धरान : धरान स्थित सब्जिमण्डीमा तरकारी पसलेका रूपमा व्यवसाय गर्दै आएका विकास भगत काठमण्डूमा लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेपछि तरकारी, फलफूल व्यवसायको आवरणमा भारतीय नागरिक लागुऔषधको तस्करीमा संलग्न रहेको खुलासा भएको छ ।

गत जेठ २८ गते धरान भानुचौक स्थित सब्जिमण्डीका तरकारी पसले विकास भगत लागूऔषध ब्राउन सुगर १०० ग्राम सहित पक्राउ परे ।  असार ६ गते बुधवार बिहान सब्जीमण्डीमै फलफूलको पसल गर्दै आएका अर्का ब्यापारी राम भजनलाई प्रहरीले पक्राउ गरेको छ ।

दुवै तरकारी, फलफूलको व्यवसायको आवरणमा लागुऔषधको तस्करीमा संलग्न रहेका भारतीय नागरिक भएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले भगत ब्राउन सुगरको सेवनकर्ता नभएर कारोबारी मात्रै भएको देखाएको छ । लागूऔषधको प्रयोगकर्ता हुनु र सेवनकर्ता हुनु कानुनी दृष्टिले फरक कुरा हुन् ।

लागूऔषधमा एक जना पक्राउ परेपछि उ सँग जोडिएका धेरै जना प्रहरी फन्दामा पर्ने सम्भावना हुने गरेको छ । यसै क्रममा राम भजन पक्राउ परेका हुन ।

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी), काठमाडौँको टोलीले एक महिना अघिदेखि भारतबाट लागूऔषध ल्याउने एउटा गिरोहको पिछा गरिरहेको थियो । 

यस्तैमा धरानमा तरकारी व्यापारीको भेषमा लागूऔषध तस्करी गर्ने विकास भगत प्रहरी फन्दामा परे ।

काठमाण्डौंको एक होटेलमा विकासलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग घम्साघम्सी भएको थियो । ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार विकासले प्रहरीलाई नै आक्रमणको प्रयास गरेपछि प्रतिकारमा गोली चलाउनु परेको थियो ।

अहिले विकास भगत अस्पतालमा भएकाले उनीमाथि प्रहरीले विस्तृत अनुसन्धान गर्न पाएको छैन । यो मुद्दामा विकाससँग अन्तरसम्बन्ध रहेको खुलेपछि प्रहरीले अर्का एक जना भारतीय नागरिक राम भजनलाई धरानबाट पक्राउ गरेको हो ।

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट विकास र राम भारतीय नागरिक रहेको र दुवै धरानमा तरकारी पसलको आवरणमा भारतको जोगबनी नाकाबाट डिलरका रूपमा नेपालमा लागूऔषध भित्र्याउने गरेको खुलेको एसपी जोशीले बताए ।

उनले भने ‘अहिले १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ, अब पक्राउ परेकाहरूको बयान लिएर थप नेक्ससबारे छानबिन हुनेछ ।’

नेपालमा ब्राउन सुगरको तस्करी :

ब्राउन सुगर तयार गर्न अफिमको आवश्यक पर्छ । नेपालको मकवानपुर, रुकुम, डोटी, बझाङमा अफिम खेती गरिन्छ । नेपालमा उत्पादन हुने अफिममध्ये केही भारत पुग्ने गरेको छ ।  भारतमा भने अफिमको औषधीका रूपमा व्यवसायीक खेती नै हुने गर्छ ।  

नेपालमा प्रयोग हुने सबै ब्राउन सुगर भारतमा तयार भई भित्रने गरेको छ । खुला सिमानाका कारण त्यहाँबाट उत्पादित लागुऔषध सजिलै नेपाल भित्रिने गरेको छ । 

गाँजा र चरेस जस्ता लागूऔषध सेवनकर्ताहरू बढिरहेको नेपालमा पछिल्लो समय ब्राउन सुगर तस्करी बढेको तथ्याङ्कले देखाएको छ ।लागूऔषध दुर्व्यसनीले सुरुमा गाँजा सेवन गर्ने र त्यसपछि कडा किसिमको लागूऔषध खोज्दै जाने गरेको अनुसन्धानले देखाएको छ । सहज आपूर्ति, बेग्लै आनन्द र पैसासमेत मनग्गे हुने लोभमा दुर्व्यसनीहरू गाँजाबाट ब्राउन सुगरतिर मोडिन थालेका छन् ।

प्रहरीका अनुसार ब्राउन सुगर नेपाली प्रयोगकर्ताले प्रतिग्राम ८ देखि १० हजार रुपैयाँसम्म लिएर खरिद गर्ने गरेका छन् ।

कानुनी व्यवस्था:

लागूऔषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । लागुऔषध मुद्दामा कसैलाई पक्राउ गर्दा प्रहरीले सबैभन्दा पहिले त्यो व्यक्ति सेवनकर्ता हो वा कारोबारी हो भनेर पत्ता लगाउने प्रयास गर्छ ।

ब्राउन सुगरको हकमा सेवनकर्ता र कारोबारी छुट्याउन कठिन हुने एसपी जोशी बताउँछन् । बरामद परिमाण, पक्राउ पर्दाको अवस्था, अभियुक्तको आर्थिक हैसियत लगायतलाई आधार बनाएर मुद्दा लैजाने गरिएको उनको भनाइ छ ।

निकै महँगो मानिने ब्राउन सुगर २५ ग्रामभन्दा कम भेटिएको अवस्थामा ५ देखि १० वर्षसम्म जेल सजाय हुन सक्छ । ‘ब्राउन सुगरको मुद्दामा कारोबारी देखिए एक मिलिग्राम बरामद भए पनि कम्तीमा ५ वर्ष कैद हुन्छ,’ उनले भने ।

एक सय ग्रामभन्दा बढी भेटिएको खण्डमा १५ वर्षदेखि जन्मकैद सम्मको सजायका साथै ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।