धरान : धरानलाई रक्तदाताहरुको शहरको परिचय दिलाउन र रगत अभावमा कसैको पनि ज्यान गुम्न नदिने उदेश्यका साथ नेवार एकता समाज, धरानले आफ्नो ७ औं बार्षिक उत्सवको अवसरमा धरानको भानुचोकमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेवार एकता समाज, धरानले सोमबार धरानमा पत्रकार सम्मेलनको अयोजना गरी फागुन २१ गते बुधबार रक्तदान कार्यक्रममा कम्तीमा एक हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको समाजका अध्यक्ष राजेशमान श्रेष्ठले जानकारी दिए । मानिसले आफ्नो जन्मदिन मनाउदा उपहार दिइने गरिन्छ भने समाजले आफ्नो जन्मदिनमा धरानलाई उपहार दिनको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘हामी धरानलाई केही उपहार दिउ भन्ने उद्देश्यले यो कार्यक्रम गर्देछौं,’अध्यक्ष श्रेष्ठले भने,‘धरानलाई सिटि अफ ब्लड डोनरको परिचय दिलाउने हाम्रो उद्देश्य हो । धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आउने कसैले पनि रगत नपाएर मर्न नपरोस ।’रक्तदान गर्न सामान्यतया १८ वर्ष पुगेको हुनुपर्छ । यसका साथै विद्यार्थीका लागि यो काम झन महत्वपूर्ण हुन्छ । विद्यार्थीले अठार वर्ष पुगेपछि आफ्नो स्वस्थ्य राम्रो छ भने रक्तदान सुरु गर्नु राम्रो हुन्छ । त्यसैले धरानका सबै विद्यालयमा विद्यार्थीहरुलाई समेत रक्तदान कार्यक्रमा उपस्थित हुन आग्रह गरिएको छ ।

समाजका उपाध्यक्ष महेश श्रेष्ठका अनुसार फागुन २१ गते बिहान साढे ७ बजेदेखि दिउँसो ५ बजेसम्म रक्तदान कार्यक्रम हुनेछ । कार्यक्रम स्थलमा ३० वटा बेडको व्यवस्था हुनेछ भने दिनभर साँस्कृतिक कार्यक्रम पनि प्रर्दशनी भइरहेने उनले बताए ।

सहआयोजक जल्पादेवी बचत तथा ऋण सहकारीका अध्यक्ष शरदरत्न पार्थिवका अनुसार समाजले पहिलो पटक वि.सं.२०६९ मा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्यसबेला २ सय ३ प्रिन्ट रगत संकलन भएको थियो भने दोस्रो कार्यक्रमा ४ सय ६८, तेस्रोमा ३ सय ३८ र चौथो पटकमा ५ सय ५८ प्रिन्ट रगत संकलन भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो  । यसपटकको रक्तदान कार्यक्रमको संयोजक मञ्जु श्रेष्ठ रहेकी छिन् ।

रक्तदानमा सहआयोजकको रुपमा जल्पादेवी बचत तथा ऋण सहकारी रहेको छ भने नेवाःदेय् दबूः, नेपाल रेडक्रस सोसाइटीको बिशेष सहयोग रहेको आयोजकले जनाएको छ । यस्तै, पासा खलः, लायन्स क्लब अफ धरान विजयपुर, टक्सार भोजपुर नेवाःखलः र धरान जेसिजको पनि सहकार्य रहेको छ । समाजको महिला समितिकी अध्यक्ष शिला बज्रचार्यले संस्थाले सामाजिक कार्य गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिदै आएको बताए । साथै, उनले महिलाको कार्यक्रममा महिला मात्र नभै पुरुषहरु पनि सहभागी हुनुपर्ने धारणा राख्दै रक्तदान कार्यक्रम सञ्चालन गरी रक्तदाताहरू बढाई रगतको अभावमा मृत्युको मुखमा पुगेका बिरामीहरूको अमूल्य जीवन बचाउन सकिने बताईन् ।