धरान : कोरोनाभाइरस महामारीले स्थगित कक्षा ११ को बोर्ड परीक्षा यस वर्ष नहुने भएको छ। एसईईकै जस्तो गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्न लागिएको हो।

शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बैठकले आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए।

‘विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको छ,’ उनले भने, ‘सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीलाई कसरी नम्बर दिने भन्ने कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ।’

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको परिषद बैठकले परीक्षा रद्द गर्दै आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको हो।

कोरोना महामारीले परीक्षा सम्भव नभएकोले आन्तरिक मूल्यांकन प्रणाली अपनाउनुपरेको उनले बताए। ‘यस वर्षको कक्षा ११ को परीक्षा रद्द गरिएको हो। अर्को वर्षदेखि के गर्ने भन्ने पछि छलफल गर्छौं,’ उनले भने।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो।

निर्देशक भट्टराईका अनुसार कक्षा १२ को बोर्ड परीक्षा भने अनुकूल समयमा लिइन्छ। कोरोना महामारी कम भएपछि उक्त परीक्षा हुनेछ। ‘कक्षा १२ को परीक्षा स्थगित गरिएको हो, अनुकूल भएपछि कार्यतालिका निकालेर परीक्षा नै गरिन्छ,’ उनले भने।

setopati.com बाट