्रत्यायोजन प्रमाणपत्र प्राप्त उक्त क्याम्पसमा स्नातकतर्फ बीएड, बीबीएस, बीए, बीआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएड र एमबीएस कार्यक्रम सञ्चालनमा छन्। साथै कक्षा ११ र १२ का कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन्। हाल क्याम्पसमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।































































