विराटनगर : विराटनगरसँग कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यले आयोजित दुई दिने विराट वाङ्मय उत्सव शुक्रवार सुरु भएको छ ।

उत्सव आरोहण गुरुकुलको आयोजना महानगरपालिकाको प्रवर्द्धनमा भएको हो । उत्सवको पहिलो दिन दिवङ्गत कविहरूका कविता समेत वाचन गरियो ।

कवि हरिभक्त कटवाल, हिरा आकाश, विमल गुरुङ, माधवप्रसाद घिमिरे, कृष्ण पाख्रिन, ईश्वरवल्लभ, लक्ष्मीप्रसाद देवकोटा, वानिरा गिरी, सानुमती राई, भूपी शेरचनको कविता युवा कविहरूले वाचन गरे ।

कविताहरूलाई चित्रकलाकारहरु मुकुन्द प्रयास, विनोदकुमार चौधरी, अभिषा घिमिरे, युवराज रिजाल, एलन शाक्य, महेन्द्र राई, सञ्जय धिताल, गणेश लामा, यशोदाकुमारी सिंह र रवि बस्नेतले क्यानभासमा उतारेका थिए ।

‘कता रुमलियो विराट विरासत ?’ विषयक बहसमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, उद्योगी ताराचन्द खेतान र लेखक दिनेश श्रेष्ठ सहभागी थिए । पत्रकार महाप्रसाद खतिवडाले सहजीकरण गरे ।

पत्रकार टेकेन्द्र अधिकारीको सहजीकरणमा ‘नेपाली भाषा बहाव’ शीर्षकको बहसमा केदार शर्मा, लता पौड्याल निरौला र विष्णु एस राईले विचार राखेका थिए । सुमन लिङ्देनको सहजीकरणमा ‘मञ्चमा म’ विषयक बहसमा हेमन्त बुढाथोकी, सोनु जयन्ती र दीपा पोखरेल सहभागी थिए ।

शुक्रवार ‘भोलि बास्ने कवि’ सम्झनामा कृष्णभूषण बल प्रस्तुत गरिएको थियो । कवि मनु मञ्जिलले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ कवि जसराज किराँतीले कृष्णभूषण बललाई स्मरण गरेका थिए ।

‘नेपाली साहित्य सिर्जनाका नवीनतम आयामहरू’ शीर्षकको बहसमा हाङ्युग अज्ञात, देवान किराँती र शुभलक्ष्मी लम्साल बिच बहस भएको भयो । सहजीकरण कवि केजी सुब्बाले गरेका थिए ।

उत्सवको सेसनमा सुदीप पाख्रिन, हेमन यात्री, विमल वैद्य, रोशन परियार, मनु विश्वकर्मा, सुष्मा दाहाल, सगुन सुसारा, अनिशा रम्तेल, टीका आत्रेय, सविता गौतम दाहाल, जीवन आरोही, विनिता बोगटी र पराजित पोमुले कविता वाचन गरेका थिए ।

यसअघि उद्घाटन समारोहमा मेयर नागेश कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा महानगरपालिकाले काम गरिरहेको बताए । उनले भने ‘भाषा, साहित्य, कला, संस्कृति सबै हेर्ने गरी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’

महानगरपालिकाले सांस्कृतिक संग्राहलय स्थापनाको योजना अघि सारेको मेयर कोइरालाले बताए । उनले भने ‘विराटनगरको नयाँ पहिचान बनाउनु आवश्यक छ ।’

विराटनगरलाई आर्थिक र राजनीतिक राजधानीबाट कला र साहित्य, शिक्षा र स्वास्थ्य के को राजधानी बनाउने हो छुट्टै पहिचान स्थापित गर्न  सबै मिलेर लाग्नु पर्नेमा उनले जोड दिए ।

शनिवार मातृभाषी कविता वाचन, राजनीति र साहित्य: साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माणः परिकल्पना र प्रस्तुति, पात्र र लैङ्गिकता, समकालीन रचना वाचन, गजल गुञ्जन कार्यक्रम हुनेछ ।