पिण्डेश्वरले पर्यटनको उद्धार गरे, मन्दिरको जीर्णोद्धार सम्म भएन

  • फाल्गुन ४, २०७७
  • २७८ पटक पढिएको
  • हर्ष सुब्बा
alt तस्विरः पिण्डेश्वरको मुख्य मन्दिर

धरान :  मुलुकमा समृद्धिको नारासँग जोडिदैं आएको पर्यटनको नाममा तिनैतहका सरकार बजेटको खोलो बगाउँदै छन् । ठाउँ कुठाउँमा अर्बौं खर्चेर टावर ठड्याउने काम हुँदैछ । हिमालपछि पर्यटनको मुख्य आधार धार्मिक स्थल, ऐतिहासिक, पुरातात्विकस्थलहरुका पूर्वाधारको विकास, सम्भार र जीर्णोद्धार र भने उपेक्षित छन् । नेपालमा धार्मिक पर्यटनको नयाँ लहर सुरुआत गरेको पिण्डेश्वर बाबाधामले पूर्वमा पर्यटनको उद्धार त गरे, जीर्णोद्धार नहुँदा उसैको भने उद्धार हुनसकेको छैन ।

बाह्रौँ शताब्दीमा बनेको मानिने पिण्डेश्वरमा चार दशक अघि बोलबम मेलाको शुरुवात भएको थियो । २०४४ सालको त्यस कालखण्डमा पर्यटनको आकर्षण धार्मिकस्थलहरु हुने कल्पना पनि गरिएको थिएन । अहिले बर्सेनि साउन महिनाको बोलबम मेलामा मात्र यहाँ सप्तकोसीको जलार्पण गर्न ५ लाख बढी श्रद्धालु आउँछन् । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीका अनुसार त्यस अघिपछि दैनिक देश विदेशका लाखौं दर्शनार्थी आउने गरेका छन् । भन्छन् ‘पूर्वमा धरानलाई पर्यटनको केन्द्र बनाउन पिण्डेश्वरले मुख्य भूमिका खेल्दै आएको छ ।’ तर लाखौँ श्रद्धालुको चाप बढे अनुसार बाह्रौँ शताब्दीमा बनेको भौतिक संरचना जीर्णोद्धार भएको छैन ।

पूर्वीय धर्मशास्त्रहरूमा महादेव शिवलाई अलौकिक शक्तिमानको रूपमा वर्णन गरिएको छ । उनले जलसमाधी लिन आँटेको पृथ्वीलाई बराह अवतार लिएर उद्धार गरेको पुराण वाचन गरिन्छ । उनै शिवले देव–दानव युद्धमा देवताहरू पराजित भएपछि पृथ्वी मथेर अमृत निकाल्दा बनेको कालकुट विष पिए । मानव उद्धारका लागि उनले नीलकण्ठ अवतार लिएको वर्णन अहिले पनि पारायण गरिन्छ । त्यही अमृत पिण्ड बाट शिवले आफै स्थापना गरेको आस्थाले साउन महिनामा त्यस्तो ठाउँ हेर्न आउनेहरु एक किलोमिटर लामो लाइनमा उभिएका देखिन्छन् ।

Pindeshwar-mandir-2
तस्विरः गुम्बज फेदका आकृतिहरू ।

पिण्डेश्वर परिसरमा केही काम भए पनि मुख्य मन्दिर परिक्रमास्थलको जीर्णोद्धार नहुँदा दर्शनार्थी बेहोस समेत हुन्छन् । साना पुजारी गोकुल पोखरेल भन्छन् ‘महादेवले मानव उद्धारका लागि कालकुट विष पिएको ठाउँ पिण्डेश्वरले अहिले पर्यटनको उद्धार ग¥यो तर, त्यही पवित्र स्थलको उद्धार भने भएको छैन ।’ परिसरमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले विक्रम संवत् १८८४ मा चढाएको घण्ट छ । त्यसअघि १२५२ मा चढाएको अर्को घण्टको लिपि बुझिन्न । उक्त संवत् लाई आधार मान्दा पिण्डेश्वर मन्दिरको निर्माण बराहक्षेत्र मन्दिर भन्दा अगावै भएको बुझिन्छ । विक्रम संवत् १९९० सालको भुईँचालोमा भत्किए पछि १९९१ सालमा बराहक्षेत्र मन्दिरको पूनःनिर्माण प्रधानमन्त्री जुद्ध शम्सेरे पूनःनिर्माण गरेको शिलालेख छ । पञ्चायतकलामा बाह्रौं शताव्दीको अष्टभूजा भगवतीको मूर्ति चोरी भएको सहित पिण्डेश्वर थुप्रै प्रागैतिहासिक मूर्तिहरू छन् ।

पोखरेल भन्छन् ‘मुख्य मन्दिरको रंगरोगन सम्म हुँदैन, सात देवालय सहितका वरीपरीकोको परिक्रमा स्थलमा पचास जना श्रद्धालु अट्दैन ।’ नब्बे सालको भूकम्प त्यसपछि नेपालमा आएका ठूल–ठुला भूकम्पमा परिसरका केही देवालयहरू ढलेपनि मुख्य मन्दिर र परिक्रमा स्थल उस्तै छन् । कोठा कोठा जोडिएर बनेको सात देवालय सहितको परिक्रमा स्थल सुर्कीचुनाले बनेको हुँदा कुनै पनि बेला ढल्ने जीर्ण अवस्थामा छन् । उनका अनुसार परिक्रमा स्थल लाई फराकिलो बनाउँदै जीर्णोद्धार गर्न जरुरी छ । नन्दी मुख्य मन्दिरको द्वार अघि हुनुपर्नेमा बाहिर जथाभाबी भौतिक संरचना बनाउँदा ढोका बाहिर परिएको छ । उनले भने ‘नन्दी लाई मुख्य मन्दिर अघि पर्ने गरी परिक्रमास्थलको जीर्णोद्धार हुनुपर्दछ ।’

मुख्य मन्दिर पुरातात्त्विक महत्त्वको भएकाले पुरातत्व विभागको स्वीकृतिमा मात्र सम्भार गर्न पाइन्छ । पुरातत्व विभागका अधिकारी बेलाबेला आउँछन् तर जीर्णोद्धारको कुरा गर्दा फेरी आउने बताउँदै टार्ने गरेको छ । पुजारी सरोकारवालाहरू सँग छलफल भेटघाट समेत हुने गरेको छैन । पिण्डेश्वरको जीर्णोद्धारमा चासो राख्दै आएका प्राध्यापक डा.राजेन्द्र शर्माले भने ‘पुरातत्व र गुठी संस्थानले चासो नराख्दा जीर्णोद्धारका लागि भारतीय दूतावासबाट बजेट आउन सक्ने अवसर पनि गुमेको छ ।’

उनका अनुसार दूतावासको धरान स्थित पेन्सन वितरण कार्यालय मार्फत भारतीय दूतावासमा जीर्णोद्धार बजेटको लागि लिखित प्रस्ताव गरिएको थियो । करिब दश वर्ष अघि तत्कालीन मेजर अमित पौलले दूतावासमा पहल गर्ने वचन पनि दिएका थिए । ठुलै सहयोग आउन सक्थ्यो । उनले भने ‘मुख्य मन्दिर वरिपरिका संरचनाको जीर्णोद्धार गर्न पनि पुरातत्वले गर्न चाहेन ।’ शर्माका अनुसार पुरातत्वले आफ्नै डिजाइनमा पनि जीर्णोद्धार नगर्ने, भएको स्वरूप परिवर्तन गर्न नदिने भनी सम्भव भएसम्मको सर्भे पनि नगर्दा संरचना भत्किने प्रतीक्षा भन्दा अर्को विकल्प रहेन ।

Pindeshwar-3
तस्विरः जीर्णोद्धारका लागि प्रस्तावित परिक्रमा स्थल

जीर्णोद्धारको प्रस्ताव मुख्य मन्दिर वरिपरि परिक्रमास्थलको हो । गर्भ गृह रहेको मुख्य मन्दिरको पुरातात्त्विक स्वरूपको संरक्षणमा विभागको ध्यान पुगेको देखिन्न । एघारौँ बाह्रौँ शताब्दीको गुम्बज शैलीमा बनेको गुम्बजको चौतर्फी फेदीमा १२८ वटा भगवान् शिवका नन्दी लगायतका भूतप्रेतका आकृतिहरू छन् । ती कलात्मक ससाना मूर्तिहरूको आकृति रंगरोगन गर्दा संरक्षण गरिनु जरुरी छ । तर पुरातत्वको ध्यान त्यसमा नजाँदा लिपिएर आकृति नष्ट हुने अवस्थामा छ । पुरातत्वले मुख्य मन्दिरको रंगरोगन समेत नगरेको पुजारीहरूको गुनासो छ ।

प्राविधिक रूपमा मुख्य मन्दिर बलियो भएको पुजारी पोखरेल बताउँछन् । धरान उपमहानगरपालिका इञ्जिनीयिर हस्त राईले गरेको प्राविधिक अध्ययनमा मन्दिर ४८ इन्च मोटाई ५२ चौडाइ कटिङ गरिएको सग्लो ढ्रुंगाको पर्खालले बनेको पाइएको छ । मन्दिरको गुम्बज एउटै ढुंडगाले बनेको छ । मन्दिर बनेको पर्खालमा ढुङ्गा जोड्न कुनै पदार्थ प्रयोग गरिएको छैन । पछि सिमेन्टको प्लष्टर गरिएकाले झट्ट हेर्दा मुख्य मन्दिर अन्य मन्दिर जस्तै देखिएको हो ।

प्रा.डा. शर्माका अनुसार जीर्णोद्धारमा गुठी संस्थानको पनि चासो नहुँदा प्रदेश सराकार, उपमहानगरपालिकाको बजेट मन्दिर बाहिर श्रृङगारीक रूपमा भौतिक निर्माणहरूमा खेर गइरहेका छन् । उनले भने ‘प्रदेश सरकारले वर्षमा ३० लाख रुपया सम्म बजेट दिएको छ, ती सबै बाहिरका भौतिक निर्माणमा खर्च भए, जीर्णोद्धारमा केही हुन सकेको छैन ।’ त्यसको लागि गुठीको सहमति चाहिन्छ । तर ‘ जीर्णोद्धारको सहमति माग्न आए हामी दिन्छौ’ भन्न बाहेक अन्य चासो नराखेको गुठी संस्थान लाई उद्धृत गर्दै शर्माले बताए ।

पिण्डेश्वरस्थल धरान वडा १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले भने जीर्णोद्धारका लागि पुरातत्व विभागको टोलीले अध्ययन गरिसकेको दाबी गरे । उनले भने ‘मुख्य मन्दिरको संरचना बाहेक परिक्रमस्थल लाई फराकिलो बनाएर जीर्णोद्धार गर्न पुरातत्वले नै बजेट लगानी गर्ने भएको छ ।’ उनका अनुसार गत वर्ष पुरातत्वको टोली आएको हो । डिजाइन बनिसकेको पनि उनले दाबी गर्दै भने ‘कोरोना महामारी र लकडाउनका कारण काम रोकिएको हो ।’ बाबाधाम अध्यक्ष बनेपनी भने दसौँ वर्षअघि देखी उठेको जीर्णोद्धारको प्रयास पुरातत्व विभागको बेवास्ताकै कारण हुन नसकेको बताउँछन् । विभागले सरोकारवाला सँग सम्पर्क सम्म नगरेको उनको गुनासो छ ।

Pindeshwar-4
तस्विरः बाहिर सरस्वती सरोबर

धरान उपमहानगरपालिका मेयर तिलक राईले भने ‘विभागले औपचारिक रूपमा उपमहानगरपालिका सँग सम्पर्क गरेको छैन ।’ धरानको ऐतिहासिक धरोहर पिण्डेश्वर पूर्वको मुख्य पर्यटन गन्तव्य रहँदै आएकाले लामो समय देखी मुख्य मन्दिर परिक्रमा स्थल जीर्णोद्धारको कुरा उठ्दै आएको छ । पुरातत्व, गुठी संस्थानको समन्वयमा जीर्णोद्धारको लागि यस वर्ष परिणाममुखी काम गरिने उनले बताए । पिण्डेश्वरको दैनिक सञ्चालन गुठी संस्थान अन्तर्गत हुन्छ । मन्दिरमा पुजारी सहित ४ कर्मचारी सहित दैनिक खर्चको रूपमा हाल संस्थानले ३ हजार रुपया बजेट दिन्छ ।

भाइ पुजारी पोखरेलका अनुसार अन्य कुरामा चासो राख्दैन । कोरोनाकलामा आठ महिना पिण्डेश्वर पूर्णतया बन्द रह्यो । त्यस अवधिमा मन्दिरमा आश्रितहरूका बारेमा संस्थानले कुने चासो लिएन । पिण्डेश्वर धरानको पर्यटनको धार्मिक, ऐतिहासिक, प्राकृतिक आकर्षण भएको प्रचार गरिन्छ । तर यसको जीर्णोद्धार जरुरी छ भनी सम्बद्ध निकायहरू बाट हुन ढिलो भएको उनको गुनासो छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved