धरान : युमा साम्यो महासभा नेपालले भर्खरै किरात याक्थुङ चुम्लुङ लगायत किरातजन्य संघसंस्थाहरूले सहिद सिरिजङ्गाको त्याग र बलिदानले सुरुवात भएको सिरिजङगा लिपिलाई किरात सिरिजङ्गा लिपिको नाममा समायोजन तथा नामकरण गर्ने भन्ने निर्णयप्रति आपत्ति प्रकट गर्दै भर्त्सना गरेको छ ।

महासभाले धरानमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न अभिलेख लिखत तथा अभ्यासहरूमा सिरिजङ्गाको सम्मान गर्दै उनकै नामबाट लिपिको नाम राख्न उपयुक्त र सर्वस्विकार्य हुने हुँदा यस नामको अघि-पछि कुनै फुर्का र शब्दावली आवश्यक नरहेको जनाएको छ ।

लिपिका अन्वेषक, प्रचारक तथा प्रवर्द्धक सहिद सिरिजङ्गाको योगदानलाई उच्च कदर गर्दै उनले चलाएको लिपिलाई सिरिजङ्गा लिपि बाहेक अरू कुनै नामले नामकरण गर्न अनुचित हुने साथै उनको शहादतको अपमान हुने जनाउँदै महासभाले “किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन“ मा थपिएका स्वर र व्यञ्जन वर्णहरूप्रति असहमति जाहेर गरेको छ ।

थपिएका स्वर र व्यञ्जन वर्णहरू अक्षरहरू लेखन तथा पठनपाठन प्रक्रियामा अनुपयुक्त मात्रै होइन, पूर्ण असान्दर्भिक रहेको ठहर गरेको छ । यसरी सिरिजङ्गाले दिएको बलिदानीपूर्ण उच्च योगदानको मर्म र भावना विपरीत राख्न लागिएको किरात सिरिजङ्गा नामकरण अनुपयुक्त र असान्दर्भिक भएकाले यसलाई अपनत्व नलिन सम्बद्ध सबै पक्ष तथा समुदायलाई युमा साम्यो महासभाले आव्हान गरेको पत्रकार सम्मेलनमा महासभाका महासचिव डा. रमेश इजमले बताए ।

यसरी भाषा लिपिका लागि सहिद भएका सिरिजङ्गाको नामको लिपिलाई किरात सिरिजङ्गा लिपि नामकरण गर्नु लिम्बु जातिको सम्पदा माथिको आक्रमण भएको मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले बताए । उनले किरात याक्थुङ चुम्लुङका केही पदाधिकारीहरू र केही लिम्बु प्राज्ञहरुले लिम्बु सम्पदालाई ध्वस्त बनाउने खेलमा लागेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा युमा साम्यो महासभा नेपालका अध्यक्ष देवेन्द्रकुमार वनेमले सहिद सिरिजङ्गाको त्याग र बलिदानले सुरुवात भएको सिरिजङगा लिपिलाई किरात सिरिजङ्गा लिपिका नाममा समायोजन तथा नामकरण गर्ने भन्ने निर्णयप्रति आपत्ति जनाउँदै अव विरोधसभाहरु गर्दै अघि बढ्ने बताए ।

किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलमा डा. तारामणि राईको संयोजकत्वमा प्राज्ञ अमर तुम्याहाङ, डा. लाल श्याँकारेलु रापचा, डा. गणेश जिमी, गणेश राई, डी.बी. आङबुङ, इन्दिरा जिमी, उत्तम सुनुवार र तीर्थराज मुकारुङ सदस्य रहेका छन् ।

Youma-2

को हुन् सिरिजङ्गा ?
१८ औँ शताब्दीको उत्तरार्द्धमा सिरिजङ्गाको जन्म सिङ थेबे लिम्बू परिवारमा वर्तमान ताप्लेजुङ जिल्लाको सिनाम तेल्लोकमा भएको थियो ।

स्थानीयका अनुसार सिरिजङ्गाको बाबु पारुजङ्गा र आमा पुःधाहाङ्मा थिए । नेपालबाटै डिजिटाइजेसन गरिएका ऐतिहासिक तथा पुरातात्त्विक सामग्रीहरूमा ताप्लेजुङका फावा खोला र तम्मर खोला क्षेत्रमा सिरिजङ्गाले लेखेका लेखोटहरू प्रशस्तै पाइन थालेका छन् ।

लेखोटहरूमा याक्थुङ्वाहरू बिच संस्कार तथा लेनदेन कारोबार भएको भेटिन्छ । नेपालस्थित रेजिडेन्ट भएर आएका ब्रिटिस विद्वान् ब्रायन हज्सनले काठमाडौँ र दार्जिलिङमा सन् १८२० (वि. सं. १८७७) देखि १८६८ (वि.सं. १९२५) सम्म रहँदा नेपाल र सिक्किमबाट सिरिजङ्गाले लेखेका लेखोटहरू सङ्कलन गरी भारतको इष्ट इन्डिया लाइब्रेरीमा बुझाएका थिए ।

Youma

ब्रिटिसले भारत छोडेपछि उक्त लेखोटहरूलाई हाल लन्डनस्थित ब्रिटिस लाइब्रेरीमा “हज्सन पाण्डुलिपि“ को रूपमा सुरक्षित राखिएको छ । पाण्डुलिपिका खण्ड ८६, ८८ खण्डहरूमा सिरिजङ्गा आफैँले याक्थुङ्बाहरुको बिस व्यञ्जन सहितको भाषा-लिपि बनाएको भेटिन्छ । उति बेलाको याक्थुङ्बाहरूको मुन्धुम (सामाजिक इतिहास), परम्पराको टिपोट गरेको भेटिन्छ ।

पाण्डुलिपिकै खण्ड ७३ मा सिरिजङ्गाले याक्थुङ्बाहरूको भाषा-लिपि बनाएको देखेर भोटेहरूले उनको प्राण लिएको लेखिएको छ । सन् १९०८ (वि. सं. १९६५) मा सिक्किमका महाराजा थुतोब नामग्याल र महारानी येसे दोल्माले सङ्कलन गरेर प्रकाशनमा ल्याएको पुस्तक “हिस्ट्री अफ सिक्किम“ को काजीहरूको वंशावली खण्डको पृष्ठ सङ्ख्या २२ अनुसार “सिरिजङ्गालाई ठाछाङ लामाहरूको विरुद्ध दाउपेच गरेको अभियोग लगाइयो ।

उनलाई रूखमा बाँधी धनुकांडले हानेर खोलामा फालियो । यति गर्दा पनि उनको प्राण नगएपछि उनको मुखमा पन्छीको बिस्टा कोचियो । उति बेला नेपालमा प्रतापसिंह शाह राजा थिए ।“ प्रतापसिंह शाहको राज्यकाललाई आधार मानेर नै सिरिजङ्गाको जन्म-मृत्युको तिथि मिति तय गर्नु पर्ने देखिन्छ ।

उनै सिरिजङ्गाले बनाएको लिपिलाई याक्थुङ्बा लिम्बूहरूले सिरिजङ्गा लिपिको रूपमा प्रयोग गर्दै आइरहेका छन् । भारतको सिक्किममा लिम्बूहरूले सन् १९६७ (वि. सं. २०२४) देखि पाठ्यक्रमहरूमा सिरिजङ्गा लिपिको रूपमा प्रचलनमा ल्याए ।

नेपालमा पनि वि. सं. २०४७ यतादेखि सिरिजङ्गा लिपिमा याक्थुङ्वा लिम्बू भाषाको पठनपाठन भइरहेको छ । नेपाल सरकारले शहीद सिरिजङ्गाको ऐतिहासिक योगदानलाई कदर गर्दै वि. सं. २०४९ मा सिरिजङ्गाको तस्बिर अङ्कित हुलाक टिकट चलाउँदै आएको छ ।

Youma-1