• राजेन्द्र खनाल ‘क्षितिज’

अस्ती शनिश्चरबार मैले सबै कालो गगल्सहरु निकालेर सफा गरे, अनि यसो गनेको त सत्र वटा पो रहेछ । विभिन्न ब्राण्डका रेवन, गुची, एभियटर, पोलिस आदि । कोही पोलोराइज्ड, कोही फोल्डिङ्ग चस्मा, नाइट भिजन, चेन्जेबल, पुरै कालो देखिने आदि आदि । यो कालो गगल्स लगाउने अनि गगल्सहरु जम्मा पार्ने मेरो शोख पनि हो । 

म प्रायः बाहिर हिँड्दा, कालो गगल्स कहिले छुटाउँदिन, र मेरो घाँटीमा सधैँ बाहिर नै झुण्डिरहने चाँदीको सिक्री र त्यसैमा उनिएको बाह्रमुखे रुद्राक्ष कै ठाउँमा प्रायः गगल्स झुण्डाउने गर्छु । अचेल अधिकांश सबैले कालो गगल्स लगाउने गरेको देखेको छु । 

अझ फोटो खिच्ने बेलामा त फोटो खिच्नेलाई अत्याएर नै भन्छन्, ए पख्नुस् त, पख्नुस् । अनि महिला छन् भने ब्यागबाट कालो गगल्स निकालेर चट्ट लाउँछन्, अनि पुरुष छन् भने कोट, वा ज्याकेटबाट कालो गगल्स निकालेर लाउँछन् अनि पोज दिन थाल्छन् । अगि सम्म धपधप बलिरहेका ती आँखालाई कालो गगल्सले ढपक्क ढाकेर पुरै पोत्दा खै के पो राम्रो भयो होला ? 

अस्तीमात्र बत्तिस पुतलीको अनुपम पार्टी प्यालेसमा एउटा आफन्तकै कार्यक्रममा निम्तो पाएर गएको थिए, भित्र हलमा राती एकहुल महिलाहरू फोटो खिच्दै थिए, सबै मेरै नातागोता नै थिए । एकजना साली पर्नेले परैबाट मलाई देखिन अनि बोलाइन, र भनिन, भिनाजु हाम्रो फोटो खिचिदिनुन । अनि मलाइ उनले मोबाइल थमाइ हालिन । 

म फोटो खिच्न के आटेको थिए, सबै कराउन थाले, कोही एकछिन भिनाजु, कोही एकछिन अङ्कल, अनि कोही एकछिन मामा भन्न थाले । अनि सबैले टेबलमा राखेको ब्यागबाट कालो गगल्स निकाले, अनि आँखामा लगाउँदै स्टायल दिन थाले । एकजना नातेदार बुहारीले ल्याउन बिर्षिछिन क्यार, अनि मेरो कोटको माथिल्लो गोजीमा हेर्दै भनिन, अङ्कल हजुरको गग एकपल्ट दिनुन, मैले कोटको माथिल्लो गोजीमा राखेको गग दिए, खुसी हुँदै लगाइन र भनिन, कस्तो राम्रो रहेछ । 

मैले पनि भने यो राती नै लाउने चस्मा हो, पोलोराइज्ड नाइट भिजन । म फोटाहरू खिच्न व्यस्त भए, उनीहरू पोज दिइरहेका थिए । तर आँखा चैँ पुरै कालो चस्माले ढाकिएका थिए । मलाई भने त्यो राती त्यसरी कालो चस्मा लगाएर सुन्दर आँखा छोपेको पटक्कै मन परेको थिएन । 

समूहको फोटो सेसन सकियो, अनि दुई वटी सालीले पोज दिँदै भने, भिनाजु हाम्रो एउटा एउटा सिङ्गल खिचिदिनुन । दुबै सालीहरूको दुई दईवटा सिङ्गल पनि खिचिदिए, अनि आएर टेबलमा बसेर यसो वाइन चुस्की लगाउन थाले । दुवै सालीहरू म बसेको टेबलमा आए, अनि कालो गगल्स ढल्काउदै एकजना सालीले भनिन, कस्तो देखिएको छ त भिनाजु मलाई ? 

अर्की सालीले थपिन, तँलाई त झकास देखिएको छ, कस्तो सुहाएको, कति राम्री देखिएकी । फेरि सालीले भनिन, तँलाई सोधेको होइन, किन परपर्ती बोल्छेस्, मैले त हाम्रो ह्यांण्डसम भिनाजुलाई पो सोधेको । परेन आपद्, नराम्रो भनौँ आफ्नै सालीहरू, त्यो पनि भिनाजुले नराम्रो त भन्ने कुरै भएन । फेरी ह्याण्डसम भिनाजु भनेकी छिन । 

राम्रो भनौँ त्यो झलमल्ल बत्ती बलेको रातीको बेला लगाएको कालो गगल्समा के चैँ राम्रो भन्नु ? मैले उनीहरूको ती सुन्दर आँखा नै देखिरहेको थिइन, आँखाभरि अलकत्रोले पोतेजस्तो लागिरहेको थियो । मलाई भित्रैदेखी अटस मटस भइरहेको थियो । साँच्चै भन्नुपर्दा दुवै सालीहरू पटक्कै राम्रो देखिरहेको थिइन । मैले न्याउरो सोरमा राम्रो देखिएको छ मात्र भने ।

अनि छेउमै भएको कुर्सी तान्दै भने, लौ यहाँ बस, दुवै सालीहरू बसे । अनि भन्न थाले, हेर सालीश्रीहरु, तिमीहरू दुबै जना प्राकृतिक रूपमै अति राम्रा छौ । दुवै गहुंगोरी छौ, जीउडाल पनि राम्रो छ, धना केशले अझ सौन्दर्य थपेको छ, मोतीझै चम्किएका अनारदाना दंतपंक्ती छन्, मुस्कानले तिमीहरूले लगाएको गहनाहरू फिका परेका छन् । 

यति राम्रा ठुला ठुला मृग नयनहरू छन्, तिमीहरू नबोलीकन बसे पनि आँखाहरू बोलिरहेका छन् । त्यस्ता बोलीरहेका आँखालाई कालो चस्माले ढाकिदिँदा, आफै भन त, के तिमीहरू सुन्दर देखिन्छौ ? ती बोल्न आँटेका आँखाहरू फोटोमा देखिदा पो मान्छे सुन्दर देखिन्छन । प्रकृतिले दिएका ती सुन्दर जोडी आँखा त बरदान नै हुन नि । 

म पनि कालो गगल्स लाउँछु, तर यो लाउने भनेको पनि एउटा समय हुन्छ, जस्तै बाहिर हिडदा घाममा वा धुलो धुवाँबाट आँखालाई बचाउन । यो राती, यो हल भित्र, बिजुली बत्ती झलमल्ल बलेको ठाउँ चैँ पक्कै पनि उपयुक्त ठाउँ होइन होला यो कालो गगल्स लगाउनलाई । 

तिमीहरू एकपल्ट यो गगल्स खोल त भनेर मैले दुवै सालीहरूलाई भने, दुवैले खोले, अनि मैले भने । ल हेर, अगिका तिमीहरू र अहिलेका तिमीहरूमा आकाश पाताल फरक भयो । अगि तिमीहरूले कालो गगल्स लगाउँदा, मैले तिमीहरूलाई पढ्न सकेको थिइन, तर अहिले म तिमीहरूलाई बझ्न सक्छु । ती आँखाहरू झलझल बलेका छन्, आंफै बोलीरहेका छन् । 

तिमी र म नबोले पनि आँखाको हाउंभाउले संवाद आदान प्रदान गर्न सकिन्छ । जब तिमी हाँस्छौ, तिम्रो मुस्कान र आँखाको गहिरो सम्बन्ध हुन्छ, अनि त्यो हेराई र मुस्कानको मिश्रण नै सुन्दरताको प्रतिबिम्ब सामुन्ने देखिन्छ । त्यसैले ती बरदान स्वरूप पाएका सुन्दर नयनहरूलाई क्या कालो गगल्सले यो रातको समयमा, अनि यो खचाखच भएको हलमा नढाकिदेउ । 

दुवै सालीहरू एकछिन मेरा कुरा सुनेर टोलाईरहे । दुवैले आफ्नो कालो गगल्स ब्यागमा थन्काए । अनि भन्न थाले, होइन भिनाजुलाई वाइन लागेको हो की के हो ? पुरै कवि पो हुन थाल्नु भयो । दुवै हासे अनि फेरि भन्न थाले, होनी भिनाजु, हजुरको कुरा मन पर्यो, बास्तवमा हजरको कुरामा दम छ । अब देखी त हामी राती कहिले यो कालो गग लगाउदैनौ, अनि, सयालमा वा दिउसो पनि कोठा भित्र भएका कुनै पनि कार्यक्रममा हामी यो कालो चस्मा लगाउदैनौ । सालीश्रीहरु पनि मलाई साथ दिँदै वाइन पिउन थाले, अनि यस्तै गफहरु चुस्की लिदै निरन्तर अगि बढी रह्यो । अब प्रशङ्ग बदलौ ।

कोही कोही सेलिब्रेटी भनिनेहरु टिभीमा अन्तर्बार्ता दिदा पनि कालो गगल्स लगाएको देखेको छु । कोही भने रातीको कार्यक्रममा पनि कालो गगल्स लगाएर गमक्क परेर बसेको देखेको छु । बास्तवमा भन्दा यो कालो चस्माले न वहांको व्यक्तित्व बढाउछ, न वहां राम्रो नै देखिनु हुन्छ । मात्र भ्रम हो, कालो चस्माले तपाई कुनै पनि हालतमा राम्रो देखिनु चैँ हुन्न है, ल ठुकुवाका साथ मैले भन्दिए, जे पर्ला पर्ला । 

अझ अन्तर्बार्ता दिदा त आँखाको जुधाइ नै एकअर्कामा हँदैन, अनि कसरी हाउभाउ बुझ्ने ? जब तपाईको आँखा अर्को व्यक्तिको आँखा संग जुध्छ तब तपाईको मन पढ्न सकिन्छ । चस्मा लाउनु नै पर्ने बाध्यता कसैलाई हुनसक्छ, तर जो बाध्याताको समुह भित्र छैनन, वहांहरुले नलगाउदा नै अन्तर्बार्ता लिने र दर्शकगणलाई पनि सजिलो महशुश हुन्छ । 

नाइट भिजन, पोलोराईज्ड, पारदर्शी चस्मा पनि भरसक नलगाईकन अन्तर्बार्ता दिनु वा कुनैपनि बहसमा भाग लिनु नै उत्तम हुनेछ । मलाई त कति कबिता कसै कसैको आँखामा हेरिरहदा नै फुर्छ । सायद अन्य कविहरुलाई पनि यस्तै हुन सक्छ ? आँखा जुधाएर हेर्दा प्रेममा रहेका प्रेमिल जोडीहरु रोमान्चित बन्न पुग्छन । प्रकृतिले दिएको सुन्दरता हेरेर रमाउन सकिन्छ । जब तपाई आँखा जुधाएर कुरा गर्नुहन्छ, तपाईको मनको भाव पढ्न सकिन्छ । 

तपाई संग भएका अन्र्तकृयाहरु आर्कषक बन्न पुग्छ । एक अर्कालाई राम्रो संग बुझ्न सकिन्छ । मानौ, तपाईलाई कुनै महिला वा श्रीमतीले सोध्यो, भन्नुस त तपाईलाई मेरो शरीरको अङ्गहरुमा सबैभन्दा राम्रो के लाग्छ ? निश्चय नै तपाई एकछिन शरीर नियालेर अन्त्यमा अधिकांशले भन्ने आँखा नै हो, चाहे आँखा सानो, ठूलो वा जस्तोसुकै होस । त्यसैले यो मान्छेको मन लोभ्याउने आँखालाई सधैँ चम्किरहन दिनुस । तपाईको आँखाको भाव अरुले सजिलै बुझ्न सकुन । तसर्थ आँखाको सुरक्षा हेतु बिन्ती लाउनु पर्ने ठाउँमा मात्र कालो चस्मा लगाउ ।

कालो गगल्स वा चस्मा मान्छे किन लाउँछन् त ? बास्तवमा कोठा भित्र, अन्तर्बार्ता दिंदा, वा कुनैपनि अन्र्तरकृया गर्दा कसैले कालो गगल्स वा चस्मा लगाउंछ भने उ चाहन्छ उसको मन भित्रको भाव अरुले सिधै नबुझोस, वा तपाई आफ्नो पीडा लुकाउन चाहानुहन्छ, तपाईको मनोभाव अरुले थाहाँ नपावोस भन्ने चाहानुुहन्छ । तपाई यो पनि चाहानुहन्छ, तपाईको रसाएका आँखा, वा झर्न लागेका आँशु अरुले नदेखुन । 

वा यसो पनि हुन सक्छ, तपाई भित्र केही गलत  नियतहरु छन्, जुन तपाई अरुले थाहां नपावोस भन्ने चाहानुहन्छ । तपाईमा भएको त्यो कुदृष्ठि अरुले पढ्न नसकुन भन्ने चाहानुहन्छ, अनि तपाई एक्लै त्यसको भरपुर मजा लिन चाहानुहन्छ । तपाई आफ्नो आँखाको बनावट, वा रङ्ग लुकाउन चाहानुहन्छ । बास्तवमा तपाई आफ्नो पहिचान नै लुकाउदै हुनुहन्छ । आँखालाई लुकाएर तपाई रक्षापंक्तीमा उभिन चाहानुहन्छ । जसले आफ्नो सुन्दर आँखा गुमाएका छन्, उनीहरू बाध्यतामा रहेर आँखामा कालो चस्मा लगाउदछन । कतिजना त अझ त्यो कालो चस्मालाई त्यागेर नलगाइकन पनि प्रस्तुत भएको देखेको छु । उदाहरणथर्, ग्यालेक्शी टीभीमा यक्ष प्रश्न कार्यक्रमका प्रस्तोता रमेश प्रशाईज्यु । वहांको बुलन्द आवाज, प्रश्न गराई र बोल्ने क्षमता र अथाह ज्ञानका कारण कसैको पनि दृष्ठि वहांको आँखातिर जादैन । 

कसले प्रायः कालो गगल्स लाउनै पर्ने बाध्यता हुन्छ त ? जसले धेरै नै उज्यालो भएको मंचमा आफ्नो प्रदर्शन गरिरहेका हुन्छन, रकस्टारहरु, जसले विभिन्न रङ्गका फ्लास लाईटले बाधा नपुरावोस भन्ने चाहन्छन । जसको आँखा धेरै उज्यालोमा संवेदनशिल हुन्छन, उनीहरुले कालो गगल्स लगाउंछन । धेरै महत्वपूर्ण व्यक्तिको सुरक्षामा खटिएकाहरुले कालो गगल्स प्रायः लाउँछन्, जसले गर्दा उनीहरूको आँखाको हेराई अरुलाई थाहां हँुदैन अनि राम्रो सुरक्षा दिन सकुन भनेर । 

स्वभाविक रुपमा तपाई दिउसो भन्दा राती कम देख्नुहुन्छ, यस्तोमा यदि गुणस्तर कम भएका कालो गगल्सले तपाईको आँखा खराब हुनसक्छ, धमिलो देख्नुहुनेछ । अनि तपाईलाई नियालीरहनेहरुले सिधै नभने पनि मनमनै चैँ पक्कै भन्नेछन, के कालो चस्मा लागाएको होला यो राती पनि भनेर । 

त्यसैले राती गगल्स लाउनै पर्ने बाध्यता छ भने, गुणस्तरयुक्त पोलोराइज्ड र नाइट भिजन पहेंलो वा सुन्तला रङ्गको लाउन सक्नुहुन्छ, तर गुणस्तरहिन सस्ता चस्मा नलगाउनुस, जसले न तपाई राम्रो नै देखिनुहन्छ न त तपाईको व्यक्तित्व मै निखार आउनेछ । बजारमा पाउने कमसल किसिमका कालो गगल्सहरुले तपाईको आँखा पक्कै पनि दिन प्रतिदिन खराब हुँदै जानेछ ।

तपाईलाई लाग्न सक्छ यो मेरो नीजी कुरा हो, मैले के गर्दा अरु खुसी हुन्छन भन्ने संग सरोकार छैन मलाई, त म के गर्दा खुसी हुन्छु त्यहि नै गर्ने हो भन्नुहोला ।  यो तपाईको आफ्नो स्वबिचार हो, दुईमत छैन । म त केवल यति मात्र भन्छु, किमार्थ, यदि तपाई कुठाउँमा कालो गगल्स वा चस्मा लगाएर प्रकृतिले दिएका ती सुन्दर बोलीरहेका झै देखिने जोडी आँखाहरूलाई ढपक्कै ढाक्दा कदापी राम्रो चैँ देखिनुहुन्न । आगे तपाइको मर्जी । अस्तु ।

- धरान, बिजयपुर, हालः मालीगाउं, काठमाण्डौ ।