इटहरी : केही दिन अगाडी इटहरी सामुदायिक अस्पतालका एम्बुलेन्स चालक जन्नद मन्सुरीले डेलिभरी बिरामी लिएर बिपी प्रतिष्ठान जानुपर्‍यो । साँझको समय भएकोले गाडीको चापपनि बढी नै थियो । इटहरी बाट तरहरा सम्मको सडक फराकिलो भएकोले कुनै समस्या भएन । तर तरहरा देखी धरान सम्मै बाटोमा ठुलठुला खाल्डा भएकोले निकै समस्या भएको र बिरामीको अवस्था संवेदनशील भएको र सडक पनि खाल्डाखुल्डी भएकोले दोहोरो मारमा परेको उनले सुनाए ।

“बिरामीलाई सकेसम्म चाँडो अस्पताल पुर्‍याउनुपर्ने हुन्छ ।, उनी भन्छन् , तर बाटो बिग्रिएकोले समयमै बिरामी पुर्‍याउन सकिँदैन । डेलिभरी र अपरेसन गरेको बिरामी लिएर जाँदा धेरै डर लाग्छ ।” 

धरानमै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले पूर्वमा दमक देखी राजविराज सम्मका बिरामी सोही राजमार्ग भएर आवतजावत गर्छन् । बिपी प्रतिष्ठानका डाक्टर ज्ञानेन्द्र मल्ल सडकको कारण बाच्न सक्ने बिरामीलाई पनि बचाउन नसकिने बताउँछन् । “दुर्घटना र डलीभरी केसहरू संवेदनशील हुने भएकोले समयमै उपचार नपाए मृत्यु हुने अवस्थाका हुन्छन् ।, उनी भन्छन्, तर बाटोको खराबीको कारण धेरै समय लाग्ने र बिरामी थतर्किएर समस्या जटिल बन्ने गर्छ ।”

कोसी राजमार्ग अन्तरगत इटहरी धरान सडक खण्ड यात्रुको लागी धराप थापे जस्तै बनेको छ । राजमार्गको बिचमा ठुलठुला खाल्डा भएकोले पहिलो पटक यात्रा गर्ने यात्रुहरू दुर्घटनामा पर्ने गरेका छन् । इटहरी देखी तरहरा सम्मको क्षेत्रको सडक बिस्तार भइरहेको छ । बाकी तरहरा देखी धरान सम्ममा सडक भत्किएको लामो समय सम्म पनि मर्मत हुन सकेको छैन ।

सामाजिक विषयमा कलम चलाउने पत्रकार सुबिद गुरागाई यो समाज प्रतिको घोर अन्याय भएको बताउँछन् । आफू पनि सोही राजमार्ग बाट बारम्बार आवतजावत गर्ने भएकोले धेरै पटक समस्यामा परेको उनले सुनाए । सोही क्षेत्रमा सानाठुला गरी १ सय ५७ वटा खाल्डा रहेकोले दुर्घटनाको जोखिम अत्याधीक भएको उनको भनाइ छ ।

Dharan-Road-khaldo-2

विगत १ वर्ष देखी खाल्डो परेको बाटो मर्मत नहुँदा हजारौँ यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उता सडक विभागले भने आफूहरूको जिम्मेवारी भन्दा बाहिरको विषय भएको बताउने गरेको छ । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख पशुपति ज्ञवाली गत श्रावण देखी नै रानी विराटनगर-इटहरी-धरान सडक परियोजनाले जिम्मा लिएको कारण आफ्नो क्षेत्राधिकार बाहिरको विषय भएको बताए ।

६ लेन सडक बिस्तार गर्ने भन्दै जङ्गल बिचमा रुखहरू काटिएको भएपनि सडक मर्मतको काम भने हुन सकेको छैन । रानी-विराटनगर-इटहरी-धरान सडक आयोजनाका प्रमुख बद्री प्रसाद शर्मा सँग यस विषयमा कुरा गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । बारम्बार सम्पर्क गर्दा समेत सम्पर्कमा आउन सकेनन् ।