झापा : आम्दानीको गतिलो श्रोत बनेको कुखुरा पालन व्यवसायमा समस्याहरू अधिक छन् ।

प्राय कृषकहरूले आफ्नै बल बुद्धि लगाएर यो व्यवसाय सञ्चालन गरिरहेका छन् । यसबाट मनग्गे आम्दानी पनि लिन उनीहरू सफल भएका छन् । तर प्राय कुखुरा पालकहरूको साझा गुनासो भनेको नै ज्ञानको अभाव हो । राज्यले तालिमको व्यवस्था सहज रूपमा उपलब्ध गराइदिए अझ यो व्यवसायले सोचेभन्दा बढी प्रगति गर्न सकिने कुखुरा पालक कृषकहरूको बुझाइ छ ।

थोरै लगानीमा धेरै आम्दानी लिन सकिने व्यवसाय मध्ये कुखुरा पालन व्यवसाय पनि एक हो । व्यवस्थित रूपमा पाल्ने हो भने घरमै बसी महिनामा १ देखि डेढ लाख सम्मको आम्दानी गर्न सकिन्छ । पहिले पहिले नेपाली बजारमा चाडपर्वहरूमा मात्रै मासुको खपत बढ्ने देखिन्थ्यो भने, बढ्दो व्यावसायिक कुखुरा पालन सँगै हिजोआज दैनिक जीवनमा पनि उत्तिकै बिक्री हुने गरेको छ ।

व्यावसायिक कुखुरा पालनबाट बजारमा मासु सस्तो हुँदै जानु र सर्वत्र रूपमा उपलब्ध हुनुले ग्राहकलाई यसले आकर्षित गरेको छ । अझ कृषकहरू पछिल्लो समय लोकल कुखुरा पालन भन्दा पनि ब्रोइलर कुखुरा पालनमा आकर्षित हुने गरेको पाइन्छ ।

झापा कमल गाउँपालिकाकी कुखुरा पालक कृषक फुलमाया बुढाथोकीले पहिला लोकल कुखुरा पालेकी थिइन । तर, फाइदा कम भएपछि यस पटक उनले ब्रोइलर कुखुरा पालेकी छन् । लोकलबाट भन्दा ब्रोइलर कुखुराबाट आम्दानी छिटो लिन सकिने भएकाले आफूले ब्रोइलर कुखुरा पालेको उनी सुनाउँछिन् ।

हेर्दा खासै ठुलो लगानी नदेखिए पनि भित्री रूपमा हुने दुखका बारेमा सोही ठाउका अर्का कुखुरा पालक कृषक युवराज चापागाईँ भन्छन्, “मरी मरी दुख गर्‍यो बजार भाउ ओरालो लागिदिन्छ बेच्ने बेलैमा । अनि कहाँबाट फाइदा हुनु र ?” बिचौलियाका कारण पनि आफूहरू मर्कामा परेको उनी बताउँछन् ।

आफूले जतिमा बेच्यो त्यसमा थपेर मासु किन्नुपर्दा उनलाई निराशा सिवाय केही लाग्दैन । उनलाई यो कुखुरा पालन व्यवसाय नखाऊ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार भनेझैँ भएको छ ।

सोही ठाउँकी शोभा चापागाईँ मानिसलाई भन्दा बढी स्याहार सुसार गर्नुपर्ने तर बजार भाउ भने खासै नपाउने अवस्थाले यो व्यवसायबाट हात धुने अवस्थामा आफू आई पुगेको गुनासो गर्छिन् ।

कुनै बेला तीव्र गतिमा कुखुरा पालनका फर्महरू स्थापना हुने गर्छन् भने बन्द पनि हुने गर्दछन् । यसै कारणले गर्दा कुखुरा पालनमा सरकारी नीति एवं देशको आवश्यकता अनुसार पूर्णरुपले अपेक्षाकृत विकास हुन नसकेको वैदेशिक रोजगारीबाट फर्किएर कुखुरा पालन व्यवसायमा लाग्नुभएका ऋद्धि चापागाईँको भनाइ छ ।

प्राय कुखुरापालकहरुको साझा गुनासो भनेको नै ज्ञानको अभाव रहेको र राज्यले तालिमको व्यवस्था सहज रूपमा उपलब्ध गराइदिए अझ यो व्यवसायले सोचेभन्दा बढी प्रगति गर्न सकिने अर्का कुखुरा पालक कृषक वीरेन्द्र बरालको बुझाइ छ ।

आफूले गरेको व्यवसाय दिनप्रतिदिन घाटा हुँदै जान थालेपछि किसानहरूले कुखुरा पालन व्यवसायलाई अतिरिक्त आयको लागि सहायक पेसाको रूपमा लिएको पाइन्छ । समग्रमा भन्ने हो भने कुखुरा पालन व्यवसाय नाफा मूलक बनाउन कुनै एक पक्षको मात्रले सम्भव नहुने देखिन्छ ।

यस विषयलाई गहिरिएर अध्ययन विश्लेषण गर्ने हो भने यो व्यवसायलाई कहिले पनि सहायक पेसाको रूपमा गर्न सकिन्न । किनभने यो व्यवसायलाई पूर्णरुपमा सफलतापूर्वक चलाउनका लागि हर समयको रेखदेख अति आवश्यक पर्ने पशु पन्छी चिकित्सक मात्रिका भट्टराई बताउँछन् ।

अझ पछिल्लो समय वैदेशिक रोजगारको मोह त्यागेर स्वदेशमै केही गर्छु भन्नेहरू यो व्यवसायमा आकर्षित भएको पाइन्छ । तर राज्यको प्रस्ट नीति र झोले कृषकले अनुदान पाईरँदा व्यावसायिक रूपमै यो व्यवसायमा लाग्न चाहनेलाई प्रोत्साहन भन्दा पनि निरुत्साहन गरेझैँ लाग्ने गरेको वैदेशिक रोजगारी त्यागेर स्वदेशमै कुखुरा पालन व्यवसायमा भविष्य खोजिरहेका ऋद्धि चापागाईँ बताउँछन् ।