आज विक्रम संवत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एक आपसमा सुख शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै, शुभकामना आदानप्रदान गरी  मनाइँदै छ । सूर्यले मीन राशिको भोग समाप्त गरी आजबाट मेष राशिको भोग सुरु गर्ने दिन भएकाले "वैशाख १" गतेलाई "मेष सङ्क्रान्ति" अर्थात् "वैशाख सङ्क्रान्ति" पनि भनिन्छ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको मूल्याङ्कन गर्दै विगतका अनुभवहरूबाट भविष्यलाई सहज तुल्याउँदै  योजनाबद्ध रूपमा सशस्त्र भएर भविष्यका चुनौतीहरूलाई अवसरमा परिवर्तन गर्ने चिन्तन गर्दछ।  

यस अवसरमा आज बिहानै स्नान गर्ने, घर-आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठो मीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ।

नेपालमा मौलिक संवतका रूपमा वि.सं. चलिरहेको छ 'नेपालमा मात्र मौलिक रूपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत् शक संवत् भए पनि व्यवहारमा इस्वी संवत् चलेको छ। वि.सं १३५ देखि शक संवत्, विसं ६३३ देखि मानदेव संवत्, विसं ९३६ देखि नेपाल संवत् चलेको इतिहासविद्हरूको कथन छ। विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलो पटक वि.संको प्रयोग गरेको लिखित दस्ताबेज फेला परेको छ। 

ज्योतिष विज्ञानका अनुसार वि.सं. शास्त्रीय संवत् हो । किनभने "सौरमान" र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत् नै वि.सं. हो । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ । त्यसैले सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत् भनिएको हो। 

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन्। यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। 

श्री शाके १९४५, विक्रम २०८० को संवतको नाम पिङ्गल

हो। यो प्रभवादि ६० संवत्सरमध्यको ५१ औँ संवत्सर हो । यस वर्षका राजा बुध तथा मन्त्री शुक्र ग्रह हुन् । यस वर्षको राजा: बुध एवं मन्त्री: शुक्र परेकोले मध्यम खुसीयाली जस्तो देखिन्छ । सामाजिक विसङ्गतिहरू सुध्रिँदै जानेछ।  चोरी-डकैती लुटपाट-हत्या बलात्कार आदि अशोभनीय घटनाहरूमा नियन्त्रणको अनुभूति हुनेछ । 

विभिन्न माध्यमबाट आज बिहान १२ बजे बाटनै  नववर्ष २०८० सालको खुसी साटासाट गरी नयाँ वर्षको स्वागत गरिँदै छ । यस अवसरमा मानिसहरू विगतकाबाट सिकेर उज्ज्वल भविष्यको कल्पना गर्ने गर्छन्।