नेपाल प्राकृतिक स्रोतसाधनले धनी देश हो तर गरिबी र बेरोजगारीले सताएको छ । हिमाल, जलस्रोत, पर्यटन, खनिज जस्ता असीम सम्भावनाले भरिपूर्ण देश अझै पनि विकासको बाटोमा अघि बढ्न नसक्नुको मूल कारण भनेको दृष्टिविहीन नेतृत्व र असक्षम राज्य संयन्त्र हो ।

बहुदलीय व्यवस्थाको आगमनपछि जनताले स्थायित्व, सुशासन र समृद्धिको ठुलो आशा राखे तर विगत तीन दशकभन्दा बढीको यात्रामा नेपाली जनताले पाएको भने अस्थिरता, दलगत स्वार्थ र सत्ताको लालसा मात्र हो ।

नेताहरूले मुलुकलाई दीर्घकालीन योजना र स्वावलम्बनको बाटोमा अघि बढाउनुको सट्टा अल्पकालीन सत्ता समीकरण र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिए ।  यसकै परिणाम स्वरूप नेपाल प्राकृतिक स्रोतले धनी भए पनि गरिब जनजीवन भएको मुलुकको रूपमा परिचित हुन पुगेको छ ।

देशको अवस्था झनै जटिल हुने अर्को कारण भनेको विश्व राजनीति फेरि दुई ध्रुवमा बाँडिनु हो । एकातिर अमेरिका र उसका सहयोगी राष्ट्रहरू छन् भने अर्कोतिर चीन र रुसको साझेदारी छ । भारतले पनि आफ्नो भू-राजनीतिक प्रभाव बढाउँदै लगेको छ । यसरी शक्तिशाली राष्ट्रहरूबिच नेपाल सामरिक चौराहामा परिरहेको छ ।

भारतले लिपुलेक हुँदै चीनसँग व्यापारिक सम्झौता गरेको घटनाले नेपालप्रति उसको दृष्टिकोण प्रष्ट पारेको छ । चीनले लगानीमार्फत नेपालमा आफ्नो उपस्थिति विस्तार गर्ने कोसिस गरिरहेको छ भने अमेरिका विभिन्न परियोजनामार्फत आफ्नो प्रभाव कायम गर्न खोजिरहेको छ । यस्तो अवस्थामा नेपालले अपनाउनुपर्ने परराष्ट्र नीति विवेकशील र सन्तुलित हुनुपर्नेमा वर्तमान नेतृत्व असक्षम देखिएको छ । विदेशी दबाबलाई व्यवस्थापन गर्न नसक्नु र आन्तरिक दृष्टिविहीनताले गर्दा नेपाल अझ अप्ठ्यारो मोडमा पुगेको छ ।

युवा पलायन यस मुलुकको अर्को गम्भीर समस्या हो । रोजगारी र भविष्य देख्न नसकेर करिब ४० लाखभन्दा बढी नेपाली विदेशमा श्रम बेचिरहेका छन् । देशभित्र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिन सकिएको छैन । वैदेशिक ऋण ४७ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ, जसको ब्याज तिर्न मात्रै वार्षिक बजेटको ठुलो हिस्सा खर्च हुने अवस्था छ । भ्रष्टाचार अझै पनि सामान्य संस्कृतिको रूपमा फैलिएको छ, जसले गर्दा सुशासन र पारदर्शिताको अपेक्षा विफल भएको छ ।

यस्तो निराशामाथि आशाको किरण बनेर आएको छ नयाँ पुस्ता अर्थात्  जेनजीको आन्दोलन । यो आन्दोलनले भ्रष्टाचारविरुद्ध कठोर आवाज उठाएको छ । सामाजिक सञ्जालमार्फत सुरु भएको अभियान छिट्टै सडकमा पुगेको छ र देशव्यापी स्वरूप ग्रहण गरेको छ । जात, भाषा, भूगोल वा वर्गगत विभाजनभन्दा पर गएर युवाले साझा मुद्दामा हातेमालो गरेका छन् । पुरानो पुस्ताले सामान्य मानेको भ्रष्टाचारलाई अस्वीकार्य भन्दै यो पुस्ताले शून्य सहनशीलताको माग गरेको छ । डिजिटल प्लेटफर्मको शक्तिलाई प्रयोग गरेर उनीहरूले पुराना राजनीतिक संस्कृतिलाई नै प्रश्नमा ल्याएका छन् । सरकारलाई दबाब दिने र कतिपय निर्णय सच्याउन बाध्य बनाउने सम्मको सफलतापूर्ण परिणाम पनि देखिएको छ ।

विश्वका अन्य मुलुकहरूले पनि यस्तै परिस्थितिबाट आफ्नो भविष्य निर्माण गरेका छन् । भुटानले जलविद्युतमार्फत आत्मनिर्भरता र वैदेशिक ऋण घटाउने रणनीति अपनाएको छ । सिंगापुरले सीमित स्रोत भए पनि सुशासन र पारदर्शिताको बलमा विश्वकै धनी राष्ट्र बन्न सक्यो । रुवाण्डाले युद्ध र विनाशपछि शिक्षा र प्रविधिमा लगानी गरेर अफ्रिकामा आशाको केन्द्र बन्न थालेको छ ।

नेपालसँग यी देशभन्दा बढी प्राकृतिक स्रोत छन्, तर नेतृत्वको असफलताले ती स्रोतको सदुपयोग गर्न सकिएको छैन । अब भने जेनजीको आन्दोलनले नेपाललाई यस्ता उदाहरणतर्फ हिँड्न प्रेरणा दिएको छ ।

यस आन्दोलनले नेपाली समाजलाई तीन वटा महत्त्वपूर्ण सन्देश दिएको छ । पहिलो, भ्रष्टाचारलाई अब सामान्य रूपमा स्वीकार गरिँदैन । दोस्रो, डिजिटल आन्दोलन शक्तिशाली हुन्छ र छिटो परिणाम दिन सक्छ । तेस्रो, नेतृत्वको विकल्प अपरिहार्य भइसकेको छ, किनकि पुरानो पुस्ताले असफल प्रमाणित गरिसकेका छन् ।

आज नेपाल ऐतिहासिक मोडमा पुगेको छ । एकातिर दृष्टिविहीन नेतृत्व र विदेशी दबाबले मुलुकलाई असुरक्षित बनाएको छ भने अर्कोतिर नयाँ पुस्ताको आन्दोलनले देशलाई नयाँ दिशातर्फ धकेल्ने सम्भावना देखाएको छ । नेपाललाई अब भाषण होइन, दृष्टि चाहिएको छ । व्यक्तिगत स्वार्थ होइन, राष्ट्र हितमा आधारित निर्णय चाहिएको छ । पुरानो संस्कृतिको निरन्तरता होइन, नयाँ पुस्ताको साहसिक नेतृत्व आवश्यक छ ।

नेपाल अबको यात्रामा जेनजीले देखाएको दृढता र नागरिक समाजको जागरणलाई आत्मसात् गर्न सके मात्र सम्भावनाको देश वास्तविकतामा रूपान्तरण हुनेछ । राष्ट्रलाई नयाँ गति दिने शक्ति यही पुस्तामा छ र समयले भनेको छ-अबको नेपाल नयाँ पुस्ताकै काँधमा अडिएको छ ।

- लेखक नेपाली सेनाका पूर्व सैनिक अधिकृत हुन ।