इटहरी : इटहरी उपमहानगरमा वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिइएको छ ।

यही आर्थिक वर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ । यस क्रममा दुई हप्ताका बिचमा तीन वटा वडा कार्यालय भवन शिलान्यास गरिएको छ । वडा नम्बर ५,९ र ८मा भवन शिलान्यास गरिएको हो ।

आज बिहान उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्बर ८ को वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् । वडाध्यक्ष रोहित चौधरीकी आमा सविता चौधरीले प्रदान गरेको २२ धुर जग्गामा वडा कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चौधरीले जग्गा उपलब्ध गराउने सविता चौधरी प्रति आभार व्यक्त गरे ।

उनले आफ्नो सम्पूर्ण ध्यान विकास निर्माणमा भएको बताए । यो आर्थिक वर्षमा एक अर्ब बढीका विकास निर्माणका योजना कार्यान्वयन गरिने जानकारी दिए । वडाध्यक्ष रोहित चौधरीले आफूले चुनाव ताका गरेको वाचा बमोजिम वडा कार्यालय भवन निर्माण सुरु भएकोमा खुसी व्यक्त गरे ।

नगरपालिकाका इन्जिनियर जीवन घिमिरेले ८६ लाख ३४ हजार ४ सयको लागतमा दुई तले अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण हुने जानकारी दिए । वडा सदस्य खुपराज शर्माले जग्गादाता सविता चौधरी र भवन निर्माणका लागि बजेट विनियोजनका लागि उपमहानगरलाई धन्यवाद ज्ञापन गरे ।

ठेकेदार कम्पनीका रुद्र बास्कोटाले निर्माण अवधि १ वर्षको भए पनि दसैँ सम्ममा भवन निर्माण गरिसक्ने प्रतिबद्धता जनाए । इटहरी उपमहानगरको वडा नम्बर दुईको नयाँ कार्यालय भवन निर्माण भइसकेको छ ।

इन्जिनियर जीवन घिमिरेका अनुसार यसअघिनै आठ वटा वडा आफ्नै भवनमा छन् । यो आर्थिक वर्षमा आठ वटा भवन निर्माण हुने छन् । बाँकी चार वटा वडाको वडा कार्यालय भवन अर्को आर्थिक वर्षमा निर्माण गरिने छ ।