बेलायत : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको प्रतिभा पुरस्कार जनकपुरधाम, धनुषाकी लेखक, अनुवादक तथा पत्रकार विजेता चौधरीलाई प्रदान गर्ने घोषणा गरेको छ । सोही अवसरमा खोटाङका अग्रज कवि जसराज किरातीलाई “विशिष्ट प्रतिभा सम्मान” दिने पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले शनिबार बेलायतमा विज्ञप्ति जारी गर्दै चौधरीलाई नगद एक लाख रुपैयाँ र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार प्रदान गरिने जनाएको हो । यस्तै, कवि किरातीलाई एक लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहितको विशिष्ट सम्मान प्रदान गरिने छ ।

प्रतिष्ठानका अध्यक्ष टंक वनेमका अनुसार मैथिली साहित्य, अनुवाद, शोधकार्य र पत्रकारिता क्षेत्रमा चौधरीले पुर्‍याएको योगदानको उच्च कदर गर्दै यो वर्षको प्रतिभा पुरस्कार प्रदान गर्न लागिएको हो । मधेश प्रदेशका स्रष्टालाई प्रतिष्ठानले प्रदान गर्न लागेको यो पहिलो पुरस्कार हो ।

सन् १९८१ मा धनुषाको जनकपुरधाममा जन्मेकी चौधरीले मैथिली र नेपाली दुवै भाषामा लेखन र अनुसन्धानमा सक्रियता देखाएकी छन् । उनले आर.आर. बहुमुखी क्याम्पस जनकपुरबाट नेपालीमा स्नातकोत्तर र पत्रकारितामा स्नातक अध्ययन गरेकी हुन् ।

उनका प्रकाशित कृतिहरूमा ‘धाराक विरूद्ध’ (कविता सङ्ग्रह, २०१९), ‘कफ्र्यु’ (कथा सङ्ग्रह, २०२०), ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’ (एक पंक्ति कविता सङ्ग्रह, २०२१) रहेका छन् । मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ (२०२२) र नीरजा रेणुको कथा सङ्ग्रह ‘ऋतम्भरा’ को नेपाली अनुवाद पनि उनले गरेकी छन् ।

यस्तै, उनले विश्वेश्वर प्रसाद कोइरालाका आख्यान, मैथिली साहित्यको इतिहास र मैथिली चित्रकलाको वर्तमान अवस्था विषयमा पनि शोधकार्य गरेकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित आँगन पत्रिकाको पनि उनी सम्पादक रहिन् ।

वि.स. २००२ साउन १७ गते खोटाङको मैचुङ गाउँ, बुइपा–६ मा जन्मिएका जसराज किराती बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय छन् । उनका कृतिहरू ‘उज्यालो खोज्ने आँखाहरू’ (२०३६), ‘जसराज किरातीका कविता’ (२०५७) र ‘प्रतिनिधी कविताहरू’ (२०६४) प्रकाशित छन् ।

नेपालमा छापाखानाको विकास राम्ररी नहुँदै उनले सन् २०२० तिर हस्तलिखित साहित्यिक पत्रिका ‘गोरेटो’ सम्पादन गरेका थिए । त्यसपछि अर्धचन्द्र (२०२०), आव्रोस (२०२६) र हलेसी पुञ्ज (२०४१) पत्रिकाको सम्पादन पनि किरातीले गरेका थिए ।

मञ्जुल, रामेश, रायन, शैलेन्द्र शाकार र परशु प्रधानसहितका समकालीन कविहरूसँगै उनले छ दशकदेखि नेपाली कवितामा निरन्तर लेखन गर्दै आएका छन् । यही योगदानको कदरस्वरूप प्रतिष्ठानले उनलाई यो वर्षको विशिष्ट प्रतिभा सम्मान प्रदान गर्न लागेको हो ।

यसअघि प्रतिष्ठानले विशिष्ट सम्मानको व्यवस्था विशेष परिस्थितिमा मात्रै गर्ने र अहिलेसम्म उक्त सम्मान सर्वोच्च कवि बैरागी काइँलालाई मात्र प्रदान गरिएको बताइएको छ ।

बेलायतमा कार्यरत नेपाली स्रष्टाहरूले सन् २००८ मा स्थापना गरेको बेलायत नेपाली प्रतिभा प्रतिष्ठानले हालसम्म नवीन विभास, उपेन्द्र सुव्वा, श्रवण मुकारुङ, मोमिला जोशी, भूपाल राई, सन्ध्या सुब्बा सिङ्जाङगोलगायत १७ स्रष्टालाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ ।

त्यस्तै इश्वर मानन्धर, अम्बर गुरुङ, भक्तराज आचार्य, प्रा. गोविन्दराज भट्टराई, दीप श्रेष्ठ, डा. कृष्णहरी बराल, गणेश रसिक, राजेश्वर थापालगायत अग्रज स्रष्टाहरूलाई प्रतिष्ठानले प्रतिभा सम्मानले सम्मानित गरिसकेको छ ।

प्रतिष्ठानले चौधरी र किरातीलाई आगामी मंसीर महिनामा काठमाडौंमा विशेष समारोहमार्फत पुरस्कार र सम्मान प्रदान गर्ने जनाएको छ ।