धरान : महिन्द्रा एन्ड महिन्द्राका साना व्यावसायिक सवारी साधनहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले नेपालमा नयाँ पिकअप महेन्द्रा बाेलेराे म्याक्स पिकअप सार्वजनिक गरेको छ।
कम्पनीले चैत १३ गते धरानस्थित महिन्द्रा सोरुममा आयोजित एक कार्यक्रममार्फत २ टनसम्म भार बोक्न सक्ने क्षमताको उक्त पिकअप सार्वजनिक गरेको हो। कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठ, कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी तथा ग्राहकहरूको उपस्थिति रहेको थियो। यसअघि उक्त सवारी चितवनमा पनि सार्वजनिक गरिएको थियो।
कम्पनीका अनुसार बोलेरो म्याक्स पिकअप नेपाली बजारको साना व्यावसायिक सवारी (एससीभी) समूहमा नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यले ल्याइएको हो। यो पिकअप १ दशमलव ७ टनदेखि २ टनसम्म भार बोक्न सक्षम रहेको छ र कठिन भौगोलिक अवस्थाका सडकहरूमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने बताइएको छ।
यो सवारी दुई प्रकारमा उपलब्ध छ। एचडी १ दशमलव ७ एलएक्स प्रकारको मूल्य रु. २९ लाख ९५ हजार र एचडी २ दशमलव ० एल एसएक्सआई प्रकारको मूल्य रु. ३२ लाख ९५ हजार तोकिएको कम्पनीले जनाएको छ।
बोलेरो म्याक्स पिकअपमा महिन्द्राको एमटुडिआइ इन्जिन प्रयोग गरिएको छ भने डिजेल र सिएनजी दुवै इन्धन विकल्पमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएकाे छ। सवारीमा अधिकतम १० फिट लामो सामान राख्ने भाग, बलियो च्यासिस, फराकिलो पाङ्ग्रा दूरी तथा टिकाउ बडी संरचना जस्ता विशेषताहरू रहेका छन्।
कम्पनीका प्रतिनिधिका अनुसार यो पिकअप कृषि, निर्माण, सहरदेखि सहरसम्मको ढुवानी तथा अन्य भारी कामका लागि उपयुक्त हुनेछ। साथै, कम मर्मत खर्च, उच्च विश्वसनीयता र राम्रो पुनःबिक्री मूल्यका कारण व्यवसायीहरूका लागि यो आकर्षक विकल्प बन्ने विश्वास लिइएको छ।
कम्पनीले यस सवारीलाई देशका अन्य प्रमुख व्यापारिक सहरहरूमा पनि क्रमशः सार्वजनिक गर्ने योजना रहेको जनाएको छ।
































































