धरान : कुनै बेला धरान नगरको एकमात्र सरकारी अस्पतालको रूपमा रहेको धरान-१ स्थित छाता चौक स्थित पुरानो अस्पताल अहिले बेवारिसे अवस्थामा छ ।
लामो समय देखी उक्त अस्पताललाई धरान नगर अस्पताल बनाउने चर्चा चल्दै आएपनि कतैबाट औपचारिक पहल भने भएको थिएन ।कोशी प्रदेश सभाकी सांसद यशोदा कायस्थले भनिन् ‘धरान उपमहानगरपालिका कार्यपालिका बैठकले धरान अस्पताल बनाउने निर्णय गरेको औपचारिक पत्र मन्त्रालयबाट माग भएको छ ।’

धरान नगर अस्पताल बनाउन पहल गर्न सांसद कायस्थ गत साता काठमाडौँ पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी उनीहरूलाई लिखित माग राखी मन्त्रालयमा दर्ता गराएकी छन् ।
प्रधानमन्त्री ओलीलाई बुझाइएको निवेदनमा सांसद कायस्थले धरान स्थित वीपी प्रतिष्ठान ठुलो स्वास्थ्य सम्बन्धी शैक्षिक संस्था रेफरल केन्द्रित रहेको हुँदा धरानका सर्वसाधारण, ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूले पाउने सुविधाबाट वञ्चित रहेको अवस्थाप्रति ध्यानाकर्षण गराइएको छ ।
मधुमेह, उच्च रक्तचाप, लिपिड प्रोफायल, रक्त अल्पता, खोप, बाथ दम सहित नियमित स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा लिन प्रतिष्ठानमा खर्चिलो र झन्झटिलो भएकोले आधारभूत स्वास्थ्य सेवाकालागि बिपीकै सहयोगमा धरान नगर अस्पताल स्थापना आवश्यक रहेको निवेदनमा उल्लेख छ ।
हाल धरान उपमहानगरपालिकाले स्वास्थ्य चौकीको रूपमा वर्थिङ सेन्टर सञ्चालन गर्दै आए पनि पुरानो अस्पतालको एक कुनोमा दाताले २०३९ सालमा निर्माण गरिदिएको भवन जीर्ण अवस्थामा छ । एमबिबिएस चिकित्सक, प्राविधिक सुविधा नभएको अवस्थाका बारेमा प्रधानमन्त्री सहित मन्त्री मन्त्रालयका अधिकारीहरूलाई यथार्थ जानकारी गराएको सांसद कायस्थले बताइन् ।
नेपाल सरकारले २०७६ मा निर्धारण गरेको राष्ट्रिय स्वास्थ्य नीतिमा प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थापनात्मक तथा प्राथमिक स्वास्थ्य सेवालाई एकीकृत रूपमा विकास तथा बिस्तार गर्ने उल्लेख गरेको छ ।
पूर्व सुनसरी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.श्रीराम शाह भन्छन् ‘तर धरान उपमहानगरपालिका भइसक्दा पनि स्वास्थ्य नीति अनुसार सुविधाबाट वञ्चित छ ।’ स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी स्वास्थ्य केन्द्र बनाउन सकिए पनि नगर अस्पतालको रूप लिन सक्ने उनको भनाई छ ।
सरकारी नीतिको लक्ष्य प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने हक धरानवासीले उपभोग गर्न पाएका छैनन् ।
प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक, बालबालिकाको स्वास्थ्य सम्बन्धी हक, स्वास्थ्यमा राज्यको लगानीमा वृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने लक्ष्य प्राप्त गर्नका लागि पनि धरानमा नगर अस्पताल स्थापना आवश्यक छ ।
राणाकालमा जुद्धनगर अस्पतालको रूपमा स्थापना भएको अस्पताल २०४५ सालको भूकम्पमा ध्वस्त भएको थियो । त्यस पछि दाताबाट निर्माण भएको मातृशिशु सेवा केन्द्रमा चल्दै आएको अस्पताल धरानबाट घोपा क्याम्प उठेर गएपछि ब्रिटिस क्याम्पमा पूर्वाञ्चल क्षेत्रीय अस्पतालमा गाभियो ।
सन् १९९३ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि बिपीले नै नगर अस्पताल सञ्चालन गर्ने भनिएको थियो । अस्पताल सञ्चालन गर्ने भन्दा पनि स्वास्थ्य मन्त्रालयको स्वामित्वमा त्यहाँको १ बिघा ५ कट्ठा जग्गाको उपयोगका लागि स्वामित्व हासिल गर्नमा वीपी प्रतिष्ठान लाग्यो ।
सांसद कायस्थले प्रधानमन्त्री समेतलाई दिएको लिखित माग पत्रमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै सहकार्यमा स्थानीय सरकार धरान उपमहानगरपालिकाको व्यवस्थापनमा नगर अस्पताल स्थापना गरी स्वास्थ्य सेवा पुनः सञ्चालन गर्न सकिने कुरामा ध्यानाकर्षण गराइएको छ ।