इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको पहलमा २०६७ सालमा इटहरीलाई प्लास्टिक झोला मुक्त बनाउने अभियान सुरु भयो। उवासंघ अध्यक्ष रोहित प्रसाईँको अगुवाइमा भएको अभियान तत्कालीन अवस्थामा निक्कै प्रभावकारी भयो। इटहरी नगरपालिका र इलाका प्रहरी कार्यालयसंगको समन्वयमा कडाइका साथ प्लास्टिक झोला प्रतिबन्ध गरियो।
प्लास्टिक झोला प्रयोग गरेबापत ५ सय रुपैयाँ जरिवाना तिराउने नियमनै बन्यो । इटहरी बाहिरका सहर सम्म त्यसको प्रभाव पर्यो । कतिपय अवस्थामा बजार पसलबाटै प्लास्टिक झोला बरामद गरेको प्रसाईँको अनुभव छ। २०६७ साल देखी २०७२ सालसम्म दुई कार्यकाल उवासंघ इटहरी अध्यक्ष भएका उनले कडाइका साथ प्लास्टिक झोला मुक्त इटहरी बनाउने अभियानको नेतृत्व गरे।
ढल निकास बन्द हुने, फोहोर मैला व्यवस्थापन चुनौती पूर्ण बन्दै जाने र वातावरणमा गम्भीर असर पर्ने देखिएकाले आफू गम्भीर भएर लागी परेको उनले सुनाए । त्यसपछिको नेतृत्वले सो अभियानलाई अगाडी बढाउन नसकेको र स्थानीय तहमा आएका जनप्रतिनिधिले समेत प्लास्टिक मुक्त इटहरीको अभियानमा चासो नदिएको उनको गुनासो छ ।
प्रसाईँ नेतृत्वको समितिले सुरु गरेको सो अभियानमा नेपाल सरकार समेत अग्रसर देखिएको छ । सर्वप्रथम नेपाल सरकारले २०७१ साल चैत ८ गते राजपत्रमा प्रकाशित गरी प्लास्टिक मुक्त सहर निमार्ण कार्यक्रम सुरु गर्यो।
“नेपाल सरकारले २०७२ साल वैशाख १ गतेदेखि लागू हुने गरी २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोलाको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ,” भनी उल्लेख गरिएको छ। ४० माइक्रोन भन्दा कम तौल भएका प्लास्टिक प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भए पनि व्यवहारमा लागु हुन सकेन।
आर्थिक वर्ष २०७८/७९ को बजेट निति तथा कार्यक्रममा पनि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन आयात, बिक्री वितरण र प्रयोगमा यही साउन १ गते देखी रोक लगाउने निर्णय भएको छ । प्लास्टिकको सट्टा जुट वा कागजको झोला प्रयोग गर्न प्रोत्साहित गरिने बजेटमा उल्लेख गरिएको छ ।
तर इटहरीमा भने स्थानीय तहको निर्वाचन भएपछि यो अभियान रोकिएको छ। अहिले निर्बाध रूपमा प्लास्टिकका झोलाको प्रयोग भइरहेका छन् । फोहोर मैला व्यवस्थापन ऐन २०६८ ले फोहोर मैला प्रबन्ध गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ।
इटहरी उपमहानगरपालिकाले फोहोर मैला व्यवस्थापनको वेस्ट म्यानेजमेन्ट प्रालीलाई जिम्मेवारी दिएको छ । प्रालीले इटहरी-१० मा फोहोर मैला प्रशोधन गर्ने भने पनि अहिलेसम्म प्रशोधन केन्द्र तयार पार्न सकेको छैन। २०७६ सालमा इन्भारो केयर कन्सर्न प्राली सँगको सम्झौता सकिएपछि वेस्ट म्यानेजमेन्ट सँग २० वर्षको लागी नयाँ सम्झौता भएको हो ।
अहिले इटहरीको मुख्य चुनौतीको रूपमा फोहोर मैला व्यवस्थापन र ढल निकास बन्द भएर डुबान हुने समस्या देखा परेको छ । सम्झौतामा ढल निकास तथा कल्भर्ट सफा गर्ने उल्लेख गरिएको छ । तर प्लास्टिक जन्य फोहोर कल्भर्टमा जम्मा हुँदा पानीको निकास बन्द हुने गरेको छ ।
मानव स्वास्थ्यमा गम्भीर असर :
प्लास्टिकजन्य फोहोर जलाउँदा निक्कीने धुवाले गर्भवती तथा बालबालिका लाई ठुलो असर गर्ने बिबिसीको रिपोर्टमा उल्लेख गरिएको छ।
जस अनुसार खुल्ला रूपमा प्लास्टिक रबर तथा टायर बाल्दा डायअक्सीन जस्ता हानिकारक रसायन पैदा हुने गरेको छ। वातावरणमा लामो समय रहने यस्ता पदार्थले फोक्सो र दिमागमा गम्भीर असर पुर्याउने उल्लेख गरिएको छ।
वातावरण विषयका प्राध्यापक सञ्जय खनाल प्लास्टिकको स-सानो कण पनि मानव स्वास्थ्यको लागि धेरै हानिकार हुने बताउँछन्। प्लास्टिकको प्रयोग सर्वथा हानिकारक भएकोले यसको उत्पादन र बिक्री वितरणमै नियन्त्रण गरिनुपर्ने उनको भनाई छ।