जय नेपाल !
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भका केही आग्रह गरेको छु । क्षेत्रीय र जिल्ला स्तरमा अधिवेशन भइरहेका छन् । आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भइरहेको छ। निर्वाचनमा विजयी र पराजित सबैले आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउने प्रण गरिरहेका छन् । यो निक्कै सु:खद कुरा हो ।
म सुनसरी ३ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुँ । यहाँ सहमतिमा नेतृत्व चयन हुन सकेको छैन । धेरै पटक निर्वाचन कर्यातालीका प्रभावित भएको छ । यो केन्द्रीय उपसभापति विजय कुमार गच्छदारको क्षेत्र हो । वहाँले सहमति गरेर राम्रो सन्देश दिन खोज्नु भएको छ । आम कार्यकर्ताले सहमति लाई स्वीकार गर्ने भएका छन् । आफ्नो क्षेत्रमा सहमति भयो भनेर धेरैले गर्व गर्नेछन् । सहमतिको लिस्टमा पर्नेहरू खुसी हुनेछन् ।
तर सहमतिको नाममा ऊर्जाशील कार्यकर्ताको राजनैतिक हत्या गर्नु हुँदैन । कसैको राजनैतिक जीवनको हत्या नगरौँ । हिजो गुटको नाममा राजनीति गरेर हिँड्ने धेरै भए । चिया पसलमा राजनैतिक गुटको नाममा प्रशंसा र आलोचना भयो । अहिले विजय गच्छदारले चलाएको सहमतिको अस्त्रको कारण हामी अलमलमा पर्यौ । जुनसुकै गुटका नेताको चिट बाँडेर हिँड्न तयार भयौँ । हामी दुवै मिल्यो त ठिक छ । तर पद मात्र बाढेका छौ कि ! हार्दिकता पूर्वक मिलिरहेका छौ ? प्रश्न यो हो ।
आज देउवा समूह र इतर समूहमा भागबन्डा गरेर सामूहिक लिस्ट बनाउने हो भने गुटले नच्यापेको एक युवाको भविष्य के होला ? प्रक्रिया पुरा गर्नका लागी मात्र चुनाव गर्ने हो भने त्यो कतीको सुहाउँदो होला ? कृपया सहमतिको नाममा राजनैतिक हत्या नगरौँ ।
विजय गच्छदारलाई सार्वजनिक रूपमा आग्रह गर्न चाहन्छु । तपाई देश दुनीया भोगेको मान्छे हो। यती लामो समय राजनीति गरेर देशको राजनीतिमा प्रभाव पारेको मान्छे नेता । अहिले सम्म के कति योगदान पुर्याउनु भयो त्यसको म प्रशंसा गर्न चाहन्छु । तर राजनैतिक जीवनको उत्तरार्द्धमा कुनै गलत नहोस् भन्ने मेरो अपेक्षा छ । तपाईँको पुस्ताकै नाममा सहमति गरेर काँग्रेसलाई ज्येष्ठ नागरिकको सभा बनाउन खोजेको त हैन ? म अग्रज पुस्ता जसले प्रजातन्त्र ल्यायो वहाँहरूलाई सम्मान गर्न चाहन्छु ।
२०६२ लामो जनआन्दोलन पछि जन्मिएको पुस्ता आज मतदाता भइसक्यो । अझै हामी २००७ साल २०४८ सालमा साथ दिएकाले मात्र अवसर पाउने कुरा गरिरहेका छौ । स्मरण रहोस् ३० वर्ष सम्म तपाईँले जुन चुनाव चिन्ह बोकेर आएपछि यो क्षेत्रका जनताले जिताएका छन् । पछिल्ला २ वटा निर्वाचनलाई हेर्दा सबैले बुझेका छन् । तपाईँले कसरी चुनाव जित्नुभयो भनेर।
यो बिचमा आफूसँग नयाँ पुस्तालाइृ जोड्न सक्नु भएन । दिल्लीमा केजरीवालले राजनैतिक फोहोर सफा गर्ने अभियान निकालेर चुनाव जिते । केही राम्रो काम पनि गरे । नयाँ पुस्तालाई अवसर दिए । तपाईँले पनि बाटो र पुल त बनाउनु भयो होला । तर अब राजनैतिक चेतनामा कुनै बदलाव दिन सक्नु भएन । २० वर्ष अघि विहारको जस्तो राजनीति गरेर अब हुँदैन । यो क्षेत्रका बर्जू ,गढी, दुहबी र इटहरी बाट ४० वर्ष मुनीका एक एक जना महाधिवेशन प्रतिनिधि छनौट गरेर देखाइदिनुहोस् । म तपाई प्रति आभारी हुनेछु। हैन भने १२ औ र तेह्रौँ महाधिवेशनमा आम कार्यकर्ता बाट अस्वीकृत भइसकेका मान्छेको नाममा सहमति गरेर हुनेवाला केही छैन ।
अहिले विजय गच्छदार सँग लाइन मिलेन भने भोलि सांसद र मेयरको टिकट नपाइने भएकैले धेरैले बोल्न सकेका छैनन् । उनीहरूले टिकट त पाउलान् । तर कार्यकर्ताको घरमा पुगेका दिन कार्यकर्ताले सोध्ने छन्, “हिजो गरेको राजनैतिक हत्याको बदला पाउने ठाउँमा पुग्नु भएछ अब के गरौँ ?” अनि उम्मेदवारले के जवाफ देला ?
अब हामीले भट्टी र चिया पसलमा गुटको भरिया भएर हिँड्नुपर्ने हो ? के गच्छदारको घरको दैलो ढुकेर पद लिनुपर्ने हो ? यो मेरो पदको कुण्ठा हैन, नयाँ पुस्तालाई अवसर नदिएको दुःख हो । पारिवारिक दुःख देखाएर कार्यकर्तालाई अलमल्याउने काम कहिले सम्म हुन्छ ?
राजनीतिमा केही ठाउँ पाउन केश फुल्नै पर्ने र जेल परेकै हुनुपर्ने हो । कि २०४६ को आन्दोलनमा सहभागी भएकै हुनुपर्ने हो। त्यो हो भने म कसरी त्यो ठाउँमा जाऊँ । म कसलाई ढुङ्गा हानेर जेल जाऊँ ? राजनीतिमा क्षमताको कुरा पनि होला । आज म सँग जुन ऊर्जा र जाँगर छ । सधैभरी त्यो रहँदैन । समूहका नाममा राजनैतिक जीवन समाप्त नगरौँ कृपया ।
म चुनाव हार्न सक्छु। त्यो मलाई स्वीकार्य छ। १५ औँ महाधिवेशनमा पनि भिड्न सक्छु । तर अधिवेशन स्थलबाट कार्यकर्ताहरूले शिर निहुराएर फर्कनु नपरोस् । आम नेता कार्यकर्तालाई मेरो आग्रह छ । एउटै नेताको लागी कति दिन लाग्न सक्छौ ? अब विवेक पुर्याएर अगाडी बढौँ ।