दशैंको आगमन सगैं शुभकामनाको लहर बढ्दो छ। जानेर वा नजानेर चाडपर्वको मौलिक शब्द हराउँदै छ ।

दशैं, तिहार सम्भवतः सबै वा अधिकांश नेपालीले मनाउने चाड हो । दसैँको सट्टा विजया दशमी भन्न थालियो । गलत शब्द होइन, तर मौलिकपन हराएको अनुभूति हुन्छ । "दशैं" शब्दले त्यसै उल्लास, उमङ्ग र आनन्दको अनुभूति गराउँछ, "विजया दशमीमा" आफ्नोपनको अनुभुति नै हुँदैन ।

तिहारको साटो दीपावली वा दिवाली शब्द प्रयोग गरी शुभकामना दिन थालियो । यी दुवै शब्दहरू संस्कृत हुन र चाडपर्व सँग सम्बन्धित छन्। नेपालमा काग पूजा, कुकुर पूजा, गाई (लक्ष्मी) पूजा, गोरु (गोवर्धन) पूजा र भाइ टीका समेत ५ दिनको पर्व मनाइन्छ, जसलाई (यम पञ्चक) तिहार भनिन्छ । लक्ष्मी पूजाको दिन र भोलिपल्ट भैलो र देउसी खेलिन्छ ।

दीपावलीको अर्थ बत्ती वा दीपको लहर हो जुन लक्ष्मी पूजाको दिन बालिन्छ । यद्यपि आजकाल बिजुलीको पहुँच र प्रविधिको विकासले धेरै दिन बत्ती बालिन्छ । भारतमा र नेपालमा रहेका भारतीय मूलका मानिसहरूले, नेपालीले मनाउने ५ दिनको विभिन्न पूजाहरू मध्ये लक्ष्मी पूजा मात्र धूमधाम सँग मनाउँछन्, जसलाई दीपावली वा दिवाली भनिन्छ । जसरी भारत वा अन्य देशमा रहेका नेपाली वा नेपाली मूलका मानिसले दशैं र तिहार नै मनाउँछन् ।

यसको आशय तिहार ले ५ दिनको अवधिलाई बुझाउँछ, जबकि दीपावलीले लक्ष्मीपूजाको १ दिनलाई मात्र बुझाउँछ। हामी तिहार ५ दिनको मनाउँछौँ कि १ दिनको ? त्यसैले शुभकामना तिहारको कि दिपावलीको ? विचार गरौँ ।

किन यस्तो भयो ?

नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको बढी प्रभाव र नेपालमा भारतीय लगानीका ठुला व्यावसायिक घरानाहरू एवं भारतीय मूलका ठुला नेपाली व्यवसायीहरूले नेपाली पत्रिका, रेडियो, टेलिभिजन मार्फत तिहारको शुभकामना दिँदा दिपावल शब्दको प्रयोग गर्ने गरेकाले नेपालका प्राय अधिकांश ठुला व्यवसायीक घरानाहरूले पनि सोही शब्द प्रयोग गर्न थाले।

फलस्वरूप मिडिया तथा सामाजिक सञ्जालमा सोही शब्दको बढी प्रयोगको कारण दीपावली शब्दले व्यापकता पायो । तिहार शब्द ओझेल पर्दै गइरहेछ । दीपावली शब्दको प्रयोगले तिहार मनाउने परम्परालाई केही हुँदैन तर मौलिक पहिचान मासिने र सांस्कृतिक अतिक्रमण बढ्ने मात्र हो । खास केही हुँदैन, किनकि नेपाल र नेपालीलाई खास केही हुनै छोडिसक्यो । मिडियाका मित्रहरूले अलिकति विचार गरे पुग्छ ।

हामी सबैलाई थाहा छ, यस्तै तथा अन्य समस्याहरू नेपालका विभिन्न संस्कृति परम्पराहरू माथि बढदैछ । अहिले प्रसङ्गवश यसको उल्लेख गरियो ।

यद्यपि यस वर्ष सारा मानवजाति नै कोरोनाको प्रकोप बाट पीडित छ, त्यसैले यो वर्ष चाडपर्व हामी सबैलाई उल्लासमय नहुन सक्छ । तथापि कोरोनाको प्रकोपले हाम्रो मौलिक जीवनशैलीमा आतङ्क मच्चाए जस्तै मौलिकपन खोसिएको शुभकामनाको प्रकोपले यो विचार व्यक्त गर्न बाध्य बनायो ।

अन्त्यमा: संसारमा कुनै पनि भाषा, धर्म, संस्कृति, परम्परा आदि अर्काको कारणले मात्र मासिँदैन, आफूले बेवास्ता गर्‍यो भने चाहिँ पक्कै मासिन्छ ।   

दशैं र तिहारको शुभकामना ।