सुनसरीको सदरमुकाम इनरुवा राजनीतिक तथा प्रशासनिक हिसाबमा प्रभावशाली मानिन्छ । प्रशासनिक शक्तिको केन्द्रमा रहेको इनरुवा आर्थिक विकाशको क्षेत्रमा भने पछाडि छ । सुनसरीका धरान र इटहरी चलायमान सहरको रूपमा अगाडी बढिरहँदा इनरुवाले समयानुसार फड्को मार्न सकेको छैन । शक्ति केन्द्र भएर पनि विकाश निर्माणमा पछाडि रहेको इनरुवा नगरपालिकाकामा नेपाली काँग्रेसको बलियो प्रभाव छ । काँग्रेस जिल्ला सभापति केदार भण्डारी इनरुवाका मेयर छन् । उनै भण्डारी सँग नेपाली काँग्रेसको राजनीति र इनरुवाको विकाश नीतिको विषयमा कपुरी न्युजका विनय बाह्रकोटीले गरेको कुराकानी । 

  • तपाईँ इनरुवा नगरपालिकाको मेयर निर्वाचित भएसँगै के त्यस्तो काम गर्नुभयो जसले दीर्घकालीन प्रभाव पारोस् ? 

म निर्वाचित हुँदै गर्दा आवश्यक भन्दा बढी कर्मचारी थिए । त्यसलाई कटौती गरेर अनावश्यक खर्च घटाउने काम भयो । 

अहिले आएर स्वास्थ्य, शिक्षा र कृषिमा प्राथमिकता दिएको छु । यी तिन चीजले मात्र इनरुवाको विकाश सम्भव छ । स्कुलको भ्रमण गर्ने कामलाई अगाडी बढाएको छु । विद्यालयको भौतिक स्तरोन्नति गर्ने देखी शिक्षकको नियमितता र गुणस्तरीयतामा जोड दिएको छु । सम्पूर्ण विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाई सुरु गर्ने गरी पक्रिया अगाडी बढाइरहेको छु । सबैलाई समान बनाउन अङ्ग्रेजी माध्यमका कक्षाहरू सुरु गर्न लागिएको छ । 

कृषिको क्षेत्रमा किसानको खेतमा पानी पुर्‍याउनु ठुलो कुरा हो । किसानले चाहेको अवस्थामा पानी लगाउन पाएका छैनन् । इनरुवामा चार बाली उब्जनी गर्न सकिन्छ । खेत खेतमा बोरिङ गाड्ने र मोटर जोडेर सिँचाइको सुविधा पुर्‍याउने लक्ष्य छ । हामी खुल्ला सिमानामा छौ । छिमेकमा सस्तो लागतमा उत्पादन भएको कृषि सामग्री सँग हामी प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैनौँ । हामीले पनि समयमै मल, बिउ र सिँचाई उपलब्ध गराउनु पर्छ । इनरुवामा खेती गर्नुपर्ने किसानले सर्लाहीबाट बिउँ ल्याउनु पर्छ भन्ने बाध्यता छ । यो ढुवानीको हिसाबका खर्चिलो छ । यसमा नीति परिवर्तन गर्नुपर्ने हुन्छ ।

स्वास्थ्यको क्षेत्रमा गरिब दलित र असहायको लागि निःशुल्क बिमाको व्यवस्था भएको छ । गरिबको लागि किरिया खर्च १० हजार उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याएको छु । 

  • स्थानीय तहका जनप्रतिनिधिले काम गर्दा कस्ता समस्या आउने रहेछन् ? के महसुस गर्नुभयो ?  

स्थानीय तहमा कर्मचारी पनि स्थानीय नै बढी हुन्छन् । नगरपालिका प्रति खासै जिम्मेवार देखिएनन् । मेयर र वडाध्यक्ष भन्दा के कम भन्ने भावना कर्मचारीमा हुँदो रहेछ । अहिले त त्यस्तो अवस्था छैन । बजेट ठुलो आकारमा देखिने तर कर्मचारीको तलब र जनप्रतिनिधिको सेवा सुविधामा बढी खर्च हुँदो रहेछ । जनताको अपेक्षा ठुलो तर बजेट कम भएको कारण सोचेजस्तो काम हुन सकेको छैन । बहिरी लगानी ल्याउन नसक्दा विकाश निर्माण उल्लेख्य काम हुँदैन । स्थानीय श्रोत साधनको सीमितताले चाहेका धेरै काम गर्न नसक्ने अवस्था छ ।

  • त्यसो भए बाहिरी क्षेत्रको लगानी भित्राउन कस्तो तयारी गर्दै हुनुहुन्छ ?

बाहिरबाट लगानी आउने क्रम राम्रो छ । पहिला पनि लगानी आएका थिए । तर त्यसको समुचित सदुपयोग नहुँदा लगानीकर्ताहरू फर्किएर गएका छन् । अब हामी शिक्षा र स्वास्थ्यका कुन कुन क्षेत्रमा लगानी गर्ने भन्ने ठोस आधार बनाएर सहयोग माग्ने र सोही अनुसार काम गर्छौ । विद्यालयमा छानो छैन तर नमुना विद्यालयको कुरा गर्नु भएन न । आधारभूत कुरामा जोड दिनुपर्छ ।

  • इनरुवा प्रशासनिक र राजनीतिक रूपमा प्रभावशाली हुने तर आर्थिक विकाश निर्माणमा किन पछाडि पर्‍यो ? 

त्यसको मूल कारण भनेको इनरुवामा व्यापारिक केन्द्र र व्यापारिक नाका छैनन् । प्रशासनिक बाहेक अन्य कामको लागि इनरुवा आउनुपर्ने अवस्था छैन । इनरुवाको अधिकांश भूभाग कृषिमा आधारित छन् । इनरुवामा इमान्दारीकताको बसाई छ । कृषि मुख्य पेसा हो ।

  • तपाईँको कार्यकाल भित्रमा इनरुवा कस्तो बन्छ ?  

इनरुवामा राम्रा भौतिक संरचना हिजो पनि थिएनन् । म अहिले नै स्मार्ट सिटी बनाउँछु भन्ने पक्षमा छैन । तर सामान्यतः यातायातको पहुँच सबैतिर पुगेको शिक्षा र स्वास्थ्यको आधारभूत सुविधा सबै जनताले पाउने र कृषिमा आत्मनिर्भर इनरुवा बनाउँछु । धेरै भनेर मात्र हुँदैन गर्नुपर्छ । म केही गरेर देखाउने पक्षमा छु ।

  • ठुला नेताहरूको दबाब कत्तिको सामना गरिरहनु भएको छ ? 

मलाई त्यस्तो दबाब छैन । नेताहरूले विकाशमा ध्यान दिनुपर्‍यो भन्ने निर्देशन दिनुहुन्छ । दबाब भन्ने छैन । तर हिजो नगरपालिकाको दोहनमा पल्किएका व्यक्तिहरू विरोधमा उत्रिएका छन् । नगरपालिका चुस्ने काममा लागेका मान्छेहरू अहिले थला परेका छन् ।

  • तपाई आफै पार्टीको जिल्ला सभापति हुनुहुन्छ । सभापति र मेयर पदको जिम्मेवारीलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ? 

नेपाली काँग्रेसले सोच्ने भनेको देश, जनता र लोकतन्त्र हो । पार्टी यी तिनै कुरालाई केन्द्रमा राखेर काम गरिरहेको छ । अहिले लोकप्रीयतावादीहरु मौलाएको बेला हामी लोकतन्त्रवादीहरू कुनै पनि विचलित भएका छैनौ । म पार्टी सभापति हुँ तर म सम्पूर्ण पार्टी हैन । अन्य पदाधिकारी र सदस्यहरूको पनि जिम्मेवारी छ । हामी सबै मिलेर काम गरिरहेका छौ नि । पार्टीका गतिविधिमा म सक्रिय छु । त्यसभन्दा बढी जनप्रतिनिधिको रूपमा जनताको काममा लागिरहेको छु ।

  • एउटै व्यक्ती दुई जिम्मेवार पदमा हुँदा कतै पनि राम्रो काम गर्न सकिएन भन्ने लाग्दैन ? 

यसमा प्रस्ट कुरा छ । एउटा राम्रो कार्यकर्तालाई एक ठाउँमा हुँदा पनि उत्कृष्ट काम गर्न सकिन भन्ने लाग्छ । पार्टी अझै बलियो र सङ्गठित हुँदै जाओस् भन्ने लाग्छ । जति सक्दो मेहनत गर्दा पनि शतप्रतिशत उपलब्धि हुँदैन । तर मैले दुवैतर्फ सक्दो मेहनत गरिरहेको छु । यसको मूल्याङ्कन जनता र कार्यकर्ताले गरिरहेका छन् ।  

  • सुनसरीमा नेपाली काँग्रेस कमजोर बन्दै गएको नेताहरूले टिप्पणी गर्ने गरेका छन् । तपाईँको कार्यकालमा किन कमजोर भयो सुनसरी काँग्रेस ?

को नेताले भन्नुभयो थाहा छैन । पार्टीमा खटिएको मान्छेले भन्नुभयो होला जस्तो लाग्दैन । हामीले सुनसरीका प्रतिनिधिसभाका ४ वटै क्षेत्र जित्नुपर्ने हो । तर जित्न सकिएन । त्यसको सम्पूर्ण जिम्मा सभापतिले मात्र लिनुपर्ने हो भन्ने मलाई लाग्दैन । केदार भण्डारीको कारण सुनसरीमा काँग्रेस कमजोर भयो भन्ने कार्यकर्ताले विश्वास गर्दैनन् । जो नेताको कारण पार्टी कमजोर भयो तिनै नेताका चम्चाहरूले लगाउने आरोप हो यो । 

  • पार्टीको गुटबन्दीको व्यवस्थापनमा तपाईँको भूमिका देखिएन नि !

गुटबन्दीले पार्टी कमजोर बनेको सत्य हो । पार्टीमा वडा देखिनै गुटबन्दी छ । हिजो पारदर्शी र प्रजातान्त्रिक गुटबन्दी थियो । तर अहिले गुटका नाममा अराजकता मच्चाउने काम भएको छ । पञ्चायत र राणा विरुद्ध लडेका योद्धाहरूलाई किनारा लगाउने दुष्प्रयासले काँग्रेसले यो परिणाम भोगेको हो । रामबहादुर बस्नेत, हरिनाथ बास्तोला, हरि सापकोटा, हाजी अब्दुल र अल्लाहुदिन हुसेन जो जिउँदा शहीदहरू हुन् । वहाँहरूलाई महाधिवेशनमा हराउन जुन तत्त्व लाग्यो । त्यो तत्वले सोच्नुपर्छ की पार्टी किन कमजोर भयो ।

  • पूर्व जिल्ला सभापति राजीव कोइराला पनि पराजित हुनुभयो । यसमा पनि गुटबन्दीकै प्रभाव परेको हो ? 

हामीले समीक्षा गरेका छौ । राजीव कोइराला दाइले पनि बुझ्नु भएको छ । सबैले बुझेका छन् । पार्टी भित्रकै शक्ति नलागेका भए वहाँ विजयी हुनुहुन्थ्यो । राजीव दाइलाई पार्टी भित्रका अराजक तत्त्वहरूले हराएका हुन् ।