धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले धरानका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्ने कार्यक्रम सञ्चालन गरिने बताएका छन् । 
उपमहानगरपालिकाका स्वस्थ्यकर्मीहरुको ‘समुदायमा आधारित रोग निगरानी प्रणाली’ सम्बन्धी अभिमुखीकरणमा बिहीबार कार्यवाहक प्रमुख बेघाले उक्त जानकारी दिँदै त्यसका लागि तयार रहन आग्रह गरे ।
उनका अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमै पुगेर रगत, सुगर र प्रेसरको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गर्ने कार्यपालिकाले निर्णय गरिसकेको छ । उनले कार्यक्रमको प्रभावकारिता यस्को कार्यान्वयनमा स्वास्थ्यकर्मीहरूको जिम्मेवारी र काममा निर्भर रने बताए । 
उनले भने, “तपाईँहरूले राम्रो काम गर्नुभयो भने नगरपालिकाको स्वास्थ्य सेवाप्रति सकारात्मक सन्देश जान्छ, नराम्रो भए नगरपालिकाका स्वास्थ्यकर्मीप्रति जनविश्वास गुम्ने जोखिम हुन्छ ।’
धरानको स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित र जनमुखी बनाउन नगर अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको कावा प्रमुखको भनाई थियो । उनले भने ‘नगर अस्पताल सञ्चालनसँगै स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखिने छ ।’
कावा प्रमुख बेघाले मालपोत र नापी कार्यालयको सेवालाई समेत व्यवस्थित बनाउन कर्मचारीहरू उत्साहका साथ खटिरहेको उल्लेख गरे । 
धरानको विकास नगर प्रमुख, उपप्रमुख वा प्रशासकीय अधिकृतले मात्रै चाहेर सम्भव नहुने बताउँदै  कर्मचारीहरूको सामूहिक प्रयास, टिमवर्क र समन्वय अपरिहार्य रहेकोमा जोड दिए । 
कार्यक्रम स्वास्थ्यकर्मीहरूको पुनर्ताजगी तथा प्राविधिक क्षमता अभिवृद्धि गर्न युनिसेफ र पिएलआर नेपालको साझेदारीमा आयोजना गरिएको बताइएको छ । कार्यक्रम लागू भएका ४४ स्थानीय तहमध्ये धरान २५औँ स्थानमा रहेको साझेदार संस्थाले जनाएको छ । 
अभिमुखीकरणमा प्रत्येक वडामा २५ जना स्वयंसेवकलाई तालिम दिइनेछ । उनीहरूले समुदायमा देखिने रोगका लक्षण वा महामारीजन्य अवस्थाबारे तत्काल स्वास्थ्य संस्था वा हटलाइन १११५ मा जानकारी गराउने छन् ।
हाल सञ्चालनमा रहेको निष्क्रिय निगरानी प्रणाली मात्रै पर्याप्त नभएकाले समुदाय स्तरमै पुगेर रोग पहिचान र रोकथाम गर्न सक्रिय निगरानी प्रणाली लागू गरिएको जनाइएको छ ।
दुई दिने प्रशिक्षणमा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत आदित्य कुमार कर्ण,स्मृति लुइँटेल र  स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत सतिश कुमार ठाकुर लगायतले सहजीकरण गर्ने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।