विरही काइँला

म आइफेल टावरको अगाडि पट्टीको खुला ठाउँमा उभिएर फोटो खिचाइ रहेको छु । अरू पनि छन् टावरलाई छेउमा देखाएर फोटो खिच्नेहरू । यस क्षेत्रलाई ट्रोकाडेरो भनिन्छ । ट्रोकाडेरी आइफेल टावरको फोटो खिच्न सबैभन्दा राम्रो ठाउँ हो । पेरिस फोटोग्राफर सङ्घको पाँच उत्कृष्ट फोटो स्थलहरूमा ट्रोकाडेरोको नाम पहिलो स्थानमा छ ।

आइफेल टावरसँग फोटो खिच्नुलाई मात्र प्रतिवर्ष ७० लाख मानिसहरू पेरिस आउँदा रहेछन् । हेर्दा एउटा साधारण फलामे टावर, तर यो संसार भरिका मानिसहरूको लागि आकर्षण केन्द्र बनेको छ ।

आकाशबाट हेर्दा खेतबारीको बिचमा नहर जस्तो देखिने सेन नदी उत्तरी फ्रान्सको अधिकांश भागलाई समेटेर पेरिस हुँदै बग्दछ र ले हाब्रेमा पुगी इङ्ग्लिस च्यानलमा मिसिन्छ । यही सेन नदीको किनारमा खडा छ फ्रान्सको संस्कृतिको प्रतीक आइफेल टावर ।

यसको निर्माण २८ जनवरी १८८७ मा सुरु गरेर १५ मार्च १८८९ मा पुरा भएपछि ३१ मार्च १८८९ देखि जन साधारणको लागि खुला गरिएको थियो । त्यस बेला यो विश्वमा नै सबैभन्दा अग्लो मानव निर्मित टावर थियो ।

आइफेल टावरको चार वटा स्तम्भहरू छन् । एउटा स्तम्भदेखि अर्को स्तम्भको दूरी १२५ मिटरमा रहेको छ । तीन सय तीस मिटर अग्लो आइफेल टावरमा जमिनबाट माथिसम्म जम्मा १,६६५ वटा सिँढीहरू छन् । तीमध्ये ६७४ सिँढीहरू मात्र चढ्न सकिन्छ । यौटा तल्ला चढ्नलाई लगभग १५ देखि २० मिनेट समय लाग्दो रहेछ ।

पहिलो तल्ला ५७ मिटर उचाइमा छ । यहाँ ३ हजार मानिसहरू आरामले बस्न सक्छन् र यो ४ हजार २०० वर्ग मिटरको छ । यहाँ रेस्टुरेन्ट पनि सञ्चालन गरिन्छ ।

यसरी नै दोस्रो तल्ला ११५ मिटर अग्लोमा छ । यसको क्षेत्रफल १६५० वर्ग मिटर छ । यहाँ एकसाथ १६०० मानिसहरू बस्न सक्दा रहेछन् । शैम्पेन बारमा उपलब्ध पेय पदार्थको चुस्किसँगै यहाँदेखि ७०किलोमिटर ठाडो सम्म पेरिसको दृश्य हेरेर भ्रमण समयको आनन्द लिन सकिने रहेछ ।

तेस्रो तल्ला २७५ मिटरको उचाइमा छ । यसको ३५ वर्ग मिटर क्षेत्रफलमा ४०० मानिसहरूको बस्ने व्यवस्था छ । तेस्रो तल्लादेखि माथि पनि सिँढीहरू छन् तर पर्यटकहरूलाई जान निषेध गरिएको छ । टावरको दुई तल्ला सम्म पुग्नलाई ५ वटा लिफ्टहरू छन् ।

दोस्रो तल्लाबाट तेस्रो तल्ला जानका लागि भने डुओलिफ्टहरू लिनु पर्दो रहेछ । टावरको रचना इन्जिनियर गुस्ताभ आइफेलद्वारा गरिएको हो र यो उनैको नाममा नामकरण गरिएको छ ।

हरेक साँझ घाम अस्तापछि राती ११ बजी सम्म आइफेल टावरलाई २०,००० वटा बिजुली बत्तीले झलमल्ल बनाइन्छ । तर रातको रङ्गिन आइफेल टावरको फोटो खिच्न पाइन्न । फोटो खिच्नलाई शुल्क तिरेर पूर्व अनुमति लिनु पर्दो रहेछ ।

सेन नदीमा चल्ने क्रुजबाट पनि पेरिस सहरका कतिपय रमणीय स्थलहरूको भ्रमण गर्न सकिन्छ । यसको लागि आइफेल टावरको फेदमा क्रुज पाइन्दो रहेछ ।

आइफेल टावर हेरि सकेपछि पेरिस सहर हेर्न अनलाइनबाट टिकट किनेर क्रुजमा चढ्यौँ । आइफेल टावरलाई दाहिनेतर्फ छोडेर अघि बढेको क्रुजले नदीको दाहिने र देब्रेतिरका विशाल भवनहरूको परिचय गराउँदै आइफेल टावरलाई एक फन्को लगाउँदो रहेछ ।

सेन नदीमाथि अनगन्ति पुलहरू छन् त्यसमध्येका एउटा पुलको बारहरूमा ताला झुण्याउँने गरिन्छ । यसो गरिए मनोकामना पुरा हुने विश्वास स्थानीय मानिसहरूले गर्दा रहेछन् । पुलमा तालाहरू झुन्ड्याउन थालिएको कथा निकै पुरानो र रोचक पनि रहेछ ।

लुभ्रको पिरामिड हेरेपछि सङ्ग्रहालयमा सबैभन्दा प्रसिद्ध चित्र लओनार्दो दा भिझ्चीको मोना लिजा हेर्न हाम्रा आँखाहरू हतारिए । यी बाहेक रेन्वार, राम्ब्रान्ट, रुबेन्स र टिशनको विश्वविख्यात चित्रहरू पनि लुभ्र सङ्ग्रहालयमा राखिएका रहेछन् ।

यहाँको विशाल भवनहरू खडा भएको ठाउँहरूमा ती सेल्टिक सेनोन्स जातिका मानिसहरूको पहिलो बस्ती इतिहासमा पढेर पनि ठम्याउन चाहिँ नसकिन्दो रहेछ । फ्रान्स घुम्न आउँदा हेर्नै पर्नेहरूमा युनेस्को विश्व सम्पदा स्थलहरू फ्रान्सका सम्राट् लुभिस नवौले सन् १६८२ निर्माण गरेको भर्सायलको दरबार,पेरिसदेखि २० लगभग किलोमिटर टाढामा रहेछ ।

यो दरवारको भव्यताबाट प्रभावित भएका नेपालको तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले भर्सायल दरबार जस्तै सन् १९०३ मा सिंहदरबार निर्माण गरेका थिए । उस बेलाको सिंहदरबार एसियाको सबैभन्दा ठुलो दरबार थियो ।

फोन्टेन ब्लोको दरबार र चाट्रेंस क्याथेड्रल पनि विश्व सम्पदामा पर्दो रहेछ । पेरिस देखि लगभग ५५ किलोमिटर टाढामा रहेको फोन्टेन ब्लो दरबार सन् ११३७ मा बनिएको थियो ।

यो दरबार मा सम्राट् लुइ सातौँदेखि नेपोलियन तृतीय बसेका थिए । पेरिसदेखि लगभग ९३ किलोमिटर दक्षिण(पश्चिममा युरे नदीको किनारमा स्थित चाट्रेंस क्याथेड्रल १२ औ देखि १३ औ शताब्दी बिचमा निर्माण गरिएको गिर्जा घर हो ।