ऐतिहासिक किराँतकालीन राज्यको राजधानी विजयपुर वि.सं.१८३० सम्म राजा पृथ्वीनारायण शाहको एकीकरणको क्रममा नेपाल अधिराज्यमा विलय भएको इतिहास पाइन्छ ।
वर्तमान राज्यको संरचना अनुसार कोशी प्रदेशको सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा १४ मा रहेको विजयपुर हालको आधुनिक धरान सहर भन्दा पुरानो हो । २०१७ सालमा धरान नगरपालिका घोषित हुँदा विजयपुर ११ वडामा पर्दथ्यो ।खोजकर्ताहरूका अनुसार विजयपुरमा वि.स. १४७० अगाडी लोहाङसेन नामका राजाले राज्य गर्थे त्यस अगावै पिण्डेश्वर मन्दिरको स्थापना भएको हुनसक्ने अनुमान गरिएको छ । जहाँ सम्म दन्तकाली मन्दिरको वि.सं.१२०० लेखिएको इँटा थियो भन्ने भनाई छ र वि.सं. १८०० मा तत्कालीन राजाले पिण्डेश्वरमा रहेको सरस्वती कुण्डको जिर्णेद्वार गरेको पाइएबाट यी मन्दिरहरूको प्राचीनता पाइन्छ ।
विजयपुरमा नेवार समुदायको बस्ती बढ्दै गएपछि स्थापना गरिएको भिमशेन मन्दिरका पुराना घण्टा चढाइएको र १८०४ मा मन्दिर निर्माण गरेको खोजकर्ताहरूले धार्मिक पर्यटकीय लेख रचनाहरूमा उल्लेख गरेको पाइन्छ ।
हालको आधुनिक नगरको विकास क्रम चाहिँ तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले वि.सं.१९५८ मा बस्ती आबादी गरी हालको धरान ३ पुरानो बजारलाई चन्द्रनगर र वि.सं. १९९० मा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नयाँ बजारलाई आबादी गराई बस्ती बसाएपछि सुरु भएको पाइन्छ ।
यसबाट के पुष्टि हुन्छ भने हालको आधुनिक धरान नगरको विकास हुनुभन्दा अगाडी विजयपुर नै पहिलो प्राचीन र धार्मिकस्थल थियो । यो प्राचीन धार्मिकस्थल सँगै यहाँ आबादी मानववस्ती पनि थियो । त्यसैले विजयपुर निवासी डा.राजेन्द्र शर्माले विजयपुर धरानको माउ भन्ने शीर्षकमा एउटा लेख पनि लेख्नुभएको छ ।
यहाँ जोड्न र भन्न खोजिएको कुरा के हो भने आधुनिक धरान नगरको विकास हुनुपूर्व नै विजयपुरको अस्तित्व र प्राचीन धार्मिकस्थल र आबादी मानव बस्ती थियो । यहाँका पुराना बासिन्दाहरू धेरैको मधेस मौजामा खेतीपाती थियो त्यहाँका कृषकहरूले जग्गाधनीको धान पराल गोरुले तान्ने गाडा स्थल गाडाबाट पहिला देखि नै ल्याई दिने गर्दथे ।
विजयपुर निवासी यातायात व्यवसायी जगदिस नेपालीले पहिलो पटक मोटर कार लिएर विजयपुर आउने गरेको पुराना स्थानीय बासिन्दाहरू बताउँछन् । यसमा विडम्बना को कुरा के छ भने विजयपुरका बासिन्दाले आज सम्म जति सडक राम्रो बनाए पनि जति सडकका नाकाहरू खेले पनि सार्वजनिक यातायातको सेवा सुविधा प्राप्त गर्न सकेका छैनन् ।
साना ठुला सबै प्रकारका सवारी साधन आवतजावत गर्ने गरेको भएता पनि यहाँका बासिन्दाहरूले सहुलियत रूपमा सार्वजनिक यातायातको उपभोग गर्न पाएका छैनन् । जताबाट गएपनि उकालो नचढी नपुग्ने स्थानमा रहेको विजयपुरमा ठुला साना यातायातका साधन प्रवेश गर्ने र बाहिर जाने ४ वटा नाकाहरू रहेका छन् तर ती कुनै पनि सवारी साधन गोटा गन्ती यात्रुहरू ओसार पसार गर्दैनन् । सबैले रिजर्भमा मात्र ओसार पसार गर्ने गर्दछन् ।
सबै यातायातका साधनहरू रिजर्भमा मात्र चल्ने चलाउने भएपछि अहिले सम्म पनि विजयपुरबासीले ३० रुपैयाँको बाटोको आवत जावतलाई १५० देखि २५० सम्म तिर्नुपर्ने अवस्था छ । धरान बजारबाट विजयपुरका प्राचीन मठ मन्दिरमा पूजा आराधना दर्शन गर्न आउने तीर्थयात्रीले समेत सार्वजनिक यातायातको सुविधा नहुँदा यही प्रकारको समस्या झेल्नु परिरहेको छ । त्यसैले धरानको माउ विजयपुर अहिले पनि दुर्गम नै रहेको छ ।
यति मात्र होइन २०७३ सालको राज्यको पुनर्संरचना पछि साबिक पाँचकन्या र साबिक विष्णुपादुकालाई धरान उपमहानगरपालिकामा समावेश गरियो । बिष्णुपादुका देखि धरानसम्म चल्ने सार्वजनिक यातायातका साधन नचल्दा त्यहाँका बासिन्दाहरूले सास्ती खेपिरहनु परेको छ ।
त्यसैगरी साबिक पाँचकन्याको पानवारीमा सार्वजनिक यातायात साधन चल्ने र १२ कक्षा सम्मका माध्यमिक विद्यालयहरू निजी सरकारी त्यही भएकोले त्यति धेरै सास्ती व्यहोर्नु परेको छैन । तर साबिक पाँचकन्या ५ को देवी गाउँसम्म पुल बाटोको सुविधा भएर पनि सार्वजनिक यातायातका साधन नचल्दा त्यहाँका बासिन्दाहरूले त सास्ती भोग्नु परेकै छ ।
त्यस क्षेत्रमा माध्यमिक तहको विद्यालय नहुँदा कक्षा ६ देखि कक्षा १२ सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू दुई घण्टाको पैदल बाटो हिँडेर धरान बजार आउन बाध्य छन् । त्यसो भएको हुँदा कुनै यातायात व्यवसायी वा धरान उपमहानगरपालिकाले विद्यालय वा कार्यालय लाग्ने समय र छुट्ने समयमा सहुलियत भाडा दरमा यातायात सञ्चालन गर्न जरुरी छ ।