झापा : झापा जिल्लाको कमल गाउँपालिका तरकारी जन्यबाली आलु उत्पादनका लागि जिल्लाकै नमुना गाउँपालिका बन्ने भएको छ ।

बुधवार कमल गाउँपालिका क्षेत्रका कृषकहरुका लागि आलुको विउ वितरण कार्यक्रमको आयोजना गरी स्थानिय आइपियम कृषि सहकारी संस्थाले सो कुराको जानकारी दिएको छ । कार्यव्रmममा कमल गाउँपालिकाका वडा अध्यक्षहरु, गाउँपालिका उपाध्यक्ष, अध्यक्ष साथै कृषि ज्ञान केन्द्रका प्रमुख, कारितास नेपालका प्रमुख लगाएतको उपस्थिती रहेको कार्यक्रममा गाउँपालिकाका लगभग १ सय कृषकहरुको सहभागिता रहेको थियो ।

आइपियम कृषि सहकारी संस्था लि. का अध्यक्ष यामवहादुर राईको अध्यक्षतामा सञ्चालन भएको कार्यव्रmममा वोल्दै कारितास नेपालका झापा प्रमुख देवेन्द्र पोखरेलले कमल गाउँपालिकामा कृषि विकासमा प्राविधिक सहयोग मात्र हैन विपतको समयमा समेत हातेमालो गरेर अगाडि बढेको बताउदै कमल गाउँपालिकामा उत्पादित आलुको ल्याव परिक्षण गरी ब्राण्ड बनाउन लागि पर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै कमल गाउँपालिकाका आर्थिक समितीका संयोजक तथा वडा नं. ३ का अध्यक्ष नरप्रसाद दंगालले कमल गाउँपालिकालाई अर्र्गानिक कृषि उत्पादनलाई जोड दिदै आफ्नो गाउँपालिकामा केहि गरेर देखाउने गरी काम अगाडि बढाएको हुँदा रासायनिक विषादीको अन्त्य गर्न लागि परेको बताउदै कृषकको जोस र जाँगरसँगै आलुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन लागि परेको बताए ।

यसैक्रममा कमल गाउँपालिका उपाध्यक्ष वेनु प्रसाद शिवाकोटीले देश विकासको महत्वपुर्ण आधार कृषि भएको स्विकार्दै कृषकहरुले एकल प्रयासमा निर्वाहमुखी हैन ब्यवसायिक कृषिलाई अवलम्वन गरेर अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंले कमल गाउँपालिकामा बृहत रुपमा लगाइने आलु बालिको संवर्धन तथा प्रवर्धनका लागि प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको पकेट, ब्लग मात्र हैन जोन कार्यक्रम सञ्चालन गर्ने आधार निर्माण गर्न समेत आग्रह गरे । यसैक्रममा बोल्दै आइपियम कृषि सहकारी सँस्थाले आलुको विउ उत्पादनको कार्य गरिरहेकोमा विशेष धन्यवाद दिए । त्यसैगरी गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले आइपियम कृषि सहकारी मार्फत आलु उत्पादनको ब्लग निर्माण गर्न आफुहरु लागि परेको बताउँदै विउ सञ्चयका लागि कोल्ड स्टोर निर्माणका लागि आफुहरुले प्रदेश सरकारसँग माग गरिएको बताइन् । अध्यक्ष काफ्लेले कृषकहरुको जमिन बाँझो राख्न नहुने कुरा बताउदै सहकारीको माध्यमबाट सामुहिक खेतिमा जोड दिनु पर्ने बताइन् ।

कमल गाउँपालिकामा स्थापना भएको यस आइपियम कृषि सहकारी सँस्थाले जैविक विषादी उत्पादनको प्रयोगशाला स्थापना गरेर विगत २ वर्ष देखि ढुसीनासक जैविक विषादी टाइकोर्डमा र हानिकारक किटनासक जैविक विषादी नेमाटोडको उत्पादनलाई समेत ब्यवस्थित गरेको छ । यस सँगै जैविक मल उत्पादनका लागि समेत सहकारीले काम गरिरहेको छ । आइपियम कृषि सहकारी सँस्थाले आफ्नो सेवा क्षेत्र भित्रका कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा आलुको विउ, जैविक मल र ढुसी नासक जैविक विषादी वितरण गरेको छ । यहाँ उत्पादित जैविक मल तथा जैविक विषादी झापा जिल्ला भन्दा बाहिर समेत जाने गरेको बरिष्ठ आइपियम सहजकर्ता टंक कट्टेलले जानकारी दिए ।